ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जनअपेक्षा अनुसार नै काम गर्दै आएका छौं

२०७६ माघ, १४  
अन्तरवार्ता
Image Not Found


साबिकका दुल्लु, नेपा, नाउलेकटुवाल, पादुका, बडलम्जी, छिउडीपुसाकोट, गमौडी, कालभैरव, गौरी र मालिका गाविस मिलेर दुल्लु नगरपालिका बनेको छ । यसको पूर्वमा नारायण नगरपालिका र डुंगेश्वर गाउँपालिका, पश्चिममा चामुण्डाविन्द्रासैनी नगरपालिका, उत्तरमा भैरवी गाउँपालिका र दक्षिणमा गुराँस गाउँपालिका र अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका पर्छन् । भूगोल र जनसंख्या दुवै हिसाबले यो कर्णाली प्रदेशको दोस्रो ठूलो नगरपालिकाको रूपमा रहेको छ । नगरपालिकामा पर्यटन, कृषि र जडीबुटीको राम्रो सम्भावना छ । यो नगरपालिकालाई चारओटा राष्ट्रिय राजमार्गले छोएको छ । देश संघीय संरचनामा आउनुभन्दा पहिले नै नगरपालिका बनिसकेको थियो । संघीय संरचनापछिको स्थानीय सरकार स्थापना भएपछि यहाँको, शैक्षिक, भौतिक पूर्वाधार र आर्थिक विकासको क्षेत्रमा के–कस्ता काम भए त ? प्रस्तुत छ, यिनै विषयमा रहेर नगरपालिकाका नगर–प्रमुख घनश्याम भण्डारीसँग आर्थिक अभियानका दैलेख संवाददाता पंखबहादुर शाहीले गरेको कुराकानीको सार :

तपाईं गाउँपालिकाको  प्रमुख भएर आएपछि यहाँका जनताले अनुभूत गर्नेगरी भएका विकासका काम के के हुन् ?
निर्वाचित भएदेखि हालसम्मको अवधिमा जनतासँग गरिएका प्रतिबद्धता अनुसार सडक, शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा  काम गरिएको छ । सबै वडा तहमा जाने कच्ची सडक निर्माण गरिएको छ । हाल डबल कटिङको कार्य पनि सम्पन्न भइसकेको  छ । अहिले यातायातका साधन सहजै आवत–जावत गर्दछन् । ठूलो भू–धरातलमा रहेको यो नगरपालिकाले धार्मिक सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको ठूलो सम्भावना बोकेको छ । त्यसैले रैथाने संस्कृतिको जगेर्नामा पनि प्राथमिकता दियौं । दुल्लु खस राज्यको आदिभूमि भएकाले यहाँको सभ्यतालाई झल्काउन वडा–८ मा दुल्लु सांस्कृतिक संग्रहालयको स्थापना गरिएको छ । पञ्चकोशी ज्वाला सभ्यता तथा पञ्चकोशी क्षेत्रको विकासका लागि डीपीआर अघि बढाएका छौं । नगरपालिकाको आफ्नै भवन र वडाका भवन निर्माण गरिएका छन् । शैक्षिक क्षेत्रको विकास तथा शिक्षाका लागि शहरी बसाइसराइ सघाउन सबै वडामा एक–एक नमूना विद्यालयको निर्माण गरेका छौं । गुणस्तरीय प्राविधिक शिक्षामा जोड दिइएको छ । प्रदेश सरकारको सहयोगमा १३ विद्यालयलाई ‘स्मार्ट’ बनाउने तयारी छ । 

साझेदारी निकायसँगको समन्वयमा विभिन्न ठाउँमा चारओटा लिफ्ट खानेपानी निर्माणाधीन छन् । खानेपानीका अन्य दुई ठूला योजनाको डीपीआर बनाएर यसै आर्थिक वर्षमा काम अघि बढाउँदै छौं । कृषिलाई व्यावसायिक खेती प्रणालीमा अघि बढाउनुका साथै सबै नागरिकलाई स्वास्थ्यको सहज पहुँचमा पुर्‍याएका छौं ।

निर्माणाधीन ठूला आयोजनाको कार्यप्रगति कस्तो छ ?
२०५१ सालमा शुरू भएको तल्लो डुंगेश्वर–दुल्लु पीपलकोट सडकको दुल्लु खण्ड रहेको भागमा पक्की सडक निर्माण अघि बढेको छ । मध्य पहाडी लोकमार्गबाट क्षति हुने घरको मुआब्जाका लागि आवश्यक पहल गरेका छौं । माथिल्लो डुंगेश्वर–बैंक–कुसापानी सडकको स्तरोन्नतिको काम भएको छ । साना शहर आयोजना अन्तर्गत दुल्लु नगरपालिकाभित्र चक्रपथ निर्माणका लागि १०, ११, १२ र १३ वडामा प्रक्रिया अघि बढिरहेको छ । 

