arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आयातको कडाइले अनधिकृत आयातको बाटो खुल्यो 

२०७६ पौष, २९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता


काठमाडौं । व्यापारघाटा चुलिँदै गएपछि यसलाई सन्तुलन गर्न सरकारले आयातमा कडाइ गरेकाले अनधिकृत आयातको बाटो खुलेको नेपाल चेम्बर अफ कमर्शले बताएको छ । चेम्बरको ६९ औं वार्षिक साधारणसभामा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले राजस्वको मुख्य स्रोत भन्सारबाट उठ्ने कर भएकाले आयातमा गरिएको कडाइका कारण अनधिकृत आयातको बाटो खुली राजस्वसमेत गुमेको बताए ।

आयात घटाउने नभई आन्तरिक उत्पादनलाई वृद्धि गरी निर्यात बढाउने उपाय बढी प्रभावकारी हुने उनको भनाइ छ । उनले भने, ‘अर्थतन्त्रको अहिलेको मुख्य समस्या भनेको नै व्यापारघाटा हो । यसमा केही सुधार आएजस्तो देखिएको छ तर यो दीर्घकालीन छैन ।’ निकासी प्रवद्र्धनमा सरकारको ठोस नीति र कार्यक्रम, कच्चा पदार्थको सहज उपलब्धता, पूर्वाधार विकास, कानूनी सहजता, दक्ष जनशक्ति आदि नभएसम्म व्यापारघाटामा कमी नआउने निचोड उनको थियो । यसका लागि आयात कस्नुभन्दा आन्तरिक उत्पादनमा जोड दिनुपर्ने उनले बताए ।

भारत, चीन र बंगलादेशलगायत मुलुकमा निकासीका लागि अनुदानको राम्रो व्यवस्था भए पनि नेपालमा निकासीका लागि सरकारले राम्रो अनुदान नदिएको चेम्बरको आरोप छ । केही वस्तुमा १५ प्रतिशतसम्म सरकारले अनुदान दिने भने पनि सहज रूपमा प्राप्त हुने स्थिति नभएको बताउँदै अध्यक्ष श्रेष्ठले त्यस्तो अनुदान सहज रूपमा पाउनुपर्ने अवस्थाको सृजना हुनुपर्नेमा जोड दिए । 

यस्तै अनिवार्य प्यान, ढुवानीमा लगाएको भ्याट, भन्सार दर, राष्ट्र बैंकले ल्याएको संकुचित बैंकिङ नीति आदिले निजीक्षेत्र निरुत्साहित भएकाले सरकारले यसलाई सुल्झाउन पहल गर्नुपर्ने चेम्बरले बताएको छ । लगानीका लागि स्रोत खुलाउनुपर्ने सरकारी व्यवस्थाका कारण पर्याप्त लगानी आउन नसकेको बताउँदै अध्यक्ष श्रेष्ठले एकपटक सम्पूर्ण नेपालीको पूँजी अभिलेखीकरण गर्न सुझाव दिए । 

अर्थमन्त्री डा. युवराज खतिवडाले भने आयातभन्दा निर्यातमा जोड दिन उद्योगीलाई सुझाव दिए । आर्थिक परिसूचक सोचेअनुसार बढ्न नसके पनि नघटेको उनले बताए । उद्योगको विकास हुँदै जाँदा बजारमा प्रतिस्पर्धा गर्न नसक्ने केही उद्योगको प्राकृतिक मृत्यु हुनु सामान्य भएको बताउँदै उनले निजीक्षेत्रको विकासका लागि सरकारले कानूनी र व्यावसायिक समस्याको हल गर्ने आश्वासन दिए ।

घरबाटै सरकारी सुविधा : उद्योग राज्यमन्त्री
नेपाल चेम्बर अफ कमर्शको ६९औं साधारणसभालाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मोतिलाल दुगडले उद्योगीले सरकारी सुविधा घरबाटै लिनसक्ने व्यवस्था गर्ने बताएका छन् । उनले केही महीनाभित्रै सरकारले उद्योगीले घरमै बसेर सरकारलाई काम गराउन सक्ने गरी एप र सफ्टवेयर निर्माण गरिने बताए । ‘देशलाई समृद्ध बनाउन निजीक्षेत्र समृद्ध हुनुपर्छ, अब उद्योगी हतोत्साहित हुनु पर्दैन, हामी उद्योगीलाई ज्वाइँलाई जस्तो सेवा दिन्छौं,’ उनले भने । आफू निजीक्षेत्रबाट आएको र आफूसँग भिजनसमेत भएको बताउँदै उनले २/३ महीनामै नेपालमा लगानीका लागि उत्साहको वातावरण बन्ने बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्