arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जर्मनीको अर्थतन्त्र २०१३ यताकै सुस्त 

२०७६ माघ, २  
अन्तरराष्ट्रिय
Image Not Found

माघ २, बर्लिन (जर्मनी) । जर्मनीको अर्थतन्त्र गत वर्ष सन् २०१३ यताकै सुस्त बनेको छ ।
 

जर्मनीको फेडेरल स्ट्याटिस्टिक्स अफिसले सार्वजनिक गरेको आधिकारिक तथ्यांक अनुसार सन् २०१९ मा जर्मनीको अर्थतन्त्र शून्य दशमलव ६ प्रतिशत बढेको हो । 
पछिल्लो समय मुलुकमा देखिएको विभिन्न अवरोध र व्यापारिक विवादको कारण जर्मनीको अर्थतन्त्र प्रभावित बन्न पुगेको हो । यसअघि सन् २०१८ मा जर्मनीको अर्थतन्त्रमा १ दशमलव ५ प्रतिशतको वृद्धिदर देखिएको थियो । 

जर्मनीका तथ्यांक अधिकारी अल्बर्ट ब्राकमनले सन् २०१९ मा जर्मनीको अर्थतन्त्र लगातार १० औं वर्ष वृद्धि भएको बताए । 

जर्मनी एक भएपछि लगातार १० औं वर्ष अर्थतन्त्र बढेको यो पहिलो पटक हो । उनका अनुसार निजी खपतको क्षेत्र बलियो रहनु, सरकारी खर्च बढ्नु र निर्माण क्षेत्रको सुधारले अर्थतन्त्रलाई सहयोग पुगेको हो ।

 

 ब्रेक्जिटको अन्योल र अतिरिक्त आयात करको विवादले सन् २०१९ मा जर्मनीको अर्थतन्त्रमा आशा गरिए अनुसार सुधार हुन नसकेको अर्का तथ्यांक अधिकारीले बताए । 

अधिकारीहरूका अनुसार गत वर्ष जर्मनीको सार्वजनिक क्षेत्र, संघीय प्रान्तहरू, नगरपालिका र सामाजिक सुरक्षा प्रणालीको बजेट बचत ४९ अर्ब ८० करोड यूरोमा झरेको छ । 

यो समग्र जीडीपीको १ दशमलव ५ प्रतिशत हो । अघिल्लो वर्ष यो आकार ६२ अर्ब ४० करोड यूरो अर्थात् जीडीपीको १ दशमलव ९ प्रतिशत थियो । 

गत वर्ष जर्मनीको समग्र वैदेशिक व्यापार पनि सुस्ताएको छ । समीक्षा अवधिमा जर्मनीको समग्र निर्यात शून्य दशमलव ९ प्रतिशत बढेको थियो । सन् २०१८ मा यो वृद्धिदर २ दशमलव १ प्रतिशत थियो । 

त्यस्तै आयात पनि १ दशमलव ९ प्रतिशत बढेको थियो । अघिल्लो वर्ष आयात ३ दशमलव ६ प्रतिशत बढेको थियो । समग्र व्यापारमा देखिएको कमीले पनि आर्थिक क्षेत्र कमजोर बन्न पुगेको हो । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्