ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रत्येक वर्ष एन्फ्लुएन्जाको  खोप लगाउनुपर्छ

२०७६ माघ, ३  
स्वास्थ्य र जीवन शैली
Image Not Found
डा. वासुदेव पाण्डे, सरुवा रोग विशेषज्ञ , शुक्रराज ट्रपिकल तथा  सरुवा रोग अस्पताल, टेकु

चिसो याममा रुघाखोकीबाट धेरै मानिस संक्रमित हुने गरेका छन् । तर केही वर्षदेखि रुघाखोकीको जस्तै लक्षण हुने नयाँ रोगका भाइरस पनि सक्रिय हुँदै गएको सरुवा रोग विशेषज्ञ डाक्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन् । गतवर्ष मात्रै ६०० भन्दा बढी मानिसमा स्वाइनफ्लु अन्तर्गतकै एचथ्री भाइरस अन्यधिक फैलिएर ३ महीनामै पाँचजनाको ज्यान समेत गएको थियो । तर यस वर्ष सामान्य रुघाखोकीका बिरामी आइरहे पनि त्यस्तो डरलाग्दो अवस्था नभएको उनको भनाइ छ । प्रस्तुत छ, सरुवा रोगको हालको अवस्था, रुघाखोकी, बच्ने उपाय आदि विषयमा आर्थिक अभियानका काशीराम बजगाईंले डा. पाण्डेसँग गरेको कुराकानीको सार :

चिसो शुरू भएपछि कुन रोगका बिरामी बढी आइरहेका छन् ?
जाडोयाममा शरीरभित्र भाइरस बढी सक्रिय हुने भएकाले रुघाखोकी लगायत श्वासप्रश्वास सम्बन्धी रोग बढी लाग्ने गर्छन् । जाडो शुरू भएपछि सबैभन्दा बढी एन्फ्लुएन्जा (रुघाखोकी)का बिरामी यस अस्पतालमा आइरहेका छन् । त्यसपछि दम र छालाका बिरामी आइरहेका छन् । 

गतवर्ष रुघाखोकीकै लक्षण हुने स्वाइनफ्लुका बिरामी धेरै थिए । अहिले अवस्था कस्तो छ ?
गतवर्ष एचथ्री भाइरस अत्यधिक फैलिएको थियो । यातायात लगायत कारण बाहिरी देशमा भएका रोगका भाइरस पनि भित्रिरहेका छन् । यो समयमा सामान्य एचवन भाइरसले संक्रमित बिरामी आए पनि रुघाखोकीकै समस्या लिएर आउने बिरामी पनि गतवर्षको भन्दा घटेका छन् । तर जाडो शुरू भएदेखि क्रमशः बिरामीको संख्या केही बढेको छ ।

रुघाखोकीले शरीरमा कस्तो असर गर्दछ ?
रुघाखोकी लाग्दा सामान्यतया घाँटी खसखस हुने, थकान महसूस हुने, नाक बन्द हुने, बढी चिसो हुने, खोकी लाग्ने, उच्च जरो आउने, श्वासप्रश्वास बढ्ने, नाकबाट पानी बग्ने लगायत समस्या देखिन्छन् । रुघाखोकी प्रायः एक हप्तामा आफै निको हुन्छ । तर यसले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउने भएकाले अन्य रोगका भाइरसले शरीरमा आक्रमण गर्न सक्छन् ।

रुघाखोकीबाट कसरी बच्न सकिन्छ ?
रुघाखोकीबाट बच्न शुरूमा धूलो–धूँवाबाट जोगिनुपर्छ । पानी तथा झोलिलो पदार्थको अत्यधिक सेवन गर्नुपर्छ । पानी तताएर पिउनुपर्छ । भिटामिन ‘सी’युक्त खाना तथा फलफूल, सुन्तला, कागती, अम्बा, काउली, टमाटर, हरियो सागपात लगायत खानेकुरा खानुपर्छ । न्यानो लुगा लगाउनुपर्छ । सकेसम्म नजीकको स्वास्थ्य संस्थामा वा विशेषज्ञलाई देखाउनु राम्रो मानिन्छ । रुघाखोकी हप्ता दिनसम्म पनि निको भएन भने अनिवार्य रूपमा अस्पताल जानुपर्छ । सकेसम्म सबैले वर्षमा १ पटक नभए बढी जोखिम हुनेहरूले अनिवार्य एन्प्mलुएन्जाको खोप लगाउनुपर्छ ।

रुघाखोकीको बढी जोखिम कसलाई हुन्छ ?
वृद्धवृद्धा, गर्भवती महिला, बालबालिका, क्यान्सर, एचआईभी लगायत अन्य रोगले संक्रमित तथा प्रतिरक्षा प्रणाली कम भएका मानिस रुघाखोकी तथा श्वासप्रश्वास सम्बन्धी रोगको जोखिममा पर्छन् । 

सामान्य रुघाखोकी हो वा अन्य भाइरस भनेर कसरी छुट्ट्याउने ?
रुघाखोकी र स्वाइनफ्लु लगायत भाइरसले हुने संक्रमणमा प्रायः सबै लक्षण उस्तै हुने भएकाले रुघाखोकी हो वा अन्य भाइरसको संक्रमण  छुट्ट्याउन गाह्रो हुन्छ । रुघाखोकी सामान्यतया मौसम परिवर्तन हुने बेला र चिसो समयमा सबैजसो व्यक्तिमा हुन सक्छ । रुघाखोकी हो वा अन्य भाइरस भनेर थाहा पाउन परीक्षण नै गर्नुपर्छ । सय डिग्रीभन्दा बढी ज्वरो आएको छ भने अन्य भाइरस हुन सक्छ । त्यस्तो अवस्थामा जाँच गराउनुपर्छ । संक्रमण लामो समयसम्म रहेमा, श्वासप्रश्वासको गति उच्च भएमा र असामान्य लक्षण देखिएमा जँचाउनुपर्छ ।

रुघाखोकी कतिसम्म खतरनाक हुन्छ ?
अन्य रोग लागेर प्रतिरक्षा प्रणाली कम भएका बिरामीमा एन्फ्लुएन्जा भएमा यसले कडा असर गर्छ । बिरामी आईसीयूमा राख्नुपर्ने अथवा अन्य विशेष औषधिको सेवन गर्नुपर्ने हुन सक्छ । तर समयमै उपचार नभएमा कतिपयको मृत्यु नै हुने खतरा रहन्छ ।

यसको उपचार पद्धति के हुन्छ ?
एन्फ्लुएन्जाका पनि विभिन्न प्रकार छन् । लक्षण अनुसार यसको उपचार हुन्छ । जस्तै, स्वाइनफलु जस्तो रोग लागेमा एन्टिभाइरस दिनुपर्छ, जुन गतवर्ष अत्यधिक देखिएको थियो । यस वर्ष हालसम्म देखिएको भने छैन । सबै मानिस गत वर्षदेखि सचेत भएर पनि होला, यस वर्ष त्यसको मात्र नभएर रुघाखोकीकै बिरामी समेत घटेका छन् । त्यस्तै अन्य भाइरसको संक्रमण भएमा नाकबाट वा खकारबाट जाँच गरेर एन्टिबायोटिक औषधि दिइन्छ, जुन सरकारले निःशुल्क उपलब्ध गराएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्