ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोनाबाट मुक्ति पाएका नेपालीको अनुभव :  सकभर हुन नदिऊ, भए आत्मबल बढाऔं   

२०७६ चैत, २६  
स्वास्थ्य र जीवन शैली
NA

 चैत २७, अमेरिका । धादिङका रञ्जित गौली कोभिड–१९ को संक्रमणपछि घरमै आराम गरी अहिले निको  भएका छन् ।

 अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै चैत १५ (मार्च २८) देखि घरमै सेल्फ आईसोलेशनमा बसेर आफूलाई निको बनाएका हुन्  । पाँच वर्षअघि अमेरिका आएका गौली अमेरिकी सेनाको रिजर्भ फोर्समा कार्यरत छन् ।    
     
कोभिड–१९ को त्रास बढिरहँदा आफूलाई समेत संक्रमण भएपछि केही आत्तिएको तर घरमै सेल्फ आईसोलेशनमा बसेर चिकित्सकको सल्लाहबमोजिमको गतिविधि गरेपछि अहिले स्वस्थ अनुभव गरेको उनले बताए ।

‘झण्डै १० दिन कोरोनाविरुद्वको लडाइँमा अन्ततः मैले जित्न सकें ,यसका लागि आत्मबल बलियो हुनु जरुरी छ, ठूलो औषधि भनेकै सकारात्मक सोच रहेछ’, गौलीले  भने, ‘मुख्य कुरा म तन्दुरुस्त छु, मलाई सर्दैन भनेर कसैले नसोच्नुहोला र संक्रमण भइहाल्यो भने हेलचेक्र्याई नगर्नुहोला ।’     
     
कोरोना लाग्दैमा मरिन्छ भनेर डराइनहाल्न अनुरोध गर्दै गौलीले लागेको खण्डमा पनि घरमै बसेर आफ्नो प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक खाना खाने र चिकित्सकको सल्लाहअनुरुप गतिविधि गर्दा यो रोगमाथि जित हासिल गर्न सकिने आफ्नो अनुभवलाई साटे ।

 शुरुमा ज्वरो आएको, ज्वरोपछि खोकी लागेको, ज्वरो घट्दै नघटेको र विस्तारै दिनहरु बित्दै जाँदा श्वास फेर्न कठिन भएको स्मरण गर्दै गौलीले भने, ‘तर आफ्नो आत्मबल बढाउँदै चिकित्सकको सल्लाहअनुरुपका गतिविधि गरें, आफूलाई भित्रबाट हार्न नदिन म लागिरहें, अहिले आराम अनुभव गरेको छु ।’    
     
आफूलाई कोभिड–१९ को संक्रमण देखिएपछि अरुलाई सर्न नदिनका लागि आफैंले सजगकता अपनाउन पर्ने गौली बताउँछन् । ‘तातो पानी प्रयोग गर्ने, घरका सदस्यसँग समेत दूरी कायम गर्ने गर्नुपर्दछ, मैले त रुम नै बेग्लै गरेको थिए’, उनले  भने, ‘तातोपानीको बाफ लिने गर्थे, श्रीमती र बुबा पनि छ–सात फिट पर बस्नुहुन्थ्यो, मैले सर्न नदिन विशेष ख्याल गरें, त्यसैले होला बुबा र श्रीमतीलाई अहिलेसम्म देखिएको छैन, आगामी दिनमा पनि नदेखियोस् ।’     
     
उता इङ्गल्याण्डको साउथ इस्ट लण्डनमा कपुरका नामले परिचित पोखराका पद्म राणा पनि कोभिड–१९ को संक्रमणका कारण उपचारपछि घरमै सेल्फ आईसोलेशनमा बसेर अहिले निको भएका छन्  । उनी २० वर्षदेखि बेलायतमा बस्दै आएका छन् ।

