arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पुनर्निर्माण अभियानले फेरियो विद्यालयको स्वरूप

२५ विद्यालय भवन निर्माण २४ निर्माणाधीन

२०७६ पौष, २९  
प्रदेश गण्डकी
NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । भूकम्पबाट क्षतिग्रस्त घर र सामुदायिक विद्यालय पुनर्निर्माण अभियानअन्तर्गत म्याग्दीमा विद्यालय पुनर्निर्माण अभियानले गति लिएको छ । २०७२ को भूकम्पले क्षति पुगेका आवास पुननिर्माणको गति सुस्त रहे पनि विद्यालय भवन पुनर्निर्माण भने तीव्र गतिमा भइरहेको छ । 

यस अभियानले विद्यालयको स्वरूप नै फेरिन थालेको छ । म्याग्दीमा विद्यालय पुनर्निर्माण शुरू भएको ३ वर्षको अवधिमा २५ ओटा विद्यालय पुनर्निर्माण भएका छन् ।

भूकम्प गएको पहिलो वर्ष लगत संकलन र नापजाँचमै समय व्यतीत भएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत आवास र विद्यालय पुनर्निर्माण हुँदै आएकोमा चालू आर्थिक वर्षदेखि विद्यालय पुनर्निर्माणका लागि छुट्टै शिक्षा एकाइ सञ्चालनमा आएको छ । 

पहिलो वर्ष ४, दोस्रो वर्षमा ६ र तेस्रो वर्षमा १५ ओटा विद्यालय भवन पुनर्निर्माण भएको पुनर्निर्माण प्राधिकरण शिक्षा एकाइका सूचना अधिकारी इन्जिनीयर विष्णु रिजालले जानकारी दिए ।

आर्थिक वर्ष २०७३/७४ मा २ कोठे र ४ कोठे १/१ विद्यालय तथा ३ कोठे २ ओटा विद्यालय भवन निर्माण भएका थिए । आव २०७४/७५ मा अनुदानप्राप्त ७ ओटा भवनमध्ये अन्नपूर्ण गाउँपालिका–४ काभ्रेको सरस्वती आधारभूत विद्यालय भवन निर्माणाधीन अवस्थामा छ । अन्य ६ ओटा भवन निर्माण सम्पन्न भएका छन् । यस आवमा २ कोठे २ ओटा, ३ कोठे ३ र ४ कोठे १ ओटा भवन निर्माण भएको थियो ।

आव २०७५/७६ को पहिलो चरणमा २० ओटा भवन निर्माणको प्राप्त कोटामध्ये अहिलेसम्म १५ ओटा भवन निर्माण सम्पन्न भइसकेको छ । बाँकी रहेका ५ ओटा विद्यालय भवनको निर्माण कार्य समेत अन्तिम चरणमा पुगेको इन्जिनियर रिजालले बताए । उनका अनुसार बाँकी रहेका भवनको निर्माण कार्य माघभित्रै सम्पन हुनेगरी काम भइरहेको छ ।  विद्यालय भवन पुनर्निर्माण अभियानले म्याग्दीका सामुदायिक विद्यालयको स्वरूप नै फेरिन थालेको छ । विद्यार्थीले सुविधायुक्त पक्की भवन पाएका छन् । यसबाट पठनपाठनमा सहज  हुने तथा  शैक्षिक गुणस्तरमा समेत सुधार आउने शिक्षकहरूको भनाइ छ । 

म्याग्दीमा भूकम्पबाट क्षति भएर सूचीकृत भएका १०१ ओटा विद्यालयको पुनर्निर्माण हुँदैछ । अहिले गत वर्षको दोस्रो चरणमा प्राप्त कोटामा पुनर्निर्माणको लागि छनौट भएका विद्यालयहरूको भवन निर्माण कार्यलाई अघि बढाइएको शिक्षा एकाइले जानकारी दिएको छ ।

२४ भवनको निर्माण शुरू
गत आवको दोस्रो चरणमा म्याग्दीमा प्राप्त २४  ओटा विद्यालय भवन र २१ ओटा विद्यालय शौचालय निर्माणको कोटामध्ये अधिकांशको निर्माण कार्य अघि बढेको छ । २ कोठे १० ओटा, ३ कोठे २ ओटा र ४ कोठे १२ ओटा विद्यालय भवन निर्माणको लागि सम्झौता भएर निर्माण कार्य अघि बढेको एकाइ सबइन्जिनीयर चन्द्रकुमार यादवले जानकारी दिए । पुनर्निर्माणमार्फत निर्माण गर्न लागिएका २१ ओटा शौचालय अपांगमैत्री बनाइने उनले बताए । शौचालय निर्माणका लागि रू. १५ लाखका दरले बजेट उपलब्ध गराइएको छ ।

