ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विश्व कीर्तिमानी विद्युतीय बस नेपाल आउँदै

२०७६ माघ, २  
बजार
NA
author avatar काशीराम बजगाईं

काठमाडौं । एकपटकको चार्जमा सबैभन्दा बढी १ हजार १८ किलोमिटर रेन्जका साथ गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएको अस्ट्रेलियन उत्पादन ब्रिग्सन विद्युतीय बस नेपालमा आउने भएको छ । अस्ट्रेलियाको ब्रिग्सन टेक्नोलोजीले उत्पादन गरेको विद्युतीय बस हिमालय अर्गनाइजेशनको हिमालय मोट्रोक्सले नेपाल ल्याउन लागेको हो ।

बुधवार हिमालय मोट्रोक्सले ब्रिग्सनको नेपालका लागि आधिकारिक डिलरशिप लिएको जानकारी गराउँदै आगामी २ महीनामा बस नेपाल ल्याउने जानकारी दिएको छ । उक्त बस सामान्य चार्जमा ४ देखि ८ घण्टामा पूर्ण चार्ज हुन्छ । उक्त बसले एकपटकको चार्जमा १ हजार किलोमिटर रेन्ज दिने बताउँदै हिमालय मोट्रोक्सका प्रबन्धक सौरभ थापाले नेपालको सडकमा पनि ८०० किलोमीटरभन्दा बढी रेन्ज दिने दाबी गरे । जुन सामान्य अन्य विद्युतीय बसको भन्दा दोब्बर हो ।

विद्युतीय बस वातावरण अनुकूल हुने कम्पनीका प्रबन्ध निर्देशक ध्रुव थापाले बताए । बसमा लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ । सामान्यतया ब्याट्रीको आयु ८ देखि १० वर्ष हुने गरेकोमा यस ब्याट्रीको आयु ४० वर्षसम्म हुने र २० वर्ष कम्पनीले ग्यारेन्टी दिने उनले बताए । ‘विद्युतीय बसको ब्याट्री भावी दिनमा झन् खतरनाक हुन्छ त्यसैले यसलाई व्यवस्थित गर्न आवश्यक हुन्छ,’ उनले भने, ‘यसको ब्याट्री पुनः ब्याट्री बनाउन कम्पनीले प्रयोग गर्छ ।’

हाल साइप्रस, चीन, कोरियामा उत्पादन हुने यो बस आगामी २ महीनामै भारतमा बन्ने र त्यहीँबाट नेपाल ल्याउने तयारी कम्पनीको छ । ब्रिग्सनले २०१५ देखि विद्युतीय बस उत्पादन शुरू गरेकोमा २०१६ देखि व्यावसायिक शुरुआत गरेको थियो । कम्पनीले बसको मूल्य भने सार्वजनिक गरेको छैन । २०२५ सम्म नेपालमै बस एसेम्बल गर्ने योजना रहेको भारतका लागि ब्रिग्सनका सिनियर एजेन्ट फिरोज खानले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्