arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आन्तरिक लगानीविना आर्थिक समृद्धि असम्भव : मन्त्री भट्ट

उद्योग वाणिज्य संघ, चितवनको ५३औं वार्षिक साधारणसभा 

२०७६ पौष, २९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

चितवन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आन्तरिक लगानीविना देशले आर्थिक समृद्धि प्राप्त नगर्ने बताएका छन् । देशका सबै भूभागको समानुपातिक विकासले मात्रै आर्थिक विकास हुने भन्दै उनले बाह्य लगानीले मात्रै आर्थिक समृद्धि नहुने बताएका हुन् । सोमवार उद्योग वाणिज्य संघ, चितवनको ५३औं वार्षिक साधारणसभा एवं अधिवेशन उद्दघाटन गर्दै मन्त्री भट्टले निजीक्षेत्रलाई सरकारको पूर्ण सहयोग हुने प्रतिबद्धता समेत व्यक्त गरे । 

मन्त्री भट्टले सरकारले उद्योगी व्यवसायीको हितका लागि कानून संशोधन गर्न लागेकोले ढुक्क भएर लगानी एवं व्यवसाय गर्न आग्रह गरेका छन् । उद्योगी व्यवसायीले पनि आफ्नो आचरण सुधार्नुपर्नेमा जोड दिँदै उनले भने, ‘राज्यबाट व्यवसायीलाई सधैँ सहयोग रहन्छ, तर व्यवसायीले आफ्नो कमीकमजोरी पनि सुधार्नुपर्दछ ।’ 

सार्वजनिक रुग्ण उद्योगलाई पुनः सञ्चालन गर्न राज्यले ऐन र यसका लागि कार्यदल बनाएर अध्ययन गर्न लागेको मन्त्री भट्टले बताए । चितवनमा निर्माणको प्रक्रियामा रहेको शक्तिखोरको काम पनि अन्तिम टुंंगोमा पुगेको उनले जानकारी दिए । पछिल्लो समय महिला उद्यमीको संख्या बढ्दै गइरहेको भन्दै उनले सरकारले उत्पादित वस्तुको व्यवस्थापन र बजारीकरणका लागि साल्ट ट्रेडिङ र खाद्य संस्थानमार्फत यसको सहजीकरण गर्न लागेको जानकारी दिए । 

सो अवसरमा उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशका उपाध्यक्ष राजन गौतमले देशमा राजनीतिक रूपमा परिवर्तन भए पनि आर्थिक परिवर्तन नभएको बताए । अझै पनि उद्योगी व्यवसायी त्रासको वातावरणमा रहेको भन्दै उनले लगानीमैत्री र व्यवसायीमैत्री वातावरण बन्नुपर्नेमा जोड दिए । यस्तै चितवन उद्योग संघका नवनिर्वाचित अध्यक्ष राजु पौडेलले देशमा औद्योगिक वातावरण बनाउन नीति परिवर्तन गर्नुपर्ने र कच्चापदार्थको भन्सार दरमा ३० प्रतिशत अन्तरदर हुनुपर्ने बताए । अहिले पनि उद्योगी व्यवसायी कठिन परिस्थितिमा गुज्रनु परेको भन्दै पौडेलले उद्योग खोल्नेबित्तिकै बन्द गर्नुपर्ने अवस्था समेत रहेको उल्लेख गरे ।  देशमा औद्योगिक एवं कृषि उत्पादन बढाउन लगानीको अभाव नहुनुपर्ने, उद्योग खोल्न वातावरण तय गर्नुपर्ने र युवा उद्यमीलाई आकर्षित गर्नुपर्ने लगायतमा उनले जोड दिएका थिए । 

कार्यक्रममा उत्कृष्ट कर्मचारी पुरस्कार, उत्कृष्ट युवा उद्यमी र आर्थिक पत्रकार पुरस्कारसहित ३ जनालाई नगदसहित सम्मान गरिएको थियो । नयाँ नेतृत्वका लागि मंगलवार (आज) संघको निर्वाचन हुँदैछ । प्यानल नै बनाएर राजु श्रेष्ठ र ज्ञानेन्द्रमान शाक्यले अध्यक्षमा उम्मेदवारी दिएका छन्  ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्