ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अर्थतन्त्र सुस्ताएकै हो त ? 

२०७६ माघ, १०  
पाठक विचार
NA


हालै अन्तरराष्ट्रिय मुद्राकोषले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत हाराहारीमा सीमित हुने अनुमान सार्वजनिक गरेको छ । सरकारले ८ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनी दाबी गरिरहेका बेला मुद्राकोषको प्रक्षेपणले निराश बनाउनु स्वाभाविक हो । अर्थमन्त्रीले कोषको दाबीलाई खण्डन त गरेका छन् तर अर्थतन्त्रको अवस्था हेर्दा त्यो सही नै हो कि जस्तो देखिन्छ ।

बैंकले गर्ने ऋण लगानी सुस्त छ । आन्तरिक राजस्व विभागले कर चुक्ता र बैंकमा बुझाउने वासलात एउटै हुनुपर्ने कारणले साना तथा मझौला उद्यममा ऋण जान बन्द भएको छ । 

त्यस्तै राजस्व संकलन पनि निकै कम छ । आयात घटेको भनी त्यसको जस लिने सरकार अहिले राजस्वको लक्ष्य पूरा नभए पछि कसरी सरकारी खर्चका लागि स्रोत जुटाउने भनेर चिन्तित हुन थालेको छ । गतवर्ष झैं यो वर्ष पनि विकास खर्चको अवस्था सन्तोषजनक छैन । अघिल्ला वर्ष समयमा पानी परेका कारण कृषिक्षेत्रको उत्पादन पनि राम्रो भयो तर यसपटक रोग आदिका कारण उत्पादन घटेको अनुमान छ  

भूकम्प प्रभावित क्षेत्रमा निर्माणले गति लिँदा त्यसले पनि अर्थतन्त्रलाई गति दिएको थियो । सिमेन्ट, डन्डी उद्योगको विस्तार भएको थियो । तर, अहिले ती उद्योग समस्यामा छन् । मागभन्दा बढी उत्पादन हुन थालेपछि मूल्य कटौती गर्नुपरेको भन्ने उद्योगीहरूको भनाइ छ । मुख्य कुरा त निर्माण सामग्रीको विक्री कम हुँदा उपभोगमा नै कमी आएको देखिन्छ । यो भनेको अर्थतन्त्रको विस्तारको गति न्यून हुनु हो । 

त्यसो त देशभित्रको लगानी पनि अपेक्षित मात्रामा बढेको छैन । विभिन्न उपभोग्य वस्तुको मूल्य निकै बढेकाले त्यसको उपभोग पनि घट्दो देखिन्छ । मूल्य वृद्धि हुनुको अर्थ जनताको क्रयशक्तिमा ह्रास आउनु हो । 

सरकारले आयातमा कडाइ गरेका कारण व्यापारघाटा त कम भयो तर त्यसबाट आन्तरिक उत्पादन पनि कम भयो । आयात घटेका वस्तुहरू उद्योग क्षेत्रका थिए । हो, बिजुलीको उपलब्धता बढ्दा अर्थतन्त्रमा पक्कै सकारात्मक प्रभाव पर्छ तर पनि उद्योगहरू खुल्ने क्रम चित्तबुझ्दो देखिँदैन । 

पर्यटन क्षेत्रको गति पनि उत्साहजनक देखिँदैन । भ्रमण वर्षबाट पर्यटक बढाएर अर्थतन्त्रलाई गति दिन खोजिएको छ । तर, भ्रमण वर्षको शुरूमै पर्यटन क्षेत्रमा नकारात्मक सन्देश गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकास हुँदै गएको, सुधार हुँदै गएको भन्ने दाबी गरेका छन् जुन तथ्यहरूले पुष्टि गर्दैनन् । राज्यको सबैभन्दा ठूलो कार्यकारी व्यक्तिले यसरी हचुवाका भरमा अभिव्यक्ति दिँदा अर्थतन्त्रमा अविश्वासको वातावरण बढेको छ, जसले गर्दा न आन्तरिक न त बाह्य लगानी नै उल्लेख्य रूपमा बढेको छ । 

सरोज वैद्य
जय वागीश्वरी, काठमाडौं ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्