ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सर्वोच्चको आदेश कार्यान्वयनमा ढिलाइ : भारतीय क्वारेन्टाइनमा बसेका नेपाली जोखिममा

२०७७ बैशाख, १  
समाचार
Image Not Found

वैशाख १, काठमाडौं । सर्वोच्च अदालतले सीमामा फसेका नेपाली नागरिकलाई स्वदेश ल्याउन दिएको आदेश कार्यान्वयनमा सरकारले ढिलाइ गरेको छ । चैत २४ गते सर्वोच्चले सरकारका नाममा परमादेश जारी गर्दै उनीहरुलाई नेपाल ल्याई अनिवार्य क्वारेन्टाइनमा राख्न भनेको थियो तर सीमापारि फसेका नेपाली मजदूरलाई तत्कालै स्वदेश फर्काउने विषयमा कुनै परिपत्र नआएको जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ । 

सर्वोच्च अदालतले सीमापारि फसेका नेपालीको उद्धार गरी स्वदेशकै क्वारेन्टाइनमा राख्न आदेश दिएको भए पनि सरकारका तर्फबाट स्थानीय प्रशासनमा कुनै परिपत्र नआएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । उनले भने, ‘परिपत्र नआउँदासम्म भारतीय क्वारेन्टाइनमा बसेकालाई नेपाल ल्याउन सकिने अवस्था छैन ।’ बैतडीसँग सीमा जोडिएका भारतको झुलाघाटका विभिन्न ठाउँमा २५० भन्दा बढी नेपाली मजदूर भारतीय क्वारेन्टाइनमा बसेका छन् । 

नेपाली मजदूरलार्ई स्वदेश फर्काउन सर्वोच्चले दिएको आदेशका बारेमा एफएम रेडियोबाट सुनेको र आफूहरुलाई छिट्टै स्वदेश फर्काउँछन् भन्ने आशा पलाएको बैतडीको पुर्चौंडी नगरपालिका–८ मल्लादेहीका दीर्घराज जोशीले बताउनुुभयो । ‘भारतीय क्वारेन्टाइनमा आफूहरुलाई खान, बस्न र पानीको निकै समस्या छ’, उनले भने, ‘एकै कोठामा कोचाकोच गरेर बस्नु परिरहेको छ ।’ 

कोरोनाको जोखिम न्यूनीकरणका लागि दूरी कायम गरेर बस्नुपर्ने भए पनि आफूहरु कोचिएर बस्नु परिरहेको अर्का नेपाली मजदूर रमेश जोशीको भनाइ छ ।  सर्वोच्च अदालतले दिएको आदेश छिटो कार्यान्वयन गर्न पनि मजदूरले सरकारलाई आग्रह गरेका छन् । भारतीय क्वारेन्टाइनमा बसोबासको सहज व्यवस्था नहुँदा अझै पनि ट्युबमार्फत जोखिम मोलेर नेपाल फर्कने क्रम भने रोकिएको छैन । 

भारतीय क्वारेन्टाइनमा बसेका नेपाली समस्यामा

लकडाउनपश्चात सीमा बन्द भएपछि भारतको झुलाघाटका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका नेपाली मजदूरलाई बसोबासको समस्या भएको छ । क्वारेन्टाइनमा बसेका नेपालीलाई खानपिनको व्यवस्था भारतीय प्रशासनले गरेको भए पनि उनीहरु एकै कोठाको भुइँमा बस्नुपर्ने बाध्यता रहिआएको छ । सीमानाका बन्द भएपछि अलपत्र परेका नेपालीलाई भारतीय प्रशासनले क्वारेन्टाइनमा राखेको हो । 

२५१ नेपाली मजदूरलाई झुलाघाटको तालेश्वर धर्मशाला, खरक्युडा, रज्युडा र जामीरपानीका आधारभूत विद्यालयका क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका नेपाली मजदूर आफैँसँग भएको कपडा बिछ्याएर भुइँमै सुत्न बाध्य भएको भारतबाट फर्केका सुर्नया–८ का मानबहादुर बोहराले बताए । उनले भने, ‘क्वारेन्टाइनमा कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहिआएको छ ।’ 

झुलाघाटका तीन ठाउँमा बसिरहेका नेपाली मजदूरले एकै कोठामा कोचाकोच गरेर बस्नुपरेको बताएका छन् । खानाको लागि भारत सरकारले व्यवस्था गरेको भए पनि बसोबासको भने निकै समस्या भएको पुरचौंडी नगरपालिका–३ न्वादेउका जोगे पार्कीले गुनासो गरे । ‘एकै विद्यालयमा ८५ जना बस्नु परिरहेको छ’, उनले भने, ‘हामीसँग भएको कपडा बिछ्याएर रात काट्नुपर्ने बाध्यता छ ।’ स्वदेश फर्कन पाए एक महीना भने पनि क्वारेन्टाइनमा बस्न तयार भएको मजदूरले बताएका छन् ।

भारतमा क्वारेन्टाइनमा बसेका नेपाली मजदूरलाई समस्या भएको भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए । क्वारेन्टाइनमा बसेका नेपालीको खानपिन तथा बसोबास व्यवस्था मिलाउन पिथौरागढ प्रशासनलाई आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्