ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

थोकबाट खुद्रा बजारमा खाद्यान्न पुर्‍याउन समस्या

रित्तिँदै खुद्रा पसल

२०७६ चैत, २७  
समाचार
NA
author avatar प्रशान्त खड्का

काठमाडौं । लकडाउन लम्बिएसँगै खुद्रा बजारमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरूको कमी देखिन थालेको छ । उद्योग तथा थोक व्यापारीहरूसँग खाद्यान्न प्रशस्त मात्रामा भए पनि खुद्रा व्यापारीसम्म पुर्‍याउन नसक्दा बजारमा खाद्यवस्तुको कमी देखिएको हो । यद्यपि सरकारले ढुवानीका लागि कुनै अवरोध नगर्ने जानकारी दिएको छ । 

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार बजारमा खाद्यवस्तुको कमी देखिन थालिसकेको छ । केही ठूला व्यापारी तथा थोक विक्रेताहरूसँग सामान भए पनि कामदारहरू नहुँदा ती सामान खुद्रा व्यापारीका पसलसम्म ल्याउन सकिएको छैन । खुद्रा व्यापारीहरू कसैसँग चामल छ, दाल छैन, दाल भएकाहरूसँग चिनी छैन । यसरी विस्तारै बजारमा सामानको कमी हुन थालेको उनले बताए । 

‘हामीसँग सामान सकिन थाल्यो अब के गर्ने भन्दै खुद्रा व्यापारी साथीहरूले फोन गर्न थालेका छन् । तर, यस्तो बेलामा व्यापार संघ एक्लैले मात्र केही गर्न सक्दैन । त्यसैले सरकारले यस विषयमा पहल गर्नुपर्छ,’ उनले भने ।

दैनिक उपभोग्य वस्तुका आपूर्तिकर्ता दुर्गाराज श्रेष्ठले हाल बजारमा चाउचाउ बिस्कुटलगायत वस्तुको कमी देखिन शुरू भइसकेको बताए । ‘अबको १५÷२० दिनमा यी वस्तुको बजारमा अभाव देखिन सक्छ । स्यानिटाइजर, साबुन, डिटरजेन्ट पाउडरलगायत सामान भने पर्याप्त मात्रामा उपलब्ध छन्,’ उनले भने ।
सामान्य अवस्थामा खाद्यान्न ढुवानी गर्ने ट्रकहरूले उद्योगहरूबाट काठमाडौंसम्म सामान ल्याउँदा फर्किने बेलामा पनि ढुवानी पाउने गर्दथे । तर, अहिले दोहोरो ढुवानी नपाउँदा दोहोरो भाडा माग्ने भएकाले उद्योगहरूसँग भएको सामान पनि बजारसम्म ल्याउन नसकिएको उनले बताएका छन् । गाडी चालकहरूले काम गर्न गाह्रो मान्दा पनि समस्या भएको बताइन्छ । 

दोहोरो भाडा तिरेर ल्याउँदा सामान महँगोमा बेच्नुपर्ने अवस्था आउने भएकाले आफूहरूले आपूर्ति नगरेको उनले जानकारी दिए । यसअघि काठमाडौंमा ४ सय जनाले खाद्य वस्तु आपूर्ति गर्ने गरेकोमा हाल ५० जनामात्र सक्रिय रहेको उनले बताए ।

थोक विक्रेताहरूसँग खाद्यान्नको अभाव नभए पनि खुद्रा व्यापारीहरूसम्म पुर्‍याउन नसक्दा समस्या सृजना भएको खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले जानकारी दिए । ‘सामान छ तर किराना पसलसम्म ढुवानी गर्ने कामदार छैनन्,’ उनले भने ।

उद्योगहरूसँग अझै पनि करीब २/३ महीनासम्म पुग्ने खाद्यान्नको मौज्दात छ । तर, उद्योगबाट थोक विक्रेतासम्म सामान ढुवानी गर्न ट्रक व्यवसायीले दोहोरो ढुवानी मागेको दाल चामल तेल संघका अध्यक्ष सुबोधकुमार गुप्ताले जानकारी दिए । सरकारले ढुवानी सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ । 

उद्योगहरूले आफ्नै गाडीमार्फत ढुवानी गर्न पनि समस्या छ । बाटोमा होटेलहरू खुल्ला नभएका कारण गाडीका स्टाफहरूले भोकभोकै गाडी चलाउनुपर्ने अवस्था छ । त्यसो हुँदा उनीहरू जोखिम लिएर गाडी चलाउन तयार नभएको उनको भनाइ छ । अहिले खाद्यान्नका करीब ४० प्रतिशत उद्योगहरू मात्र चलेका छन् र ती उद्योग २५ प्रतिशत क्षमतामा मात्रै काम गरिरहेको उनले बताए ।

सरकारी सस्थानसँग खाद्यान्न अभाव छैन
साल्ट ट्रेडिङ कर्पोरेशनसँग हाल ७ हजार टन चिनी, १ लाख १५ हजार टन नुन मौज्दात छ भने ४५ हजार टन नुन भारतबाट लोड भएर नेपाल आउने क्रममा रहेको साल्ट ट्रेडिङ कर्पोरेशनका महाप्रबन्धक कुमार राजभण्डारीले जानकारी दिए ।

यस्तैगरी खाद्य तथा व्यापार कम्पनीसँग पनि हाल २२ हजार मेट्रिक टन चामल मौज्दात रहेको छ । जनकपुर र बर्दियाको राजापुरमा रहेको राइस मिल अबको केही दिनमै सञ्चालनमा ल्याउने तयारी भइरहेको खाद्य तथा व्यापार कम्पनीका कार्यकारी निर्देशक नेत्र सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्