ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

दैनिक उपभोग्य वस्तुको मूल्य बढ्यो 

२०७७ बैशाख, ४  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । लकडाउनका बेला अत्यावश्यक उपभोग्य वस्तुको मूल्य बढ्न र अभाव हुन नदिने दाबी सरकारले गरे पनि बजारमा पछिल्लो समय दैनिक उपभोग्य दाल, चामल, तेललगायत खाद्य वस्तुको मूल्य बढेको छ । 

लकडाउनका कारण सामानको ढुवानी खर्च बढेको भन्दै व्यवसायीहरूले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेका छन् । आपूmहरूले सामान ढुवानी गर्दा भाडा धेरै तिर्नुपरेको भन्दै मूल्य बढाएर बेचेको व्यापारीहरूले नै स्वीकार गरेका छन् । 

एक महिनाअघि प्रतिकिलो ९०–१०० रुपैयाँमा पाइने मुसुरो दालको खुद्रा मूल्य अहिले १२५ भन्दा माथि पुगेको छ । त्यसरी नै मास, रहर र मुंगको दालको पनि मूल्य बढेको छ । मासको दाल प्रतिकिलो १४० बाट १६०, रहरको दाल प्रतिकिलो १४० बाट १६० तथा मुंगको दाल प्रतिकिलो १५० बाट बढेर १८० रुपैयाँ पुगेको छ । हरेक ब्रान्डको चामलमा प्रतिबोरा १०० रुपैयाँसम्म बढाएर बेच्ने गरेको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । सनप्mलावर र भटमासको तेलसमेत प्रतिलिटर २० रुपैयाँसम्म बढाएर बेच्नुपर्ने उनले बताए । यी बाहेकका उपभोग्य वस्तुमा पनि यसै अनुपातमा मूल्य बढेको छ । यद्यपि केही ठूला स्टोरहरूले पुरानै भाउमा उपभोग्य वस्तु विक्री गरेको दाबी गरिरहेका छन् ।

खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले ट्रकहरूले उद्योगबाट सामान ढुवानी गरी ल्याउँदा बढी भाडा लिने गरेकाले खाद्यान्नलगायत सामानको मूल्य बढेको बताए । 

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ पनि ढुवानीको भाडा बढी तिर्नुपरेको बहानामा थोक व्यापारीहरूले सामानको मूल्य बढाएको बताउँछन् । ‘सामान्य अवस्थामा १०० रुपैयाँ पर्ने सामानको मूल्य बढाएर ११० रुपैयाँसम्म लिए पनि त्यसको बिल उपलब्ध गराउनमा थोक विक्रेताहरूले अनाकानी गर्छन्,’ उनको आरोप छ । 

थोक विक्रेताहरूले सरकारसमक्ष खाद्यान्नको स्टक धेरै भएको र मूल्य नबढेको जानकारी गराए पनि खुद्रा व्यापारीहरूसँग ढुवानी मूल्य र ढुवानी गर्ने कामदारहरूलाई बढी ज्याला तिर्नुपरेको भन्दै बढी मूल्य असुलेको र नक्कली बिल दिने गरेको खुद्रा व्यापारीहरूको गुनासो छ ।

तर, यसरी कामदार र ढुवानी खर्चमा आवश्यकभन्दा बढी तिरिएको मूल्यलाई बिलमा समावेश गर्न नमिल्ने भएकाले वृद्धि भएको मूल्यको बिल उपलब्ध गराउन नसकिएको थोक व्यापारीहरूले बताएका छन् ।

थोकमा नै बढी मूल्य तिर्नु परेपछि खुद्रा व्यापारीहरूले समेत मूल्य बढाएर बेच्नुपरेको र मूल्य बढाएको दोषचाहिँ आपूmले पाएको खुद्रा व्यापारीको गुनासो छ । 

पेट्रोलियम पदार्थको मूल्य घट्दासमेत ढुवानी भाडा नघटाउनु र संकटका बेलामा कामदार र ढुवानी खर्च बढेको भन्दै सामानको मूल्यमा मनोमानी गर्न खोज्नुमा आयातकर्ता र उद्योगी दुवै दोषी भएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए । ‘व्यवसायीहरूले कामदारको खर्च र ढुवानी खर्च बढेको नाममा खाद्य वस्तुको मूल्य वृद्धि गर्नु आंशिक सत्य हो । त्यसैले व्यवसायीहरूको गलत मानसिकताका कारण खुद्रा व्यापारीसँगै ग्राहकसमेत मर्कामा परेका छन्,’ उनले भने । वस्तुको मूल्यमा मात्र नभएर यस्तो बेलामा कम गुणस्तरका वस्तुसमेत विक्री हुन सक्ने भएकाले सरकारले कडाइका साथ अनुगमन गर्नुपर्ने उनको भनाइ छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थोक व्यापारीहरूलाई बोलाएर यस विषयमा छलफल गर्ने र गल्ती गरेको पाइए कारबाही गर्ने जानकारी दिएको छ । इन्धनको मूल्य घटेकाले व्यवसायीले ढुवानीको भाडा समायोजन गर्नुपर्ने विभागका महानिर्देशक नेत्र सुवेदीले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्