‘मैले अस्पतालमा जाँच गर्न जाँदा मलाई निमोनिया र कोभिड –१९ संक्रमण भएको थियो, तर पनि म अत्तालिन, अस्पतालमा रहँदा पनि मैले आत्मबल कहिल्यै घट्न दिइनँ’, उनले कोभिड–१९ संक्रमणपछिको अनुभव साट्दै टेलिफोन सम्पर्कमा भने, ‘कोरोना संक्रमणबाट बच्न ‘ब्यालेन्स डाइट’मा ध्यान दिनुहोस्, तातोपानी, सुप र झोलिलो पदार्थ भएको पोषणयुक्त खाना खान खानुहोस साथै सकेमा तातोपानीको बाफ लिन, अझ सकिन्छ भने दिनमा कम्तीमा दुईपटक स्टिम बाथ लिनुहोस् यी सबै घरमै बसेर गर्न सकिन्छ, नियमित व्यायाम गर्न र अति आवश्यक काममा बाहेक घर बाहिर ननिस्कनुस् ।’
     
अमेरिकाको न्यूयोर्क बस्दै आएकी ४४ वर्षीया नीमा शेर्पाको परिवारलाई नै कोभिड–१९ को संक्रमण देखिएको थियो । श्रीमान्–श्रीमती र दुई छोरासहित चार सदस्यीय नीमाको परिवार घरमै सेल्फ आईसोलेशनमा बसेको थियो । सोलुखुम्बुबाट नीमा २२ वर्षअघि अमेरिका आउकी हुन् । नीमा पेशाले नर्स छिन् । नर्सिङ पेशामा भएका कारणले पनि आफ्नो परिवारलाई रिकभर गर्न सजिलो भएको उनले बताइन् ।


‘घरमै एकले अर्काको आत्मबल बढायौं, खोकी र ज्वरोको औषधि सेवन गर्‍यौं’, उनले भनिन्, ‘लक्षणबाट नै कोभिड सरेको ठानेकी थिएँ, त्यही अनुसार नै मैले आफू र आफ्नो परिवारको शक्ति बढाउनका लागि गर्नुपर्ने काम गर्न थालेकी थिएँ, परीक्षण गरेको पाँच–सात दिनपछि बल्ल रिपोर्ट आएको थियो तर हामी त्यसअघिदेखि नै घरमा आराम गरेर एकले अर्कालाई ‘टेक केयर’ गरी बसेका थियौं, रिपोर्ट आइपुग्दासम्म हाम्रो अवस्थामा केही सुधार भइसकेको थियो ।’    
     
 उनले सकभर कोभिड–१९ हुन नदिने तर्फनै जोड दिनुपर्ने र भैहाल्यो भने पनि परिवारमा हुनुहुन्छ भने छुवाछुत जस्तो गरी होइन बरु एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्दछ, आत्तिनुहुदैंन भनिन् ।     

पछिल्लो समयमा आइरहेको तथ्याकंले पनि संक्रमण पछिको रिकभरी रेट बढी देखाएको छ यो सुखद पक्ष भएकाले कोभिड–१९ को संक्रमण भैहाले पनि आफ्नो आत्मबल बढाएर चिकित्सकीय परामर्शमा अगाडि बढ्दा फेरि पहिलाकैं अवस्थामा फर्कर्न सकिने निमाको बुझाइ छ ।     
     
अमेरिकाकै न्यूयोर्क निवासी ५० वर्षीय जीवन बम कोभिड–१९ संक्रमणमा परेका थिए । अहिले उनी पनि घरमै सेल्फ आईसोलेशनमा बसेर आफूलाई स्वस्थ भएकी  छिन् । कैलाली टीकापुरकी उनी २० वर्षदेखि अमेरिकामा बस्दै आएकि छिन् ।

‘कोभिड–१९ लागिहाल्यो भने पनि शुरुदेखि नै लापरवाही गर्नुभएन, आराम गर्ने, ज्वरो नापिरहने, १४ दिनसम्म घरमा बस्ने, यदि ज्वरो घटेन भने इमर्जेन्सीमा जाने, निमोनिया हुन नदिने, शरीरमा शक्ति बढाउन केही न केही खाइरहने गर्नुपर्छ’ बमले भनिन्, ‘यो बेला आफ्नो आत्मबल बढाउनुपर्छ, आफूलाई कमजोर हुन दिनुहुँदैन ।’    
     
