ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

माथिल्लो तामाकोशीको निर्माण कार्य जारी : इन्धन र निर्माण सामग्री आयातमा समस्या

२०७६ चैत, २२  
समाचार
Image Not Found

चैत २३, काठमाडौं । सरकारले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य जारी राख्ने प्रयास गरेपनि निर्माण सामग्री, इन्धन ढुवानीलगायत कारणले जटिलता उत्पन्न भएको पाइएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत २० गते बसेको बैठकले केही ठूला आयोजनाको काम जारी राख्न सक्ने निर्णय गरेको थियो । 

निर्माणाधिन आयोजनाले काम जारी राख्ने प्रयत्न गरेपनि निर्माण सामग्री, मजदुरलाई मानसिक रुपमा तयार नपार्दासम्म काम गर्न अझै समस्या रहेको जानकारी दिइएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण जारी राख्न हरसम्भव प्रयास गरिरहेको छ । 

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेकाअनुसार काम जारी राख्न हरसम्भव प्रयास भइरहेको छ, तर निर्माण सामग्रीको आयातमा देखिएको असहजताका कारण केही समस्या देखिएको छ । कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको कुल भौतिक प्रगति ९९ दशमलव ४ प्रतिशत पुगेको छ । 

सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र विभिन्न क्षेत्रमा सञ्चालित आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा माथिल्लो तामाकोशीको काम जारी भएपनि अपेक्षाअनुसार काम गर्न भने लकडाउनका कारण समस्या देखिएको छ । आयोजनाको बाँध तथा बालुवा थिग्र्याउने पोखरीको यही चैत ३ गतेदेखि परीक्षण गरिएको थियो । परीक्षण सफल भएको छ । त्यसको समग्र पक्षको मूल्यांकन भने जारी नै छ । 

आयोजनाको जटिल मानिएको दुई ओटा ठाडो सुरुङमा पाइप जडान गर्ने काममा भने अपेक्षित प्रगति नभएको हो । तर, कुल ६८३ मिटर लामो दुई ओटा ठाडो सुरुङमध्ये कोरोना कहर देखिनु अघिसम्म कुल ४६३ मिटर पाइप जडान भइसकेको प्रवक्ता न्यौपानेको भनाइ छ । उनका अनुसार कुल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमा १७५ मिटर पाइप जडान भएको छ । त्यसमा अब १३५ मिटर पाइप जडान गर्न बाँकी छ । यस्तै कुल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङमध्ये कुल २९० मिटरमा पाइप जडान भएको छ । सो सुरुङमा अब ८३ मिटर पाइप जडान गर्न बाँकी रहेको छ । समग्रमा हेर्दा दुवै सुरुङको २२० मिटर पाइप जडान कार्य बाँकी छ ।

निर्माण व्यवसायी र कामदारलाई विश्वासमा लिएर पाइप जडानको कार्य जारी राख्ने प्रयासमा आयोजना रहेको छ । आयोजनाको केही सामान नेपाल भारत सीमा क्षेत्रमा आइपुगेको भएपनि लकडाउनका कारण आयोजना स्थलमा पुर्‍याउन समस्या पैदा भएको छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी वैशाखभित्र ठाडो सुरुङमा पाइप जडानको कार्य सम्पन्न गर्न गत फागुन १४ गते आयोजनास्थल पुगेर निर्देशन दिएका थिए । कोरोनाको त्रासका कारण सो समयभित्र काम सम्पन्न हुने वा नहुने भन्नेमा भने आयोजनाले तत्कालै केही भन्ने अवस्था छैन । 

आगामी असारभित्र सबै बाँकी काम पूरा गरेर पहिलो युनिट सञ्चालन गर्ने तयारी गरिएको छ । पहिलो युनिट सञ्चालनमा आएपछि क्रमशः अन्य युनिट पनि राष्ट्रिय प्रणालीमा जडान गर्दै जाने लक्ष्य राखिएको छ । 

आयोजनाका अनुसार माथिल्लो र तल्लो ठाडो सुरुङमा १० मिटरका दुई वटा पाइप जडान गर्न क्रमशः सात र पाँच दिनमा आइसकेकाले कुनै प्राविधिक समस्या नआएमा वैशाखभित्रमा पाइप जडान भइसक्ने आयोजनाले बताएको छ । त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङको बीचमा रहेको तेस्रो भागमा पाइप जडान शुरु हुने र त्यसका लागि करीब साढे एक महीना लाग्ने छ । 

ठेकेदार कम्पनीले आफ्नो तालिकाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यकारी निर्देशक घिसिङले आगामी असारभित्र कम्तीमा पनि एउटा युनिटबाट विद्युत् उत्पादन गर्ने कार्यतालिका बनाई त्यसअनुसार व्यवस्थापनमा सुधार गरी कार्यसम्पादन गर्न निर्देशन दिएका थिए । पहिलो युनिटबाट कुल ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

आयोजनाको सिभिल कार्यअन्तर्गत मुख्य सुरुङमा ग्राउटिङ र कङ्क्रिटिङ गर्ने काम सम्पन्न हुने चरणमा छ । मुख्य सुरुङमा जाने प्रवेश सुरुङमा गेट राख्ने तयारी भइरहेको छ । विद्युत् गृहका सम्पूर्ण उपकरण जडान भई तयारी अवस्थामा छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्