ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भण्डार रित्याउने बेला भण्डारण गर्न बाध्य दुग्ध व्यवसायी

साढे २ अर्बभन्दा बढीको स्टक बाँकी

२०७६ चैत, २४  
समाचार
NA
author avatar प्रशान्त खड्का

काठमाडौं । लकडाउनका कारण दूधको विक्री घटेपछि दुग्ध व्यवसायीहरू आफूसँग भएको पुरानो स्टक रित्याउने बेलामा उल्टै दुग्ध सामग्री भण्डारण गर्न बाध्य छन् । यसले गर्दा दुग्ध उद्योग जोखिममा परेको सरोकारवालाहरू बताउँछन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डका अध्यक्ष बाबुकाजी पन्तका अनुसार हाल चिज, बटर र धूलो दूध गरी सरकारी र निजीक्षेत्रका उद्योगहरूसँग करीब २ अर्ब ६३ करोड रुपैयाँ बराबरको स्टक बाँकी रहेको छ । यस्तो अवस्थामा दूधको खपत घट्दा र स्टक बढाउनु पर्दा व्यवसायी र किसान दुवै मारमा छन् ।

भदौदेखि माघ महीनासम्म दूध उत्पादन बढी हुने र खपत कम हुने भएकाले त्यसबेला उद्योगीहरूले पाउडर उत्पादन गरी स्टक बढाउँछन् । उत्पादन कम हुने र माग बढ्ने फागुनदेखि साउनसम्म उद्योगीहरूले आफूसँग भएको स्टक रित्याउनेतर्फ लाग्छन् । तर, अहिले खपत घट्दा उद्योगीहरू स्टक बढाउन बाध्य भएको नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए । ढिलोमा असारसम्म यो स्टक सक्नुपर्ने हो तर अहिले परिस्थिति उल्टो भइदियो, जसले गर्दा स्टक बढाउनुपर्ने बाध्यता छ,’ उनले भने । हाल होटल, रेस्टुराँ, स्कूल, कलेजहरू बन्द छन् भने लाखौंको संख्यामा मानिस काठमाडौं उपत्यका छाडेर बाहिरिएका छन् । यही कारण उपत्यकामा दूधको उपभोग घटेको उद्योगी व्यवसायीहरूको भनाइ छ । यसले गर्दा १५ देखि २० प्रतिशतमात्र दूध विक्री भइरहेको छ । 

सामान्य अवस्थामा देशभरिका उद्योगहरूमार्फत मात्र दैनिक करीब ७ लाख लिटर दूध उपभोग हुने गरेकोमा लकडाउनपश्चात् यो परिमाण घटेर ३ लाख लिटरमा सीमित भएको सीताराम डेरीका सञ्चालक सुमित केडियाले जानकारी दिए । सीताराम डेरीले मात्रै दैनिक ३०/३५ हजार लिटर दूध आपूर्ति गर्दथ्यो । हाल करीब १५ हजार लिटर मात्र आपूर्ति गरिरहेको उनले बताए । ठूला उद्योगले किसानमार्फत दूध खरीद गर्न नसक्दा किसानसमेत समस्यामा परेका छन् । कतिपय किसानले आफैले पाउडर प्लान्टमा पठाउने गरेको उनले बताए ।

विक्री हुन नसकेको दूध पाउडर प्लान्टमा पठाउन सके केही हदसम्म सहज हुने उनको बुझाइ छ । हाल विराटनगर र सुजल डेरीको प्लान्ट सञ्चालनमा छन् भने चितवनको प्लान्ट पनि केही दिनमै सञ्चालनमा आउने उनले बताए ।

अहिले उपभोग घटेका कारण संकलित दूधलाई पाउडर बनाउन प्रयोग भइरहेको दुग्ध विकास संस्थानका महाप्रबन्धक रूद्रप्रसाद पौडेलले जानकारी दिए । यसअघि सामान्य अवस्थामा दैनिक रूपमा दुग्ध विकास संस्थानको ९० हजार लिटर दूध खपत हुने गरेकोमा हाल ७३ हजार लिटर मात्र खपत भइरहेको उनले बताए । शहरमा दूधको उपभोग घटे पनि गाउँमा केही हदसम्म बढेको हुन सक्ने उनको बुझाइ छ । सरकारले दूधलाई अत्यावश्यक वस्तु मानेर ढुवानीमा बाधा नगर्ने भने पनि प्रहरी प्रशासन र सरकारबीच समन्वय नहुँदा ढुवानीमा समेत असर परेको व्यवसायीहरू बताउँछन् । उनीहरूबीच समन्वय गरेर ढुवानीमा सहजीकरण गर्नुपर्ने व्यवसायीहरूको माग छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्