यस क्षेत्रको मुख्य सडकका रूपमा रहेको घियाँतिदु–पटांगिनी–शान्तिबजार हुँदै पिपलघारी पक्की सडक निर्माण यही वर्ष सम्पन्न गर्ने योजना छ । नपामा साना–ठूलो गरी कुल २८६ किमी सडक निर्माण भइसकेको छ । अबको काम सडकको स्तरोन्नति गर्ने हो । अग्र्यानिक खाना पाइने होमस्टे स्थापना गरिएका छन् । प्रदेश तथा संघीय सरकारको सहयोगमा पञ्चकोशी क्षेत्रको निर्माण गरिँदैछ । साथै यसको उचित व्यवस्थापन गरी आन्तरिक तथा बाह्य पर्यटकलाई सहज आवत–जावतको व्यवस्था गर्नेछौं । यसका लागि पञ्चकोशी सर्किटको काम अघि सारिएको छ, जुन यही वर्षदेखि सञ्चालन हुन्छ । यहाँका विभिन्न पर्यटकीय स्थलसम्म पुग्न सडकको काम अघि बढेको छ ।

लोहोरे मालिका लिफ्ट खानेपानीका ८ करोड रुपैयाँ विनियोजन गरिएको छ । कर्णालीको पानी लिफ्ट मार्फत दुल्लुको कोटाडाँडा ल्याउन प्रदेश र संघीय सरकारसँग बजेट माग गरेका छौं । यही वर्षदेखि यी आयोजना अघि बढ्दैछन् ।

विद्युतीकरणमा जोड दिएका छौं । विगत दुई वर्षमा नगरका ६० प्रतिशत नागरिक विद्युत्को पहुँचमा पुगेका छन् । यो वर्ष ४० प्रतिशतमा पु¥याउने लक्ष्य छ । त्यसका लागि पञ्चकोशी उज्यालो कार्यक्रम अघि सारेका छौं । यस्तै वडा नं ८ चगत्रादेखि वडा नं १३ विनायकसम्मको मुख्य शहरी क्षेत्रको विद्युत् लाइन अन्डरग्राउन्ड कार्यका लागि साना शहरी विकास कार्यक्रम अन्तर्गत गुरुयोजना निर्माण हुँदैछ ।
  
शिक्षा, स्वास्थ्य र रोजगारी प्रवर्द्धनका लागि नगरपालिकाले कसरी काम गर्दै छ ?
हामी दुल्लुलाई अरू स्थानीय तहभन्दा फरक बनाउन चाहन्छौं । दुल्लुलाई प्राविधिक शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, आधुनिक खेती प्रणाली र पर्यटकीय केन्द्रको ‘हब’का रूपमा विकास गर्ने हाम्रो प्रमुख ध्येय हो । त्यही आधारमा अघि बढेका छौं । यहाँका युवा वैदेशिक रोजगारका लागि भारत लगायत मुलुकमा जाने गरेका छन् । यसको दर कम गर्न शीप विकास केन्द्रको स्थापना गरी रोजगारी सृजना गर्ने लक्ष्य छ । साविकका गाविस तथा खाली रहेका सामुदायिक भवनमा शीप विकास केन्द्र सञ्चालन गरिँदै छ । होमस्टेहरू सञ्चालनमा ल्याइँदै छन् । 

बहुप्राविधिक शिक्षालय स्थापना गरेर सञ्चालनमा ल्याइँदै छ । यसको भवन निर्माणका लागि यो वर्ष १ करोड रुपैयाँको टेन्डर आह्वान गरिएको छ । यस्तै दुल्लु प्राविधिक स्रोतसाधन तथा वन विज्ञान कलेज स्थापनाको तयारी थालिएको छ । यसका लागि विभिन्न निकायको सहयोग समेत गरी ६ करोड बजेट छ । करोडौं मूल्य पर्ने ८२ रोपनी जग्गा स्थानीयले दान गरेका छन् । यो वर्षदेखि नै बीएससी एजीको अध्यापन शुरू हुन्छ । संस्कृत अध्यापन हुने पञ्चकोशी वेदाश्रम ३ वर्षदेखि सञ्चालनमा छ । नगरपालिकामा रहेका सामुदायिक विद्यालयलाई पनि प्राविधिक धारमा लैजाँदै अघि बढेका छौं ।

कृषिक्षेत्रको विकासका लागि अहिले ३ ओटा कृषि सडक स्थापना गरिँदै छन् । सुन्तला जोन कार्यक्रम ल्याइएको छ । गत आवमा मात्रै ३६ नयाँ बगैंचा स्थापना भएका छन् । यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू गरिएको छ । कृषकले अहिले व्यावसायिक कृषि खेती गरिरहेका  छन् । दुल्लु मासुमा आत्मनिर्भर र दुधमा आत्मनिर्भर उन्मुख छ । स्वास्थ्य क्षेत्रमा एक अस्पताल, तीन शहरी स्वास्थ्य केन्द्र, एक आयुर्वेदिक औषधालय र ९ स्वास्थ्य चौकी छन् । यी स्वास्थ्य संस्थाको व्यवस्थापन गर्न स्वास्थ्य ऐन पनि पारित भएको छ ।

