arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेप्से परिसूचकमा करेक्सन,२ कम्पनीमा सकारात्मक सर्किट 

२०७६ पौष, २९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । मंगलवार नेप्से परिसूचक घटेर बन्द भएको छ । गत साता बिहीवारदेखि निरन्तर दोहोरो अंकले बढेको परिसूचकले यस दिन करेक्सनको सामाना गर्दा ७ दशमलव ४८ अंक घटको छ ।

 अल्पकालिन लगानीकर्ताहरु हावी हुँदा मंगलवारको बजार १ हजार २६३ दशमलव ३८ विन्दुसम्म पुगेर बन्द भएको हो । घटेको बजारमा दुई कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ ।

 यस दिन कारोबार शुरु भएको पहिलो आधा घण्टाको समयावधिमा घटेर यस दिनकै न्यून विन्दु १ हजार २५४ को विन्दुसम्म पुगेको थियो । त्यसपछि केही अंक उकालो लागेको परिसूचक कारोबारको तेस्रो घण्टामा १ हजार २६३ को विन्दुमा रहेको थियो । 

कारोबार अवधिभर बजार घटबढ हुँदै अन्तमा गत कारोबार दिनको तुलनामा शून्य दशमलव ५९ प्रतिशत घटेर बन्द भएको छ ।

अल्पकालिन लगानीकर्ताहरुले पछिल्लो तीन दिन बढेको बजारको लाभ उठाउँदा परिसूचकमा सामान्य करेक्सन भएको देखिन्छ । यद्यपि पूँजीबजार प्रति सरकारको सकारात्मक ध्यानाकर्षणसँगै बजारमा सुधार हुँदै आएको एक लगानीकर्ताको भनाइ छ । 

हाल कम्पनीहरुले शेयरधनीलाई वितरण गरेको लाभांशका साथै वित्तीय क्षेत्रमा आएको व्याजदर तथा तरलताको सहजले बजार बढ्ने अनुमान विश्लेषकहरुको रहेको छ । 

मंगलवार कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये ५ समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक घटेर बन्द भएको छ । सर्वाधिक बढेर बन्द हुनेमा व्यापार समूहको परिसूचक ९ दशमलव १५ प्रतिशत बढेको छ भने वित्त समूहको परिसूचक १ दशमलव ३८ प्रतिशत बढेको छ ।

होटल, विकास बैंक र ‘अन्य’ समूहको परिसूचक भने १ प्रतिशतभन्दा कम बढेका छन् । त्यसैगरी, घटेर बन्द हुनेमा जलविद्युत् समूहको परिसूचक सर्वाधिक १ दशमलव १० प्रतिशत घटेको छ । बैंकिङ, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा र म्युचुअल फन्ड समूहको परिसूचक १ प्रतिशतभन्दा कम घटेका छन् । 

मंगलवारको कारोबार

मंगलवार घटेर बन्द भएको बजारमा रू.१ अर्ब २ करोड ६४ लाख बराबरको शेयर कारोबार भएको छ । यो अघिल्लो कारोबार दिन सोमवारको तुलनामा ३९ दशमलव ८० प्रतिशत कम हो । 

गत कारोबार दिन सोमवार रू.१ अर्ब ७० करोड ५० लाख रकम बराबरको कारोबार भएको थियो । सेन्सेटिभ इन्डेक्स यस दिन २ अंक घटेर २७४ दशमलव २८ विन्दुमा पुगेर बन्द भएको छ ।

दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

मंगलवार दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र रैराङ हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो । 

साल्ट ट्रेडिङको अन्तिम शेयरमूल्य रू.२ हजार ३२१ कायम भएको छ भने रैराङ हाइड्रोपावरको शेयरमूल्य रू.११० पुगेको छ । 

यस्तै मन्जुश्री फाइनान्सको शेयरमूल्य ९ दशमलव शून्य ३ प्रतिशत बढेको छ । शेयरमूल्य घटेर कारोबार हुनेमा दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य ८ दशमलव ६२ प्रतिशत घटेको छ । 

कम्पनीको शेयरमूल्य रू.५३ मा सिमित रहेको छ । त्यसैगरी, बरुण हाइड्रोपावरको शेयरमूल्य ६ दशमलव ३१ प्रतिशत घटेर अन्तिम शेयरमूल्य रू. ८९ कायम रहेको छ । 

१२ समूहको परिसूचक

प्रभु बैंकको संस्थापक तर्फको सर्वाधिक शेयर कारोबार
 

मंगलवार प्रभु बैंकको संस्थापक तर्फको सर्वाधिक शेयर कारोबार भएको छ । 

कम्पनीको ९ लाख कित्ता शेयरको खरीदविक्री हुँदा रू.११ करोड ४३ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १२७ रहेको छ ।
 कारोबार रकमकै आधारमा दोस्रोमा नागरिक लगानी कोषको रू.७ करोड २२ लाख बराबरको शेयर कारोबार भएको छ । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.२ हजार २०५ कायम रहेको छ । यस दिन कारोबारमा आएका १८३ कम्पनीमा ५२ कम्पनीको शेयरमूल्य बढेको छ भने १११ कम्पनीको घटेको छ । साथै २० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्