ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना रोकथामको दोस्रो चरणको तयारी तीव्र पार्न निर्देशन

२०७६ चैत, २३  
कर्णाली प्रदेश
NA
author avatar विनोद लम्साल

वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको दोस्रो चरणको तयारी तीव्र बनाउन निर्देशन दिएका छन् । आइतवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको प्रदेशस्तरीय संकट नियन्त्रण केन्द्रको बैठकमा मुख्यमन्त्री शाहीले कोरोना भाइरस संक्रमण दोस्रो चरणमा पुगेको भन्दै यसको रोकथामका लागि सोही अनुसारको तयारीमा जुट्न केन्द्रका सदस्य, सम्बन्धित निकाय, जनप्रतिनिधि, पेशाकर्मी लगायतलाई निर्देशन दिएका हुन् ।

अब वडास्तरमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकको एकीकृत टोली तयार गरी रोकथाम तथा नियन्त्रणको काम थाल्नुपर्नेमा उनले जोड दिए । कर्णाली प्रदेशमा नेपालमै पहिलो पटक सीमा नाकाहरूमा हेल्थ डेस्क स्थापना, स्वास्थ्य जाँच र आवागमनमा कडाइ गरिएकाले प्रदेशमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण नदेखिएको दाबी समेत उनले गरे ।

लकडाउनपछि लुकीछिपी विदेशबाट गाउँमा पुगेका नागरिकबाट संक्रमणको जोखिम रहेको भन्दै मुख्यमन्त्री शाहीले बढी संक्रमण भएका मुलुकबाट गाउँमा पुगेका नागरिकको स्वाबको नमूना संकलन गरेर परीक्षण कार्य तीव्र बनाउन पनि निर्देशन दिएका छन् । प्रदेश, जिल्ला, पालिका र टोलस्तरमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि एकीकृत टोली निर्माण गर्ने र वडास्तरका टोलीहरूलाई प्रभावकारी रूपमा परिचालनको व्यवस्था मिलाउन उनले भनेका छन् ।

वडास्तरका एकीकृत टोलीले बाहिरबाट आएका मानिस ‘सेल्फ क्वारेन्टाइन’मा रहे÷नरहेको अनुगमन गर्ने, एक घरबाट अर्को घरमा हुने आवतजावतमा कडाइ गर्ने, खाद्यान्न वस्तुको अभाव भएका परिवारमा त्यसको आपूर्तिको व्यवस्था मिलाउने, कोरोना संक्रमणको शंका भएका बिरामीको स्वाब संकलनमा सहयोग गर्ने लगायत काम गर्नुपर्ने उनले बताएका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्