ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बाँकेमा सुक्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढ्यो 

२०७६ माघ, ७  
प्रदेश ०५
Image Not Found
author avatar रीताकुमारी शाही

बाँके । बाँकेको नेपाल–भारत सीमा क्षेत्रमा अलपत्र परेको सुक्खा बन्दरगाह ( इन्ट्रिग्रेटेड कस्टम चेकपोस्ट) निर्माण प्रक्रिया अगाडि बढाइएको छ । झन्डै ९ वर्षको पर्खाइपछि बन्दरगाह निर्माणको काम अघि बढ्ने भएको हो । बन्दरगाह निर्माणका लागि बोलपत्र आह्वान भइसकेको संघीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इन्जिनीयर होमनाथ भुसालले बताए ।

बोलपत्र आह्वान भए पनि निर्माणको काम कहिलेदेखि शुरू हुन्छ भन्नेबारे आफूहरूलाई कुनै जानकारी नभएको इन्जिनीयर भुसालको भनाइ छ । सबै प्रक्रिया केन्द्र सरकार र भारतीय पक्षबाट हुने भएकाले त्यसबारे आफूहरूलाई खासै जानकारी नभएको उनले बताए । बन्दरगाह निर्माणका लागि नेपाल सरकारले जग्गा मात्र उपलब्ध गराउने र अन्य काम भारत सरकारको तर्फबाट हुने सम्झौता भएको उनले जानकारी दिए । ‘सुक्खा बन्दरगाह निर्माण क्षेत्रमा केही कार्यालय संरचनाबाहेक अन्य पूर्वाधार निर्माणका काम भएको छैन,’ उनले भने, ‘भारतले नै बनाउने सम्झौता भएकाले हामीले पर्खिनुबाहेक अरू कुनै विकल्प छैन ।’ 

बन्दरगाह निर्माण गर्न बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरमा करीब ९१ बिगाहा जग्गा अधिग्रहण गरिएको छ । अधिग्रहण गरिएको कुल जग्गामध्ये ६७ बिगाहामा कार्यालय, गोदाम लगायत संरचना निर्माण हुने र २४ बिगाहा जग्गा सडकका लागि छुट्ट्याइएको इन्जिनीयर भुसालले जानकारी दिए ।

सो बन्दरगाह निर्माण भएमा नेपालगञ्ज भन्सार कार्यालयबाट हुने सेवा प्रवाह व्यवस्थित हुने र यसको प्रत्यक्ष लाभ मुलुककै अर्थतन्त्रमा पर्ने यस क्षेत्रका उद्योगी, व्यापारीको बुझाइ छ । नेपालका प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जिल्लामा अहिले उद्योग, व्यापार बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी भारत र नेपालको आयात निर्यात सहज व्यवस्थापन गर्न सुक्खा बन्दरगाह कोसेढुंगा सावित हुने व्यापारीको विश्वास छ । सो बन्दरगाहको निर्माण ९ वर्षअघि नै शुरू भए पनि अहिलेसम्म जग्गा अधिग्रहण र तारबार गर्नेबाहेक अन्य काम हुन नसकेको नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्