ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अर्थशास्त्रको पाठ्यपुस्तक लेखनमा अस्वस्थ प्रतिस्पर्धा छ

२०७६ माघ, ८  
अन्तरवार्ता
Image Not Found
सुरेन्द्र पनेरू, लेखक तथा शिक्षक

पछिल्लो समय नेपालमा अर्थशास्त्र विषयको पाठ्यपुस्तक लेखन कार्यमा अस्वस्थ प्रतिस्पर्धा भएको बताइन्छ । पाठ्यपस्तक लेखन कार्यमा भएको अस्वस्थ प्रतिस्पर्धाले शैक्षिक गणस्तरमा कस्तो खालको असर पारेको छ त ? प्रस्तुत छ, अर्थशास्त्र विषयका विभिन्न तहका पाठ्यपुस्तक लेखक, शिक्षक र शैक्षिक संस्थाहरूको व्यवस्थापकको रूपमा कार्यरत सुरेन्द्र पनेरूसँग आर्थिक अभियानका मिलन विश्वकर्माले गरेको कुराकानीको सार :

अर्थशास्त्र विषयको माध्यमिकदेखि उच्च तहका पाठ्यपुस्तक लेखनमा चलिरहेका प्रवृत्तिबारे तपाईंको धारणा के छ ?
नेपालमा माध्यमिक तह (कक्षा ९ र १०) मा पाठ्यक्रम विकास केन्द्रले लागू गरेको पाठ्यक्रमको आधारमा पाठ्यपुस्तक तयार गरिन्छ, जुन जनक शिक्षा सामग्री केन्द्र मार्फत प्रकाशन र वितरण हुँदै आएको छ । उक्त पाठ्यक्रम अनुसार कक्षा १० को ऐच्छिक प्रथम विषयको रूपमा अर्थशास्त्र राखिएको छ । मैले सो पाठ्यपुस्तकमा सह–लेखकको भूमिका निर्वाह गरेको छु ।

मैले अर्थशास्त्रका पाठ्यपुस्तक लेखन कार्य २०५६ देखि नै शुरू गरेको थिएँ । त्यो क्रम अहिलेसम्म जारी छ । मैले कक्षा १० देखि स्नातक तहसम्मका लागि अर्थशास्त्रको पाठ्यपुस्तक लेख्ने गरेको छु । यी पुस्तक नेपाल र अंग्रेजी दुवै भाषामा बजारमा उपलब्ध छन् ।

माध्यमिक तहदेखि उच्च शिक्षासम्म अर्थशास्त्र विषयका पाठ्यपुस्तक लेखनमा निजीक्षेत्रलाई खुला छोडिदिँदा अस्वस्थ प्रतिस्पर्धा हुँदै आएको छ । नेपालमा अर्थशास्त्र विषयका पाठ्यपुस्तक शुरूआती समयमा एक/दुई जनाले मात्र लेख्ने गर्थे । अहिले आएर दर्जनौं लेखक मिलेर लेख्ने प्रचलन शुरू भएको छ । यो प्रवृत्तिको थालनी हुनुमा निजीक्षेत्रका प्रकाशन गृहहरूको अस्वस्थ प्रतिस्पर्धा मुख्य कारक हो ।

उक्त परिस्थतिमा अर्थशास्त्र विषय व्यवस्थापन, मानविकी, शिक्षा तथा अन्य केही विद्यामा पनि पठनपाठन हुँदै आएको छ । तर, गुणस्तरीय शिक्षा उपलब्ध गराउन भने अझै सकिएको छैन । अर्थशास्त्रका विषय शिक्षकहरूले आफूले अध्यापन गरिरहेको शैक्षिक संस्थामा आफ्ना पुस्तक प्रयोग गराउने प्रचलन बढेर गएको छ । साथै, प्रकाशन गृहले पनि व्यावसायिक उद्देश्य पूर्ति गर्न त्यसलाई बढावा दिएको पाइन्छ । फलस्वरूप एउटै पाठ्यक्रममा पनि फरक फरक पुस्तक आउनाले कतिपय विषयवस्तुमा एकरूपता नआएको, स्पष्टता नरहेको र विरोधाभाषपूर्ण कुरा पनि समावेश भएको देखिन्छ । साथै विद्यार्थीलाई उपयुक्त पुस्तक छनोट गर्न पनि कठिनाइ हुँदै आएको छ ।

