arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिंचाई तथा तटबन्ध योजना कार्यान्वयनमा सकस : ४५ योजनाको बजेट ९ करोड ८१ लाख मात्र

२०७६ पौष, २९  
प्रदेश ०७
Image Not Found
author avatar वीरेन्द्र भट्ट

पुस २९, धनगढी । संघीय तथा प्रदेश सरकारबाट प्राप्त सिंचाई तथा तटबन्ध योजना कार्यान्वयनका लागि बजेट अभाव भएको ।

३४ सिंचाईका योजना कार्यान्वयनका लागि मात्र रू. ६० करोड आवश्यक पर्ने देखिएकोमा  तटबन्धका लागि रू. ६ करोड ५ लाख तथा सिंचाईका लागि रू. ३ करोड ७६ लाख गरी चालू आवका लागि रू. ९ करोड ८१ लाख मात्र बजेट प्राप्त हुँदा योजना निर्माणमा समस्या भएको हो ।

सिंचाई र तटबन्धका गरी कैलाली जिल्लामा ४५ योजना केन्द्र सरकारबाट सशर्त अनुदान प्राप्त योजनामा बजेट अभाव देखिएको भौतिक पूर्वाधार विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश अन्तर्गतको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय धनगढीले बताएको छ । 

वर्षेनी योजना मात्र थप हुँदै गएका छन् तर बजेट सोअनुरुप प्राप्त नहुने अवस्थाका कारण योजना निर्माणको काम अपेक्षित रुपमा अघि बढाउन समस्या हुने गरेको डिभिजन प्रमुख डम्बरप्रसाद धितालले बताए ।

‘सिंचाईका ३४ ओटा योजना सम्पन्न गर्न मात्र रू. ६० करोड आवश्यक पर्छ । तर बजेट रू. ३ करोड ७६ लाख मात्र छ, कसरी निर्माणलाई समयमै पुर्णता दिन सकिन्छ ?’, उनले प्रश्न गरे ।

त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारबाट चालू आवका लागि सिंचाईका ८ तथा तटबन्धका तीन योजना कैलालीमा निर्माणका लागि रू.१३ करोड ९५ लाख बजेट रहेको डिभिजन प्रमुख धितालले बताए ।

 सिंचाईतर्फ रू. ७ करोड १५ लाख तथा तटवन्धका लागि रू. ६ करोड ८० लाख बजेट प्राप्त भएको कार्यालयले बताएको छ । सिंचाई र तटवन्ध कार्यक्रममा प्रदेश सरकारको बजेट अपेक्षाकृत देखिएपनि संघीय सरकारले विनियोजन गरेको बजेट निकै कम भएको डिभिजन प्रमुख धितालले बताए ।

चालू आवभित्र प्रदेश सरकारले विनियोजन गरेको बजेटमा सिँचाईतर्फ गोदावरी नगरपालिकाभित्र एक, मोहन्याल ४, कैलारी गाउँपालिका, गौरीगंगा नगरपालिका तथा चुरे गाउँपालिकाभित्र एक/ एक सिंचाई आयोजना निर्माणका लागि लागत अनुमान तयार पारेर टेण्डरको प्रक्रियामा पुगेको डिभिजन कार्यालय धनगढीले बताएको छ । 

त्यस्तै कान्द्रा नदी, काँडा नदी घुँराहा नदी तटवन्ध निर्माणका लागि पनि आवश्यक तयारी अघि बढिसकेको छ । 

तटवन्धका लागि मागहरु वर्षेनी बढ्दो क्रममा देखिएपनि बजेट अभावका कारण कार्यान्वयनमा समस्या देखिएको उनको भनाइ छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्