ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

संक्रमित थपिएपछि सुदूरपश्चिममा सतर्कता बढाइयो

२०७६ चैत, २३  
सुदूरपश्चिम प्रदेश
NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार पुगेपछि आइतवारदेखि सतर्कता बढाइएको छ । नेपाली सेनाको १० सदस्यीय चिकित्सक टोलीले बिहीवार ९२ जनाको स्वाब परीक्षण गरेकोमा दुई जनामा संक्रमण देखिएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउनुका साथै लकडाउनमा समेत कडाइ गरेको छ ।

यसअघि अत्यावश्यक सामग्री खरीदका लागि बिहान–बेलुका ३/३ घण्टा लकडाउन खुकुलो पारिएकोमा कोरोना संक्रमित थपिएपछि धनगढी उपमहानगरपालिकाले विज्ञप्ति जारी गरेर लकडाउन अवधिभर २४ घण्टा बजार बन्द गर्ने र आवतजावतमा रोक लगाउने निर्णय गरेको छ ।

प्रदेश सरकारले संकलन गरेको तथ्यांक अनुसार लकडाउन अघिपछि गरी १ लाख ३४ हजार ५०० व्यक्ति भारतबाट सुदूरपश्चिम प्रवेश गरेका छन् । नाका छलेर आएकाहरूको संख्या पनि धेरै रहेको भन्दै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कैलाली–कञ्चनपुरमा ¥यापिड टेस्ट गर्न संघीय सरकारलाई आग्रह गरेको थियो । केन्द्र सरकारको शनिवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यसको निर्णय गरिसकेको छ । यस्तै विदेशबाट आएका सबैको स्वाबको परीक्षण गरिने प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले बताए ।

कैलाली–कञ्चनपुरमा र्‍यापिड टेस्टको प्रक्रिया अघि बढाउने निर्णय संघीय सरकारले गरिसकेकाले संक्रमण कम हुने अपेक्षा स्थानीय सरकारले गरेका छन् । लकडाउन खुकुलो भएकाले संक्रमणको जोखिम बढेको स्थानीयको गुनासो छ । लकडाउन खुकुलो भएको स्वीकार्दै प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले यही अवस्था कायम रहे कर्फ्यू लगाइने चेतावनी दिएका छन् । 

विदेशबाट आएकाहरू क्वारेन्टाइनमा बस्न नमान्ने गरेकाले संक्रमणको जोखिम बढेको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए । प्रदेशका नौओटै जिल्लामा गरी ४ हजार ९०० सय क्वारेन्टाइन तथा साढे ७०० आइसोलेसन वार्ड निर्माण गरिए पनि २ हजार ३०० क्वारेन्टाइन मात्र प्रयोगमा आएको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । सेती प्रादेशिक अस्पतालमा राखिएको ल्याबमा अहिलेसम्म ४९ जनाको नमूना संकलन गरिएकोमा तीन जनामा कोरोना पुष्टि भएको हो । एउटा मात्र ल्याब भएकाले नियन्त्रणमा समय लागेको चिकित्सकहरू बताउँछन् । सेती प्रादेशिक अस्पतालमा २३ ओटा आइसोलेसन वार्ड स्थापना गरिएको छ भने यो प्रदेशबाट चार जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्