ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मध्यपहाडी लोकमार्गको विकल्प बन्दै बेनी–दरबाङ सडक

२०७६ माघ, ६  
प्रदेश गण्डकी
NA
author avatar ध्रुवसागर शर्मा


म्याग्दी । मध्यपहाडी लोकमार्गले म्याग्दीलाई समेटेको छैन । यद्यपि म्याग्दीको बेनी–दरबाङ हुँदै ढोरपाटन जोड्ने सडकलाई उक्त लोकमार्गको बागलुङ खण्डको विकल्पको रूपमा लिन थालिएको छ ।

मध्यपहाडी लोकमार्गको सडक विस्तार बेनी–दरबाङ हुँदै हुनुपर्ने भए पनि जिल्लाको केन्द्रीय तहमा पहुँच पुग्न नसक्दा यसअघि उक्त सडकको म्याग्दी हुँदै विस्तार हुनुपर्ने सडक अन्यत्र सारिएको थियो । २०६२ सालमा बेनीदेखि दरबाङसम्म पुगेको मोटरबाटोको ट्र्याक धारापानी, ताकम हुँदै अहिले मुनासम्म पुगिसकेको छ । पश्चिम म्याग्दी क्षेत्रमा विस्तार गर्नेगरी तोराखेतसम्म पुगेको सडकलाई तत्कालीन माओवादी पार्टीले सशस्त्र द्वन्द्वकै समयमा दरबाङसम्म पुर्‍याएको थियो ।

‘सशस्त्र द्वन्द्वकै समयमा माओवादीले सडक विकासको काम पनि सँगसँगै अगाडि बढाएको थियो,’ पूर्वसांसद गोविन्द पौडेलले भने, ‘दरबाङसम्म सडक पुर्‍याउन जनताबाटै झन्डै ३० लाख रुपैयाँ चन्दा संकलन गरी खर्च गरिएको थियो ।’ मुनासम्म पुगेको सडकलाई ढोरपाटन हुँदै बागलुङको बुर्तिबाङमा जोड्न सके मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रूपमा यो सडक प्रयोग गर्न सकिने सम्भावना रहेको उनले बताए ।

मालढुंगादेखि बागलुङ हुँदै बुर्तिबाङसम्मको सडकको दूरीभन्दा बेनी–दरबाङ–मुना–ढोरपाटन हुँदै बुर्तिबाङ जोडिने दूरी करीब २० किलोमिटर कम पर्छ । त्यसैले मध्यपहाडी लोकमार्गका सवारीसाधन म्याग्दी हुँदै ओहोरदोहोर गर्ने वातावरण सृजना गर्न सडकको ट्र्याक निर्माण र स्तरोन्नति गर्नुपर्ने पौडेलको भनाइ छ । मुनादेखि ट्र्याक निर्माण गरी ढोरपाटन हुँदै बुर्तिबाङमा मध्यपहाडी लोकमार्गसँग जोडिँदै छ । यस्तै ढोरपाटनबाट ट्र्याक बनाएर रुकुमसम्म पनि जोड्ने योजना बनाइएको छ । हाल सडकको ट्र्याक निर्माण भएको मुनासम्म नै हिउँदको समयमा सवारीसाधन सञ्चालन हुने गरेका छन् । तर सडकको मर्मत र स्तरोन्नति नहुँदा बर्खाको समयमा यातायात अवरुद्ध हुने गरेको छ ।

भौगोलिक रूपमा जिल्लाको पश्चिम क्षेत्रका बासिन्दा लाभान्वित हुने र दीर्घकालीन रूपमा राष्ट्रिय महŒव राख्ने भए पनि बजेटको अभावमा यो सडकको स्तरोन्नति हुन सकेको छैन । लोकमार्गकै वैकल्पिक सडकका रूपमा विकास गर्न सकिने सम्भावना हुँदाहुँदै पनि अहिलेसम्म केन्द्रीयस्तरबाट यस सडकलाई महत्त्वका साथ नहेरिएको स्थानीयवासीको गुनासो छ । सडक विस्तारका लागि भू–बनोटको सहजता र दूरीको हिसाबले पनि मध्यमहाडी लोकमार्ग म्याग्दीबाटै बनाउनुपर्ने देखिन्छ ।

बेनी–दरबाङ–धारापानी सडक खण्डको कालोपत्र र स्तरोन्नतिमा ८० करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ । सदरमुकाम बेनीदेखि दरवाङ हँुदै ताकमको धारापानीसम्मको करीब २९ किलोमिटर लामो सडक स्तरोन्नति सहित कालोपत्रका लागि अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्कामा लैजान स्वीकृति दिएको छ । म्याग्दीको ‘लाइफ लाइन’ मानिएको यो सडक खण्डलाई अहिले निकै चासोका साथ हेर्न थालिएको छ । 

बेनी–दरबाङ सडक सञ्चालन भएपछि म्याग्दीलाई मात्रै होइन, यसले बागलुङको पश्चिम भेगका नागरिकलाई समेत सुविधा पुगेको छ । दरबाङदेखि ओखरबोट–सोले हुँदै बागलुङको तमानसम्म सडक पहुँच पुगिसकेपछि तमान र लामेलाका बासिन्दाले समेत यही सडक प्रयोग गर्दै आएका छन् । 

अहिले पनि म्याग्दीको बेनी र दरबाङबाट तमान क्षेत्रमा यातायात सेवा सञ्चालन हुँदै आएको छ । यसले पनि यो सडक खण्ड म्याग्दीका लागि मात्रै नभई धेरै जिल्लाका लागि उपयोगी देखिएको छ । त्यसैले मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको ट्र्याक निर्माणसँगै मर्मत, स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा जुट्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्