पुनर्निर्माण प्राधिकरणले २ कोठे भवनको लागि २३ लाख ९० हजार, ३ कोठेको लागि ३५ लाख ८० हजार र ४ कोठेको लागि ७० लाख ४० हजार अनुदान उपलब्ध गराएको छ । विद्यालय व्यवस्थापन समितिअन्तर्गत गठन हुने उपभोक्ता समितिले प्राधिकरणले प्रदान गर्ने अनुदानमा अपुग रकम स्थानीयस्तरमै व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
 
सम्झौता भएको ६ महीनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने प्रावधान छ । त्यसैले विद्यालय भवन पुनर्निर्माण अभियानले गति लिएको एकाइको बुझाइ छ । म्याग्दीका विद्यालयमा पूर्वाधारको अभाव रहेको छ । प्राधिकरणमार्फत भवन निर्माणको लागि प्राप्त कोटा सूचीकृत विद्यालयमध्ये बढी आवश्यकलाई प्राथमिकता दिएर सिफारिस गरिएको आयोजनाको जिल्ला सहजीकरण समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जानकारी दिए । उनले प्राधिकरणमार्फत पुनर्निर्माण शुरू भएका विद्यालयहरूमा पूर्वाधार निर्माणको कामलाई नियमित अनुगमन समेत गरिरहेको बताए ।
आवास पुनर्निर्माण सुस्त

म्याग्दीमा निजी आवास पुनर्निर्माणको गति सुस्त छ । आवास पुनर्निर्माणका लागि अनुदान लिएका भूकम्पपीडितहरूले आवास पुनर्निर्माणमा बेवास्ता गरेकाले आवास पुनर्निर्माणको गति सुस्त भएको हो । 

म्याग्दीमा पहिचान भएका ८८४ जना भूकम्पपीडित घरधनीमध्ये ८०१ जनाले मात्रै निर्धारित समयमा सम्झौता गरी  ५० हजार रुपैयाँका दरले प्रथम किस्ता अनुदान लिएका थिए । पहिलो किस्ता अनुदान लिएकामध्ये जम्मा ३६६ जनाले मात्रै आवास पुनर्निर्माण गरी अन्तिम किस्ता लगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका फोकल इन्जिनीयर सोहनजंग कार्कीले जानकारी दिए । उनका अनुसार पुनर्निर्माण शुरू गरेर दोस्रो किस्ताबापतको थप रू. १ लाख ५० हजारको दरले ४१९ जनाले अनुदान लिएका छन् । पुनर्निर्माण गर्ने सम्झौता गरी पहिलो किस्ता लगेका ३८० जना भन्दा बढीले पहिलो किस्ता अनुदान लिएर पुनर्निर्माण नै नगरेको एकाइले जानकारी दिएको छ । 

आयोजनाले भूकम्पबाट पूर्ण क्षति भएका पीडितलाई रू. ३ लाख र आंशिक क्षति भएर प्रबलीकरण गर्नुपर्नेलाई रू. १ लाखका दरले अनुदान उपलब्ध गराउँछ । गत असार मसान्तसम्म छूट भएकाहरूको सर्वेक्षण तथा पुनः जाँचबाट १०९ जना पुनर्निर्माण र ६३ जना प्रबलीकरण गर्न पाउनेगरी लाभग्राही थप भएका छन् ।

आवास पुनर्निर्माणको लागि सम्झौता गरेका लाभग्राहीलाई घरनिर्माणका लागि ताकेता गरिएको आयोजनाका प्रमुख यज्ञप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार पहिलो किस्ता लगेर आवास पुनर्निर्माण नगरेका २ जनाले अनुदान रकम फिर्ता गरेका छन् । भूकम्पबाट क्षतिग्रस्त भई आयोजनाका प्राविधिक खटिनुपूर्व नै पुनर्निर्माण भएका १३९ घरका धनीले मापदण्ड पूरा गरेका खण्डमा सम्बन्धित स्थानीय तहको सिफारिसमा एकमुष्ठ अनुदान दिने तयारी समेत भइरहेको आयोजनाका सूचना अधिकारी चित्रनाथ शर्माले जानकारी दिए ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्