सरकार माध्यमिक तहमा सर्वमान्य हुनेगरी एउटै पुस्तक लागू गर्न सफल भएको छ । तर उच्च माध्यमिक र विश्वविद्यालय तहमा अझै पनि स्पष्ट मापदण्ड प्रयोगमा आउन सकेको छैन । यो परिप्रेक्ष्यमा उच्च माध्यमिक तथा विश्वविद्यालय तहका पाठ्यपुस्तकका लागि पनि निश्चित मापदण्ड तय गर्नुपर्छ । यस्तै पाठ्यपुस्तक लेख्ने आधिकारिक लेखकको छनोट गरी यस्ता पाठ्यपुस्तक लागू गर्न अत्यावश्यक भएको छ ।

नेपालमा पठनपाठन हुँदै आएको अर्थशास्त्र विषयले विद्यार्थीलाई विदेशी विश्वविद्यालयमा अध्ययन गर्न कत्तिको सहज भएको छ ?
पछिल्लो समय अधिकांश निजी विद्यालय/कलेजमा अर्थशास्त्र विषय अंग्रेजी माध्यमबाट अध्यापन हुँदै आएको छ । ती विद्यालय तथा कलेजबाट उच्च शिक्षाका लागि विदेश गएका विद्यार्थीले निकै सहज भएको बताउँदै आएका छन् । यसको अर्को कारण अर्थशास्त्रको पाठ्यक्रममा समावेश भएका विषयवस्तु पनि हुन् । हाम्रो पाठ्यक्रमले विदेशी विश्वविद्यालय तहमा प्रवेश गर्न प्रशस्त आधार प्रदान गर्दछ । 

निजी तथा सामुदायिक शैक्षिक संस्थाहरूमा अर्थशास्त्रको अध्यापन गराउन एउटै मापदण्डका पुस्तक तथा दक्ष शिक्षक भएमा विद्यार्थीको भविष्य उज्ज्वल हुनेमा दुईमत छैन । 

यद्यपि अर्थशास्त्रलाई दैनिक जीवनसँग जोडेर पढाउने क्षमता भएका शिक्षक पनि हामीकहाँ अभाव छ । साथै शिक्षकले कति पढाउने र किन पढाउने भन्ने विषयमा पनि स्पष्ट मार्गदर्शन तयार छैन । अधिकांश शिक्षकले दैनिक पाठयोजना तयार गरेर पठनपाठन गराउने प्रचलन अपवादको रूपमा पाइन्छ । 

आगामी दिनमा अर्थशास्त्र विषयको शिक्षणमा कस्तो खालको सुधारको आवश्यकता देख्नुहुन्छ ?
अर्थशास्त्र विषयमा समाविष्ट विषयवस्तु सैद्धान्तिक धरातलमा रहेर तयार गरिएको हुन्छ । अनुसन्धानबाट प्राप्त उपलब्धि पाठ्यपुस्तकमा प्रस्तुत गरिएको हुन्छ । त्यस्ता अनुसन्धान मानव समाजका आर्थिक क्रियाकलापका आधारमा गरिने भएकाले हरेक विषयवस्तुको सम्बन्ध हाम्रो आर्थिक जीवनसँग जोडिएको छ । यस अर्थमा अर्थशास्त्रको अध्यापन गर्ने शिक्षकको शिक्षण कार्यकुशलताले महŒवपूर्ण भूमिका निर्वाह गर्दछ । त्यसैले शिक्षकहरूलाई कक्षामा प्रवेश गर्नुभन्दा पहिले अर्थशास्त्र कसरी पढाउने, यसका विषयवस्तुलाई दैनिक जीवनमा कसरी जोड्ने, कसरी विद्यार्थीलाई आकर्षित गर्ने लगायत विषयमा तालीम दिन आवश्यक छ ।

