ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

गभर्नरका चुनौती र अवसर

२०७६ चैत, २५  
सम्पादकीय
NA

कोरोनाका कारण देशको आर्थिक र वित्तीय क्षेत्रमा चुनौती थपिएका बेला केन्द्रीय बैंकको जिम्मेवारी महाप्रसाद अधिकारीले पाएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर हुँदा डिपुटी रहेर काम गरेका अधिकारीले अर्थतन्त्रका समस्यालाई पनि राम्ररी बुझेका छन् र राष्ट्र बैंकको भूमिका क्षमता र कमजोरीलाई पनि । के उनको पाँचवर्षे कार्यकाल नेपाल राष्ट्र बैंकमा विशेष रहला ?

अहिले अर्थ मन्त्रालयको छाया केन्द्रीय बैंकमा परेको छ र बाफिया संशोधनले त झनै स्वायत्तता खोसेको छ भन्ने आरोप लागेको सन्दर्भमा राष्ट्र बैंकको स्वायत्तता जोगाउनु अधिकारीको पहिलो चुनौती हुनेछ ।

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र र मुलुकको अर्थतन्त्रमा पर्ने असरको लेखाजोखा गरेर त्यसबाट अर्थतन्त्र र वित्तीय क्षेत्रमा पर्ने असर कम गर्नु तत्कालका लागि ठूलो चुनौती छ । 

अहिले अर्थ मन्त्रालयको छाया केन्द्रीय बैंकमा परेको छ र बाफिया संशोधनले त झनै स्वायत्तता खोसेको छ भन्ने आरोप लागेको सन्दर्भमा राष्ट्र बैंकको स्वायत्तता जोगाउनु अधिकारीको पहिलो चुनौती हुनेछ । त्यसमा पनि पछिल्लो समय धेरै देशमा सरकारले गभर्नरलाई आफ्नो अनुकूल बनाउन खोजेको सन्दर्भमा केन्द्रीय बैंकको स्वायत्तता जोगाउनु यसै पनि चुनौतीपूर्ण देखिन्छ । विशेषगरी वर्तमान अर्थमन्त्रीस“ग समन्वय गर्नु र नेपाल राष्ट्र बैंकलाई उचाइमा राख्न सक्नु चुनौतीपूर्ण देखिन्छ ।

खर्बौं रुपैयाँभन्दा बढी रुपैयाँको निक्षेपको कुशल व्यवस्थापन गर्नु र कर्जा जोखिमको व्यवस्थापन गर्नु निकै कठिन देखिन्छ । पूँजीवृद्धिका कारण बैंकहरूमा देखिएको चुनौतीलाई सम्बोधन गर्नु र बिग मर्जरलाई उचित सम्बोधन गर्नु पनि उत्तिकै आवश्यक छ । त्यस्तै डिजिटल बैंकिङका लागि राष्ट्रिय भुक्तानी द्वार बनाउन रोकिएको काम अगाडि बनाउनुपर्ने आवश्यकता छ । डिजिटल बैंकिङमा देखिएको लगातारको कमजोरी सच्याउन डिजिटल सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने चुनौती छ । 

बैंक र वित्तीय संस्थाको विस्तारसँगै तिनको नियमन गर्न केन्द्रीय बैंकको क्षमता अभिवृद्धि गर्नु आवश्यक छ । केन्द्रीय बैंकको आन्तरिक क्षमता कमजोर रहेको आरोप लागेको सन्दर्भमा संरचनागत सुधार गरी नियमन क्षमताको विकास गर्नु उत्तिकै जरुरी छ । 

कोरोनाका कारण देशको वित्तीय स्थिति, विनिमय सञ्चिति र विनिमय दरमा आएको अन्तरका कारण सृजित समस्यालाई तत्कालै सम्बोधन गर्न आवश्यक छ जसका लागि मौद्रक नीतिमा पुनर्समीक्षा पनि गर्नुपर्ने हुन सक्छ । मुद्रास्फीति पनि प्रक्षेपित सीमा नाघिसकेको छ र वैदेशिक व्यापारमा पनि गम्भीर असर परेको छ । संक्रमण लम्बिँदै जाँदा यसले पार्ने असरलाई सम्बोधन गर्न विशेष ध्यान जानुपर्ने हुन्छ । 

कोरोनाकै कारण विप्रेषण आयमा गम्भीर धक्का लाग्न सक्ने सम्भावना बढेको छ । त्यस्तै पर्यटन क्षेत्रले आम्दानी त गुमाएको छ नै, त्यहाँ प्रवाहित ऋण पनि उठ्न कठिन छ । त्यसबाट विदेशी मुद्रा सञ्चितिमा पर्ने असरलाई सम्बोधन गर्नु आवश्यक छ, यद्यपि केही राहतका कार्यक्रम भने अहिले ल्याइसकेको अवस्था छ । 

आन्तरिक रूपमा पनि उद्योगहरू बन्द छन् । ब्याज छूट पाउनुपर्ने व्यवसायीको माग एकातिर छ भने बैंकहरूले कमाउने मुनाफामा पर्ने असर अर्कोतर्फ छ । ब्याजदर र ऋणको सन्तुलन थोरै मात्र बिग्रिए पनि पूँजी पलायन र अनौपचारिक अर्थतन्त्र फस्टाउने सम्भावना बढी छ । कोरोनाका कारण कर्जाको माग घट्ने र बैंकहरूको अन्य आम्दानीमा पनि असर पर्ने देखिन्छ ।

बैंकिङ क्षेत्रमा सुशासनको कमजोरी रोक्न पनि केन्द्रीय बैंकको भूमिका प्रभावकारी हुनुपर्छ । यी समस्यालाई सम्बोधन गरेर अधिकारीले केन्द्रीय बैंकको साख जोगाउलान् त ?

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्