arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कर्णाली प्रदेशमा सञ्चालित योजनाको स्थलगत अनुगमन शुरू

२०७६ पौष, २९  
प्रदेश ०६
NA
author avatar बुद्धिमान पुन


सल्यान । कर्णाली प्रदेश सरकारबाट सञ्चालित विकास आयोजनाहरूको स्थलगत अनुगमन तथा निरीक्षण शुरू गरिएको छ । प्रदेश सरकारकोे आर्थिक सहयोगमा भौतिक पूर्वाधार मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र उद्योग, वन तथा पर्यटन मन्त्रालय अन्र्तगत सञ्चालन भएका योजनाहरूको अनुगमन शुरू गरिएको प्रदेश सरकार अर्थ तथा प्राकृतिक स्रोत व्यवस्थापन समितिले बताएको छ ।

समितिले प्रदेशका १० औटै जिल्लामा सञ्चालन भएका योजनाहरूको स्थलगत अनुगमन शुरू गरिएकोे बताएको छ । सोही क्रममा कर्णाली प्रदेशसभा सदस्य सीता नेपाली र अमृता शाहीको नेतृत्वमा गठित प्राविधिक सहितको ५ सदस्यीय टोलीले शनिवार सल्यानमा सञ्चालित विभिन्न उद्योग, पर्यटन र सडकका योजनाहरूको अनुगमन गरेको छ । टोलीले जिल्लाका खुकुरी, तारजाली, गार्मेन्ट, फर्निचर, ग्रील उद्योग, सडक लगायत योजनाको स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा प्रदेश सरकारको सहयोगमा सञ्चालित  योजनाहरू सम्पन्न भए/नभएको, बजेटको सदुपयोग, विगत र अहिलेको अवस्था लगायतबारे जानकारी लिइएको प्रदेशसभा सदस्य नेपालीले जानकारी दिइन् । ‘हामीले प्रदेशबाट सञ्चालित योजनाहरूको स्थलगत अवलोकन सल्यानबाट शुरू गरेका छौं, कर्णालीका १० ओटै  जिल्लामा पुग्छौं,’ उनले भनिन्, ‘अवलोकनका क्रममा भेटिएका सत्य÷तथ्यलाई समेटेर प्रतिवेदन तयार पारी सरकालाई बुझाउँछौं ।’ उनले बजेटको सदुपयोग र दिगोरूपमा कार्यान्वयन गर्न पहिलो पटक समितिले अनुगमन थालेको बताइन् । अनुगमनका क्रममा दक्ष जनशक्ति अभावका कारण परम्परागत तरीकाले उद्योगहरू सञ्चालन भेटिएको र त्यसको व्यवस्थापन गर्न प्रदेशले आफ्नै ब्रान्ड सहितको उद्योग सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।  

प्रदेश सरकारको सहयोगले खुकुरी उद्योग सञ्चालन थप व्यवस्थित बनाउन मद्दत पुगेको शारदा नगरपालिका–२ का उद्योगी विष्णु विश्वकर्माले बताए । ‘विगतमा परम्परागत तरीकाले खुकुरी उद्योग सञ्चालन गर्दै आएका थियौं,’ उनले भने, ‘सरकारले वेल्डिङ, ग्रील, कटिङ, ग्रेन्डर लगायत उपकरण खरीदमा सहयोग गरेपछि व्यवसाय सञ्चालन गर्न सहज भएको छ ।’ सरकारको सहयोगमा उद्योग व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरूले उद्योगलाई व्यावसायिक र दिगो बनाउन सहयोग पुगेको बताएका छन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्