तालीम प्राप्त र अनुभवी शिक्षकबाट पठनपाठन गराउँदा यो विषय सहज, सरल र लोकप्रिय बन्न सक्छ । विश्वविद्यालय शिक्षा समाप्त गर्नेबित्तिकै शिक्षण पेशा अवलम्बन गर्ने, दीर्घकालीन प्रतिबद्धता नराख्ने, पूर्ण तयारी नगर्ने र जागीरे मानसिकता मात्रै राख्ने शिक्षकबाट गुणस्तरीय शिक्षाको अपेक्षा गर्न सकिँदैन । यो पेशामा लागिपरेका अनुभवी र दक्ष शिक्षकलाई पेशाप्रति स्थायित्व, सम्मान र राम्रा अवसरको ढोका खुला राख्न सक्नुपर्छ । गुणस्तरीय शिक्षकका लागि प्रशस्त सम्भावना पनि छन् ।

विकसित मुलुकहरूमा शिक्षक बन्न निश्चित अवधिको तालीम लिनुपर्ने व्यवस्था छ । तर नेपालमा त्यस्तो व्यवस्था हालसम्म प्रयोगमा छैन । कसैलाई आफ्नो रोजगारीको आवश्यकता परिपूर्ति गर्ने मूल्यमा हजारौं विद्यार्थीको सुन्दर भविष्यमाथि असर पर्नेगरी शिक्षण पेशा गर्नु÷गराउनु सामाजिक न्यायको सिद्धान्त विपरीत हुन्छ ।

नेपालका पाठ्यपुस्तक राज्यले नै निर्धारण गरेको पाठ्यक्रममा आधारित छन् । तर यूरोप, अमेरिकातिर पाठ्यपुस्तकले पाठ्यक्रम डो¥याएको पनि पाइन्छ । हाम्रो देशमा यो प्रचलन किन नआएको होला ?
वास्तवमा पाठ्यक्रम तयार गर्दा जीवनोपयोगी ज्ञान र शीपलाई आधार बनाइन्छ । देश, काल, परिस्थिति अनुसार सम्बन्धित विषयमा पर्याप्त अनुसन्धान गरी पाठ्यक्रम निर्माण गरिन्छ । तर हामीकहाँ पाठ्यक्रम बनाउँदा यस प्रकारको अभ्यास बृहत् रूपमा भएको छैन । अन्य देशमा प्रचलनमा रहेका प्रवृत्ति नै आत्मसात् गर्दै पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरिन्छ । तर त्यस प्रकारको पाठ्यक्रम देशको परिवेशसँग मिल्छ वा मिल्दैन भन्ने विषयमा अध्ययन गरिँदैन । साथै नेपालको सन्दर्भमा कुनै विद्वान्ले अनुसन्धान गरी तयार गरेको पुस्तकलाई आधार मानी पाठ्यक्रम तयार गर्ने संस्थागत प्रावधान पनि छैन । फलस्वरूप विदेशी विश्वविद्यालयमा जस्तो अनुसन्धानबाट प्राप्त तथ्यलाई आधार मानेर पाठ्यक्रम बनाउने समय आइसकेको छैन ।

नेपालमा कुनै पनि तहको पाठ्यपुस्तक तयार पार्न लेखकहरूलाई के कस्ता समस्या छन् ?
पाठ्यपुस्तक लेख्नुलाई बौद्धिक क्षमता प्रस्तुत गर्ने माध्यमको रूपमा लिइन्छ । बौद्धिक व्यक्तिले व्यावसायिक रूपमा आफ्नो ज्ञान र अनुभवलाई पाठ्यक्रमको माध्यमबाट पाठकसम्म पुर्‍याउन पुस्तक लेख्नुपर्ने हुन्छ, छाप्नुपर्ने हुन्छ, वितरण गर्नुपर्ने हुन्छ । तर एउटै व्यक्तिसँग यी सबै कार्य गर्न सम्भव छैन । फलस्वरूप पाठ्यपुस्तक लेखकले आफ्नो पुस्तक प्रकाशन र विक्री गर्ने प्रकाशन गृहहरूलाई जिम्मा दिन्छन् । तर नेपालको परिप्रेक्ष्यमा लेखकहरूले आफूले पुर्‍याएको योगदान अनुरूप  प्रकाशन गृहबाट पारदर्शी रूपमा सन्तोषजनक पारिश्रमिक नपाएको गुनासो छ ।

