ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कृषि मन्त्रालयले थाल्यो फौजी कीरा रोकथामको काम

२०७७ बैशाख, १  
समाचार
NA
author avatar प्रशान्त खड्का

काठमाडौं । बालीनालीमा क्षति पुर्‍याउने फौजी कीरा रोकथामका लागि मन्त्रालयले काम शुरू गरेको छ । शनिवार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केन्द्रीयस्तरमा काम गर्ने निकाय र सातओटै प्रदेशका निकायसँग यसको रोकथामका लागि छलफल गरेको छ ।

झापा, रामेछाप, चितवन, स्याङ्जा, कास्की लगायत जिल्लामा लगाइएका मकै बालीमा यस वर्ष पनि फौजी कीराको आक्रमण शुरू भइसकेको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए । अहिले शुरुआती चरणमा ५–६ ओटा जिल्लामा मात्र यसको असर देखिन थालेकाले रोकथामका लागि काम भइरहेको उनको भनाइ छ । 

‘अहिले नै त्यति ठूलो मात्रामा यसको असर भइसकेको छैन,’ उनले भने, ‘त्यसैले शुरुवाती चरणमै यसको असर कम गर्ने प्रयास भइरहेको छ ।’
गतवर्ष पनि ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नवलपरासी, चितवन लगायत जिल्लाका मकैबालीमा फौजी कीराको असर देखिएको थियो । उक्त समयमा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले भारतमा त्यसको नमूना परीक्षण गरी नेपालमा पहिलोपटक फौजी कीरा भेटिएको औपचारिक रूपमा पुष्टि गरेको थियो ।

हिउँदे मकैमा यसले त्यतिधेरै असर नगरे पनि वर्षे मकैमा बढी असर गर्ने पाइएको छ । त्यसैले ‘अहिलेदेखि नै सबै प्रदेशबाट फौजी कीराको असर र सुरक्षाका उपायबारे जानकारी लिने काम भइरहेको छ,’ प्रवक्ता केसीले भने ।

लकडाउनको समयमा पनि रेडियो, टेलिभिजन लगायत सञ्चार माध्यमबाट चेतनामूलक कार्यक्रम प्रसारण गर्ने र विषादीको स्टकबारे समेत जानकारी लिने काम भइरहेको मन्त्रालयले बताएको छ ।

के हो फौजी कीरा ?
मकैको पात, डाँठ, घोगा र पछि बोट नै सखाप पार्ने यो अमेरिकी रैथाने कीरा भएको विभिन्न अनुसन्धानबाट पुष्टि भएको छ । सन् २०१६ मा पश्चिम अफ्रिकामा देखिएको यो कीरा १ रातमा १०० किलोमिटरसम्म यात्रा गर्न सक्ने वैज्ञानिकहरूको दाबी छ, जसले गर्दा सन् २०१८ मै एशिया पहिलोपटक भारतमा देखिएको थियो । यसरी भारतका विभिन्न प्रान्त हुँदै बंगलादेश, श्रीलंका, म्यानमा, चीन हुँदै हाल नेपालमा समेत यसको प्रकोप देखिएको छ । तर धानमा लाग्ने फौजी कीरा र मकैमा लाग्ने फौजी कीरा भने फरक भएको विज्ञहरूले बताएका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्