ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

हिम्मत भए कोरोना संक्रमणपछि पनि निको हुन्छ : कोरोनामुक्त नेपालीको अनुभव    

२०७७ बैशाख, ८  
अन्तरवार्ता
Image Not Found

वैशाख ८,लम्की ( कैलाली) । नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । तिनमध्ये संक्रमण निको भएर चार जना घर फर्किसकेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका २१ वर्षीय राज विक पनि नतिजा नेगेटिभ आएपछि घर फर्किएका छन्  ।

 सेती अस्पतालमा उपचाररत पाँच जनामध्ये विक भारतको मुम्बईबाट गत चैत ८ गते घर फर्किएका हुन् । चैत १० गते धनगढीको गौरीफन्टा पुगेका उनी लकडाउनका कारण सीमामा रोकिएपछि प्रदेश सरकारले चैत ११ गते राति उद्धार गरी चैत १२ गते बिहान घर पुगेका थिए ।

 घर पुगेलगत्तै लम्कीचुहा नगरपालिकाको क्वारेन्टाइनमा बसेका उनको कोभिड–१९ संक्रमणको नतिजा पोजेटिभ आएपछि चैत २२ गते सेती प्रादेशिक अस्पताल धनगढीको आईसोलेशनमा राखी उपचार शुरु गरिएको थियो । स्वाब परीक्षण नतिजा दुई पटकसम्म नेगेटिभ आएपछि विकलाई अस्पतालले आइतवार घर पठाएको छ । आइतवार साँझ ६ बजे घर पुगेका कोरोना विजेतासँग गरिएको कुराकानीको अंश :     
 

आईसोलेशनमा तपाईँको दिनचर्या कसरी बित्यो ?     

म १६ दिन आईसोलेशनमा बसेर फर्किएको छु । नयाँ जीवन पाएजस्तै लागेको छ । अस्पतालमा बस्दा फेसबुक चलाए, युट्युबमा विभिन्न भिडियो, चलचित्र हेरेर बस्थें, फोनमा धेरै साथीहरुसँग कुराकानी गर्थें । अस्पतालले ‘भागवत गीता’ दिएको थियो, त्यो पनि पढें । अस्पतालमा हामी पाँच जना संक्रमित थियौं । हामीलाई अलग–अलग कोठामा राखिएको थियो । हामी आफ्नो कोठाको बाहिर निस्केर एक आपसमा गफ गथ्र्यौं । एक अर्काका समस्याबारे जानकारी लिन्थ्यौं  । हामी सबैलाई खासै समस्या थिएन ।     
 

डाक्टर र नर्सको व्यवहार कस्तो पाउनुभयो ?     

डाक्टर, नर्सहरुले निकै राम्रो व्यवहार गरे । हाम्रो कोठामा भने कोही आएनन् । खानेकुरा र औषधि झ्यालबाटै दिन्थे । फोन गरेर पटकपटक जानकारी लिन्थे । बाहिरबाट हेर्थे, कुरा गर्थे, रमाइलो कुरा गरी हंँसाएर जान्थे । एकदिन भने एक जना डाक्टर मेरो नजीकै आउनुभएको थियो । उहाँले नआत्तिन आग्रह गर्नुभयो । हामी तपाईंको साथमा छौं भन्नुभयो, निकै खुशी लागेको थियो ।     
 

कत्तिको डराउनुभएको थियो, अन्य बिरामी कत्तिको त्रसित थिए ?     

कोभिड –१९ लाग्यो भनेपछि त्यसै डरलाग्दो रहेछ । संक्रमण भयो भनेपछि मलाई तनाव भयो । हामी पांँच जना संक्रमित पनि एक आपसमा भेट्नै डर लागेको थियो । रोग लागेको छ भनेपछि बाँच्नुपर्छ भन्ने लाग्दोरहेछ । जीवनमा देखेका सपनाहरु सम्झिएँ, जीवन के हो त्यतिखेर बुझें । डाक्टरहरुसँंग कुरा गर्दा हिम्मत मिल्ने रहेछ । मलाई कुनै पनि लक्षण भने देखिएको थिएन तर पनि संक्रमण देखियो भनेपछि अलि डराएको थिएँ । कोरोना संक्रमण भएका बिरामी राखिएका छन् भनेपछि हामी बस्ने वार्डमा अन्य कोही मानिस आउँदैनथे । डाक्टर र नर्सबाहेक अन्य कोही आएनन् ।     
 

तपाईंलाई के–के लक्षण देखिएको थियो ?     

मलाई केही समस्या नै भएन । मलाई कुनै पनि लक्षण देखिएन । ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या जस्ता कुनै लक्षण थिएनन् । म एकदमै स्वस्थ थिएँ । लक्षण नदेखिएपछि शुरुका केही दिन त मैले डाक्टरहरुलाई म संक्रमित छैन भनेर जिद्दी गरें । मलाई मात्र होइन अन्य चार जनालाई पनि खासै समस्या छैन । धनगढीका विदेशबाट आएका दाइलाई भने खोकी लाग्थ्यो । अरु सबै सामान्य छन् ।     
 

अब कसरी बस्नुहुन्छ ?     

म विपन्न परिवारको मानिस हुँ । म भारतको होटलमा खाना पकाउने काम गर्थें । मैले कमाएर मेरो घर चलेको छ । अहिले त केही दिन छुट्टै बस्छु । घरमा आफैं पकाएर खान मिल्ने व्यवस्था छैन तर छुट्टै बस्ने, कसैलाई नछुने, सुरक्षित तवरले बसेको छु । म घर फर्केपछि मेरी आमा धेरै खुशी हुनुभएको छ । घरमा हामी ११ जनाको परिवार छ । मेरो आमाका सपना पूरा गर्नुछ । एक हप्तापछि पुनःपरीक्षण गर्ने भनिएको छ । अहिले त डाक्टरहरुले भनेअनुसार बस्छु । पछि त काम गर्नैपर्छ, नत्र जीवन कसरी चलाउनू ?     
 

कोभिड –१९ संक्रमणबाट बच्न अन्यलाई के सुझाव दिनुहुन्छ ?     

मैले अस्पताल बस्दा तातोपानी धेरै खाएँ । पटक–पटक खाना, फलफूल खाएँ । खानपिनमा ध्यान दिनुस् । लकडाउन पालना गरौं । सकेसम्म एक आपसमा टाढा रहौं । संक्रमण देखिहाले पनि नआत्तिन अनुरोध गर्छु । हिम्मत भए सञ्चो हुन्छ । कोरोना लाग्यो भनेपछि मानिस बढी आत्तिने रहेछन् । नआत्तिए रोग जित्न सकिन्छ । मलाई साथ दिने र सहयोग गर्ने सबैलाई धन्यवाद । मेरो उपचारमा खटिने डाक्टर, नर्स, लम्कीचुहा नगरपालिका, साथीभाइ मेरो स्वास्थ्यलाभको कामना गर्नेहरुप्रति आभारी छु । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्