arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतमा थोक मुद्रास्फीति बढ्यो 

२०७६ पौष, २९  
अन्तरराष्ट्रिय
Image Not Found

पुस २९, नयाँ दिल्ली (भारत) । भारतमा थोक मुल्यमा आधारित मुद्रास्फीति बढेको छ । खाद्य वस्तु विशेषगरी प्याजको भाउमा भएको वृद्धिका कारण गतमहीना थोक मुल्य सूचक (डब्ल्यूपीआई)मा आधारित मुद्रास्फीति बढेको हो । 

त्यहाँको वाणिज्य तथा उद्योग मन्त्रालयले मंगलवार सार्वजनिक गरेको तथ्यांकअनुसार डिसेम्बरमा डब्ल्यूपीआई २ दशमलव ५९ प्रतिशतले बढेको छ । नोभेम्बरमा यो शून्य दशमलव ५८ प्रतिशत थियो । सन् २०१८ को डिसेम्बर महीनामा भने मासिक डब्ल्यूपीआई सूचक ३ दशमलव ४६ प्रतिशत थियो ।  

नोभेम्बरमा १७२ दशमलव ३ प्रतिशत रहेको प्याजको मुद्रास्फीति गत महीना बढेर ४५५ दशमलव ८ प्रतिशतमा पुगेको छ । तरकारीको मुद्रास्फीति पनि ६९ दशमलव ७ प्रतिशतले बढेको छ । आलुमा मुद्रास्फीति दर करीब ४५ प्रतिशत रहेको छ । 

सूचकांकमा ६४ दशमलव २३ प्रतिशत भार रहेको म्यानुफ्याक्चर्ड वस्तुको मुद्रास्फीति भने समीक्षा अवधिमा ऋणात्मक शून्य दशमलव २५ प्रतिशत रहेको तथ्यांक छ । इन्धन र विजुलीमा पनि मुद्रास्फीति ऋणात्मक १ दशमलव ४६ प्रतिशत छ । डिसेम्बरमा खुद्रा मूल्यमा आधारित मुद्रास्फीति ७ दशमलव ३५ प्रतिशतमा उक्लिएको सोमवार सरकारले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यो सात वर्षयताकै उच्च हो । खाद्य वस्तु महँगिएसँगै गतमहीना खुद्रा मुद्रास्फीति आकाशिएको हो । 

यसले अर्थतन्त्र सुस्ताएको बेलामा आर्थिक गतिविधिमा टेवा दिन केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने सम्भावना धूमिल बनाएको छ । खुद्रा मुद्रास्फीति थप बढ्ने अपेक्षा गरिएकोले आगामी नीतिगत बैठकमा ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई)ले प्रमुख ब्याजदर यथावत् राख्ने अनुमान अर्थशास्त्रीहरुले गरेका छन् । गत वर्ष भने आरबीआईले पटक पटक गरेर प्रमुख ब्याजदर १ दशमलव ३५ प्रतिशतले घटाएको थियो । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्