ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दोस्रो चरणका प्राथमिकता

२०७६ चैत, २३  
सम्पादकीय
NA

विदेशबाट संक्रमित भई आएकाहरूबाट कोरोना भाइरस मुलुक भित्रैकै मानिसमा सरेको घटना शनिवार बाहिर आएसँगै कोरोना संक्रमण नेपालमा दोस्रो चरणमा पुगेको छ । यसबाट मुलुकभित्रै यस महामारीको संक्रमण व्यापक हुने सम्भावना बढाउनुका साथै यसको रोकथाममा थप चुनौतीसमेत थपिएको छ ।

समस्या आउन लाग्दा बेखबर जस्तो हुनु र आइसकेपछि आत्तिनु हाम्रोे नियति देखिएको छ । यस्तो अवस्थामा दोस्रो चरणका लागि सही रणनीति तय गरिएन र त्यसअनुसार काम गरिएन भने संक्रमण तेस्रो चरणमा पस्न पनि बेर छैन ।

कोरोना नियन्त्रणका लागि सरकारले मुलुक लकडाउन गरेको १३ दिन भइसकेको छ । यस अवधिमा मुलुकमा थोरै मात्र संक्रमित पाइनु राहतको कुरा होला । तर, कोरोनाविरुद्ध नेपालको तयारी अझै अपर्याप्त नै छ । अत्यधिक नागरिकको परीक्षण र सो परीक्षणबाट पत्ता लागेका संक्रमितहरूलाई आइसोलेशनमा राखी उपचार गर्नु नै यसको संक्रमणलाई रोक्ने उपाय हो ।  चीनमा यो संक्रमण फैलँदै गर्दा तयारी गर्न सरकारलाई पर्याप्त समय थियो तर त्यो हुन सकेन । त्यसैको परिणति अहिले नेपालले चाहेर पनि स्वास्थ्योपकरणको जोहो गर्न सकेको छैन । समस्या आउन लाग्दा बेखबर जस्तो हुनु र आइसकेपछि आत्तिनु हाम्रोे नियति देखिएको छ । यस्तो अवस्थामा दोस्रो चरणका लागि सही रणनीति तय गरिएन र त्यसअनुसार काम गरिएन भने संक्रमण तेस्रो चरणमा पस्न पनि बेर छैन ।

भाइरस संक्रमणको दोस्रो चरणमा देशभित्र व्यापक मात्रामा भाइरस फैलन्छ । यसलाई कम गर्न शारीरिक दूरी कायम गराउनु एउटा सशक्त माध्यम मानिएको छ । त्यही भएर मुलुक लकडाउन गरिएको छ । तर, लकडाउनले मात्रै कोरोना संक्रमण रोक्न सकिँदैन ।

देशभित्र अहिले ९ जनामा कोरोना भाइरस सक्रिय रहेको पुष्टि भएको छ, जब कि विदेशबाट आएका तथा तिनको सम्पर्कमा आएकाहरूको पहिचान नै बा“की छ । पहिचान भएकाहरूको पनि परीक्षण हुन सकेको छैन । व्यापक संख्यामा परीक्षण गर्न बारम्बार आग्रह गरिए पनि हालसम्म १ हजार ५०० भन्दा केही बढीको मात्रै परीक्षण हुन सकेको छ । झन्डै ५ लाख नागरिक कोरोना भाइरसको संक्रमण फैलन थालेपछि नेपाल भित्रिएका छन् । ती प्रत्येक भाइरसवाहक हुन सक्छन् भन्ने हेक्का राखिनुपर्छ । भाइरस संक्रमण ज्यामितीय अनुपातमा फैलने भएकाले एक संख्या पनि निकै ठूलो मानिन्छ । त्यसैले सम्भावित संवाहक पत्ता लगाउन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ व्यापक बनाउनुको विकल्प देखिँदैन । सरकारले संक्रमण देखिएको कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेस्ट गर्ने निर्णय गरेको छ । यो सकारात्मक छ । यी जिल्लाबाहेक भारतबाट बढी नेपाली भित्रिएका जिल्लामा पनि र्‍यापिड टेस्ट गराउनु आवश्यक हुन्छ । किनभने, भारतबाट आएका व्यक्तिमा संक्रमण पुष्टि भएको छ । यसका लागि चीनबाट ल्याइएको ७५ हजार किट अपर्याप्त हुन सक्छ । हुन त र्‍यापिड डाइग्नोस्टिक किटले दिने परिणाममाथि पनि प्रश्न उठाइएको छ । तैपनि जनस्वास्थ्य विज्ञहरू योे प्रारम्भिक परीक्षणका लागि केही उपयोगी बताउँछन् । कोरोनाको संक्रमण कुन क्षेत्रमा देखिएको छ, त्यो ठाउँसँग सबैको सम्पर्क टुटाउनुपर्छ र त्यहाँ व्यापक परीक्षण गर्नुपर्छ ।

त्यसबाहेक सरकारले संक्रमण रोक्नका लागि तयारी पनि बढाउनुपर्ने देखिन्छ । भारतमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा पनि खतरा बढेको छ । यस्तोमा नेपाल तेस्रो चरणमा नपुग्ला भन्न सकिँदैन । यो भनेको व्यापक मात्रामा संक्रमण फैलनु हो । यो अवस्था आउन नदिन सरकारले आफ्नो पूर्ण सामथ्र्य प्रयोग गर्नुपर्छ र यसका लागि नागरिकहरूको पनि पूरापूरा साथ र समर्थन आवश्यक हुन्छ । सरकारले भेन्टिलेटर, अक्सिजनलगायत सामग्रीको जोहो गर्न अब ढिलाइ गर्नु हुँदैन । नेपालभित्र नै पनि यस्ता सामग्री बनाउन सकिन्छ भने त्यसमा सरकारले पूरा साथ दिनुपर्छ । त्यस्तै देशमा कति भेन्टिलेटर छ, कतिको मर्मत गर्नुपर्छ, त्यसको तथ्यांक तयार पार्नुपर्ने देखिन्छ । अहिले क्वारेन्टाइन स्थल बनाएको कुरालाई प्रचार गरिँदै छ । तर, त्यसभित्र आवश्यक कुराको व्यवस्था गरिएको छैन । त्यही भएर क्वारेन्टाइनमा राखिएका व्यक्तिहरू भागेका समाचार पनि आइरहेका छन् । त्यसैले अहिले कोरोनाविरुद्ध सरकारले एकसूत्रीय अभियान चलाउनुको विकल्प छैन । वादविवादमा अल्झिनुभन्दा विज्ञहरूको सल्लाह लिएर तत्काल चाल्नुपर्ने कदमको सूची बनाई तिनलाई कार्यान्वयन गर्न सरकार कडाइका साथ लाग्नै पर्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्