‘शुरुमा ज्वरोको लक्षण देखिएपछि विस्तारै खोकी र स्वासप्रश्वासमा समस्या भयो, मलाई संक्रमण भएको थाहा पाएपछि पनि म आफूलाई निको पार्न सक्छु भन्ने आत्मबलका साथ सेल्फ आईसोलेशनमा बसें, उनले भनिन्, ‘कोरोना संक्रमण हु“दैमा मरिहाल्छु भनेर पनि सोच्नुहु“दैन, मैले ती सबै सोचिन तर हेलचेक्र्याइ पनि गरिनँ, परिवारका सदस्यहरुबाट टाढा रहे, दूरी बनाएं, नियमित चिकित्सकले भनेअनुसार गतिविधि गरे अहिले सुधार भएको अनुभव गरेको छु ।’     
     
उता अमेरिका म्यासाच्युट्स बोष्टनका राम धिताललाई पनि कोभिड–१९ को संक्रमण भएको थियो । २५ वर्षदेखि अमेरिका बस्दै आएका उनी घरमै सेल्फ आईसोलेशनमा बसेका थिए ।अहिले आफूले पूर्ण स्वास्थ्यलाभ गरेको उनले बताए ।

‘कोरोनाभाइरस पोजेटिभ देखिएपछि चिकित्सकको सल्लाहमा घरमा बसेर आराम गरें’, उनले भने, ‘मेरो पहिलादेखि नै मुटुको समस्या थियो, त्यसले गर्दा अलि चिन्तित थिएँ तर म डराएको थिइनँ, नियमको पालनाले मलाई ठिक हुन्छ भन्ने नै लागेको थियो ।’    
     
उनले संक्रमणको अवधिभर आफूलाई तापक्रम बढ्ने र घट्ने भइरहने गरेको सुनाए । उनले घरमा आफू आईसोलेशनमा रह“दा चिकित्सकको परामर्शमा ज्वरो घटाउने औषधि पनि  खाएको र  घरेलुरूपमा सजिलै गर्न सकिने तातोपानी, बेसार, ज्वानो आदिको प्रयोगलाई तीव्र बनाएको जानकारी दिए । त्यसो त आफ्नै छोरी नर्स र श्रीमती पनि स्वास्थ्य क्षेत्रमै काम गर्ने भएकाले पनि आफूलाई हेरचाह राम्रो भएको उनलाई लागेको छ ।     
     
बेलुकाको समयमा त मैले भिक्स हालेको तातोपानीको बाफ सिरकले छोपेर लिने गर्दथे । बेलुकी खोकी लाग्दा ज्वानोपानी पनि खान्थे । उनले भने, ‘विश्व स्वास्थ्य संगठन वा सीडीसीको गाइडलाइन्समा भएका सुझावको पालनाका साथै नेपालमा प्रचलित घरेलु उपायहरुको अवलम्बन गर्न समेत धिताल सबैमा आग्रह गर्छन् । सकभर कोभिड–१९ को संक्रमण लाग्न नैं नदिनेतर्फ सबैको ध्यान हुनुपर्नेमा चिकित्सकको समेत भनाइ छ ।

कोभिड–१९ लाग्दैमा मरिहालिन्छ भनेर डर पाल्न नहुने बताउँदै अमेरिका नेपाल मेडिकल फाउन्डेशनका अध्यक्षसमेत रहेका डा सन्तोष सापकोटाले लक्षण देखिए बेलैमा चिकित्सकको सम्पर्कमा जान सबैमा सुझाव दिन्छन् ।    
     
कोभिड–१९ लाई गम्भीरतापूवर्क लिइ सकभर लाग्न नै नदिनेतर्फ जोड दिनुपर्ने बताउँदै डा सापकोटा भन्छन् ‘रोग लाग्नु भनेको मान्छेको स्वास्थ्यमा असमान्य स्थिति सिर्जना हुनु हो, त्यसैले सकभर लाग्न नै नदिन सचेत बन्नुपर्दछ, यदि लागिहाल्यो भने पनि चिकित्सकको परामर्शमा होम आईसोलेशनमा बसेर पनि निको हुन सकिन्छ, यो निको हुने दर धेरै छ ।’ रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्