arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कमोडिटी एक्सचेन्ज कम्पनीको छनोट प्रक्रिया शुरू हुँदै

लाइसेन्स पाउने कम्पनीको संख्या थपघट हुन सक्ने

२०७६ पौष, २९  
समाचार
Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । आवेदन आएको ६ महीनापछि नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्ज कम्पनी छनोट प्रक्रिया अगाडि बढाउन थालेको छ । बोर्डको अध्यक्ष पद रिक्त भएपछि कमोडिटी एक्सचेन्ज कम्पनीको छनोट प्रक्रिया अगाडि बढ्न सकेको थिएन । अहिले नयाँ अध्यक्ष आइसकेपछि बोर्डले प्रक्रिया अगाडि बढाउन लागेको हो । बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले गत शुक्रवार पदभार ग्रहण गरेका थिए । 

बोर्डले कमोडिटी बजार सञ्चालन गर्न चाहने कम्पनीहरूलाई अनुमति दिन गत असारमा आवेदन खुला गरेको थियो । त्यसबेला ६ कम्पनीले आवेदन दिएका थिए । कमोडिटी एक्सचेन्ज कम्पनी छनोटका लागि ५ सदस्यीय समिति गठन गरिएको थियो । तर, ती कम्पनीको आवेदनमाथि अहिलेसम्म प्रारम्भिक अध्ययनसमेत गरिएको थिएन ।

छनोट समितिका सदस्य तथा बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले छनोट प्रक्रिया अघि बढाउने काम भइरहेको बताए । उनले भने, ‘बीचमा अध्यक्ष पद रिक्त हुँदा काम अघि बढाउन सकिएन । अहिले नयाँ अध्यक्षज्यूलाई यस विषयमा जानकारी गराइरहेका छौं । त्यसपछि व्यवस्थापन समूहसँग सहकार्य गरेर प्रक्रिया अगाडि बढाउँछौं ।’

बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले अब छिटै कमोडिटी एक्सचेन्ज कम्पनीको छनोट प्रक्रिया अगाडि बढाउने बताए । ‘अहिले छनोट समितिबाट यसको अवस्था र आवश्यक सूचनाको जानकारी लिइरहेको छु । छिटै छनोट प्रक्रिया अगाडि बढ्छ,’ उनले भने । यद्यपि, कम्पनी छनोट गर्न कति समय लाग्छ भनेर भन्न नसकिने उनको भनाइ छ । तोकिएको मापदण्ड कम्पनीहरूको नपुगेको हुनसक्छ । अध्ययन गर्दा कागजपत्र थप गर्नुपर्ने हुनसक्छ । त्यसैले व्यावहारिक रूपमा यति समयभित्र लाइसेन्स जारी गर्छांै भन्ने स्थिति छैन,’ उनले भने ।

गत असोज मसान्तसम्ममा कमोडिटी एक्सचेन्ज कम्पनीको छनोट गर्ने बोर्डको तयारी भए पनि विवादमा आउने डरले बोर्डका तत्कालीन अध्यक्ष रेवतबहादुर कार्की मौन बसेका थिए । तर, उनकै नेतृत्वमा रहेको बोर्डले पहिलेको आवेदन रद्द गरेर कमोडिटी एक्सचेन्जका लागि नयाँ आवेदन खुलाएको थियो । नेपालमा वस्तु विनिमय बजारसम्बन्धी नीतिगत व्यवस्था भएको २ वर्षभन्दा बढी भइसके पनि यस्तो बजार भने अभैm सञ्चालनमा आउन सकेका छैनन् ।

बोर्डले पहिला दुई कम्पनीलाई मात्र वस्तु विनिमय बजार सञ्चालनको इजाजतपत्र दिने भनेको थियो । तर, अध्यक्ष ढुंगानाले लाइसेन्स पाउने कम्पनीको संख्या थपघट हुनसक्ने बताए । उनले भने, ‘पहिले दुई कम्पनीलाई लाइसेन्स दिने भनिए पनि अहिले ठ्याक्कै निर्णय भएको छैन । आवेदन दिने कम्पनीको अवस्था, क्षमता र बजारको आवश्यकताबारे मूल्यांकन गरेर मात्र यस विषयमा उचित निर्णय हुनेछ ।’

बोर्डका अनुसार छनोट प्रक्रियामा आवेदन दिएका कम्पनीले आवश्यक सबै कागजात पूरा गरेका छन् कि छैनन् भन्ने आधारमा अंक दिइने छ । बोर्डले अंक निर्धारण गर्ने समूह (मार्किङ टीम) बनाएकाले अब उक्त समूहका सदस्यले आवेदन परेको कम्पनीलाई विभिन्न आधारमा अंक दिनेछ । ‘एक्सचेन्जका सञ्चालक, रणनीतिक साझेदार, चुक्ता पूँजी, वस्तु बजारको क्षेत्र, स्वदेशी वा विदेशी वस्तुलाई दिने प्राथमिकता तथा व्यावसायिक योजनालगायत पक्षलाई आधार बनाई कम्पनीहरूको छनोट गरिने बताइएको छ ।

अनुमतिका लागि आवेदनदिने कम्पनीहरू

  • कमोडिटी फ्युचर्स एक्सचेन्ज
  • राइजल कमोडिटी एक्सचेन्ज
  • मल्टी डेरिभेटिभ एक्सचेन्ज
  • नेपाल डेरिभेटिभ एक्सचेन्ज
  • नेशनल डेरिभेटिभ कमोडिटी
  • नेपाल मर्कन्टाइल
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्