लेखकले आफ्ना पुस्तक बजारमा छ्यापछ्याप्ती उपलब्ध भए पनि सीमित पुस्तक बापत मात्र ‘रोयल्टी’ पाउने हुँदा कतिपय अवस्थामा प्रकाशन गृह परिवर्तन गर्नुपर्ने बाध्यता पनि छ । कतिपय सन्दर्भमा उच्च बौद्धिक क्षमता राख्ने लेखकहरू आफ्नो बौद्धिक शोषण भएको महसूस गरी यो क्षेत्रबाट पलायन पनि भएका छन् । साथै नेपालमा प्रकाशित पुस्तकलाई बजार सीमितता छ । यहाँ छापिएका पुस्तक विदेशमा शायदै विक्री हुन्छन् । तर विदेशमा छापिएका पुस्तक ठूलो संख्यामा नेपालमा विक्री हुन्छन् ।

नेपालमा प्रयोग हुने कतिपय पाठ्यपुस्तक विदेशी पुस्तकको अनुवाद गरिएको जस्तो पनि देखिन्छ । यसबारे के भन्नुहुन्छ ?
शुरूका दिनहरूमा नेपालमा उच्च शिक्षाका लागि शैक्षिक संस्थाहरू व्यापक रूपमा बढ्दै गर्दा विदेशी किताबमा निर्भर हुनुपर्ने बाध्यता थियो । तर समय क्रमसँगै नेपाली लेखकले नै बजारको आवश्यकता अनुसार पुस्तक लेख्ने प्रचलन बढेर गएको छ । फलस्वरूप विदेशी पुस्तकका सामग्री हुबहु राख्ने प्रवृत्ति कम हुँदै गएको छ । पाठकको चेतनाको स्तर जानु तथा नियामक संस्थाहरूको निगरानी पनि सशक्त ढंगले बढेकाले यस्तो प्रवृत्तिमा कमी आएको हो । अहिले त्यो समस्या धेरै मात्रामा हटिसकेको छ । साथै अहिले त सम्बन्धित विषयवस्तुको आधिकारिक स्रोत जाँच गर्ने सुविधा पनि आइसकेको छ । त्यसले गर्दा पनि त्यो समस्या समाधान हुँदै गएको छ । 

अर्थशास्त्र अहिले माध्यमिक तहबाट मात्रा पढाइँदै आएको छ । वास्तवमा यो कुन तहबाट पढाउन आश्यक छ ?
नेपालमा माध्यमिक तहबाट अर्थशास्त्र विषयको पठनपाठन हुन्छ । जबकि अंग्रेजी, विज्ञान, गणित जस्ता विषय आधारभूत तहबाटै शुरू गरिन्छ । आधारभूत तहबाटै अर्थशास्त्र विषय पठनपठन गराउने प्रसंग उठाइयो भने हासोको विषय बन्न सक्छ । तर नयाँ पुस्तालाई बदलिँदो आर्थिक जीवनसँग साक्षात्कार गर्दै लैजान आधारभूत तहदेखि नै अर्थशास्त्र पढाउन आवश्यक छ । त्यसका लागि दैनिक जीवनका सामान्य आर्थिक गतिविधि समेट्नेगरी पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गर्नुपर्छ ।

जीवनको हरेक पक्षसँग अर्थशास्त्रका विषयवस्तु जोडिन्छ । त्यसैले व्यक्तिले दैनिक जीवनमा प्रयोग गर्ने/अपनाउने विषयवस्तु समावेश गरी पाठ्यक्रम र पाठ्यपुस्तक आवश्यक देखिन्छ । यसो गरेमा कक्षा ९ मा पुग्दा विद्यार्थीले अर्थशास्त्र निकै सजिलो विषयको रूपमा लिनेछन् । तर अहिले एकैचोटि माथिल्लो तहमा गएर यो विषय पढ्नुपर्दा विद्यार्थीलाई गाह्रो महसूस हुने गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्