शहरी विकास तथा व्यवस्थापनका लागि के गरिँदै छ ?
अहिले नेपाल सरकारले ‘स्मार्ट’ सिटीको अवधारणा लिएको छ, जस अन्तर्गत दुल्लु परेको छ । अहिले शहरी विकास मन्त्रालय अन्तर्गत स्मार्ट शहर कार्यक्रम अन्तर्गत २५ करोडभन्दा माथिका तीन योजना सञ्चालन हुनेछन् छ । यस्तै साना शहरी कार्यक्रम अन्तगर्तका ३० करोडभन्दा माथिका दुई योजना अघि बढ्नेछ । नगरपालिकाको दुल्लु बजार भू–धरातलको हिसाबले पनि निकै मिलेको र पर्यटकीय सम्भावना भएकाले अहिले यहाँ करोडौं लगानीका होटल सञ्चालन हुने प्रक्रियामा छन् ।

नगर क्षेत्रमा ठूल्ठूला घर निर्माण भइरहेका छन् । दुल्लु नगरपालिका–८ (पुरैबजार क्षेत्र)को घियाँतिदुदेखि वडा नं १३ को विनायकसम्म केडीडीआई फाउन्डेशन जापान र आईसीडी फोरजीको आर्थिक सहयोगमा अप्टिकल फाइबरको काम सकिएको छ, जुन कर्णालीमै पहिलो हो ।

विकास बजेट कार्यान्वयनका समस्या र चुनौती के–के छन् ?
स्थानीय तहमा प्रमुख समस्या नै जनशक्ति अभाव हो । अहिले जनशक्ति घट्दो अवस्थामा भएकाले विकासका क्षेत्रमा चुनौती थपिने देखिन्छ । त्यो बाहेक गुठी जग्गा, छरिएर रहेका बस्ती, ठूलो क्षेत्रफल र बजेटको कमीलाई पनि चुनौतीका रूपमा लिएका छौं ।

तोकिएको समयमा विकास निर्माणको लक्ष्य हासिल गर्न कसरी काम हुँदै छ ?
नगरबाट हुने विकास निर्माणका कामहरू हामीले समयमै सक्नुपर्छ भन्नेका छौं । तर पनि जनशक्ति अभावका कारण समस्या आउनु स्वभाविक हो । योजनाको अनुगमनमा निकै प्राथमिकता दिएका छौं । ५० लाखभन्दा कम बजेटका योजना उपभोक्ता समितिको माध्यमबाट काम गर्ने गरेका छौं । त्यसभन्दा माथिका योजना टेन्डरमार्पmत अघि बढाउने काम भइरहेको छ । 

पर्यटन क्षेत्रको अवस्था कस्तो छ ?
दुल्लु कर्णाली ज्वाला र सिँजा सभ्यताको संगमस्थल हो । दुल्लुसँग ज्वाला सभ्यता छ । त्यसैले दुल्लु धार्मिक सामाजिक सांस्कृतिक र पर्यटकीय रूपमा बेग्लै पहिचान र इतिहास बोकेको नगरपालिका हो । दुल्लु दरबारको इतिहासदेखि नेपाली भाषाको पहिलो शिलालेख समेत दुल्लुमा छ । पाथरनाउली, धुलेश्वर, देवल, विरखम्ब, नाउला र ढुंगेधारा समेत यहाँ छन् । ३३ जातजातिको उद्गम थलो यहाँ रहेको बताइन्छ । यस्ता सम्पदा र सभ्यताको संरक्षण, संवद्र्धन, प्रचार–प्रसार र पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम ल्याएका छौं । परम्परागत सम्पदाको संरक्षण गर्न दुल्लु सांस्कृतिक संग्रहालय र पर्यटक सूचना केन्द्र स्थापना गरिएका छन् । दुल्लुबाट जिल्लाका जुन सुकै पर्यटकीय स्थलमा पुग्न उक्त केन्द्रले सघाउँछ ।

करसम्बन्धी स्थानीयको गुनासो/प्रतिक्रिया कस्तो छ ?
२०७२ सालमा जे थियो, अहिले पनि करको दर त्यही हो । तर, करको दायरा फराकिलो बनाउन लागेका छौं । नगरको करीब ८० प्रतिशत गुठीको जग्गा भएकाले सम्पत्तिको मात्र उठाउने हो । त्यो पनि मालपोत कार्यालयले उठाउने गरेको छ । २० प्रतिशत जग्गाको कर नगरले उठाउने गरेको छ । गत आवमा ३२ लाख राजस्व उठेको थियो भने यो वर्ष डेढ करोडसम्म उठाउने लक्ष्य छ । नागरिकबाट कर सम्बन्धी गुनासो हालसम्म आएको छैन । नागरिकको ढाड सेक्नेगरी कर लगाउने पक्षमा छैनौैं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्