ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विश्व बैंकद्वारा नेपालको जीडीपीको वृद्धिदर २.८ % सम्म रहने प्रक्षेपण

दक्षिण एशियाको आर्थिक वृद्धिदर ४० वर्षकै सर्वाधिक खराब हुने 

२०७७ बैशाख, १०  
समाचार
Image Not Found
author avatar टीपी भुसाल

वैशाख १०, काठमाडौं । विश्व बैंकले कोरोना भाइरस (कोभिड–१९) को कारण चालू आर्थिक वर्षमा नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को वृद्धिदर १ दशमलव ५ देखि २ दशमलव ८ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको छ ।

विश्व बैंकको नेपालकालागि देशीय प्रबन्धक फेरिस हदाद जार्भोसले नेपाल दुई ठूला छिमेकीहरूको बीचमा अवस्थित भएको र ती छिमेकीहरूको समेत वृद्धिदरमा कमी आउने कारणले नेपाल र यहाँको वृद्धिदरमा समेत त्यसको नकारात्मक प्रभाव पार्ने बताए । 

‘कोरोना भाइरस (कोभिड–१९) को महामारीले दक्षिण एशियाली अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव’ विषयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधवार आयोजना गरेको भीडीयो सम्बादमा विश्व बैंकका देशीय प्रबन्धक फेरिसले आपूर्ति प्रणालीमा पर्ने प्रभावको कारण नेपालमा मुद्रास्फीतिदर ६ प्रतिशतभन्दा माथि रहने ,वित्तीय घाटा र चालू घाटा दुवै विस्तारित हुने अनुमान गरिएको बताए ।

 ‘यो नेपालका लागि विश्वका अन्य भागहरूजस्तै ठूलो प्रहार हो, विप्रेषणमा हुने प्रहारले सीधै नेपालको विदेशी विनियमयमा प्रभाव पार्नेछ, नेपालको रोजगारी तथा आप्रवासन, व्यापार तथा पर्यटन क्षेत्र प्रत्यक्ष प्रभावित हुनेछन्’ उनले भने ।  

महामारीभन्दा पहिला दक्षिण एशियाको आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत रहने अपेक्षा गरिएको जानकारी दिंदै उनले कोभिड–१९ का कारणले यस क्षेत्रको वृद्धिदर सन् २०२० मा १ दशमलव ८ देखि २ दशमलव ८ प्रतिशतको बीचमा रहने र  यो विगत ४० वर्षकै सर्वाधिक खराब वृद्धिदर हुने बताए । 

सन् २०२१ मा पनि दक्षिण एशियाको वृद्धिदर ३ दशमलव ७ देखि ४ दशमलव २ प्रतिशतको मध्यम स्तरमा रहने अपेक्षा गरिएको फेरिसको धारणा छ । कोरोना भाइरस महामारीको प्रभाव केही वर्षसम्म विश्वव्यापी अर्थतन्त्रमा आउँदा दुर्भाग्यपूर्ण स्थिति आउन सक्ने बताए । 

‘विश्व, दक्षिण एशिया र नेपालमा चालू र आउँदा केही वर्षसम्म कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उल्लेख्य अनुपातले कमी आउने छ,’ उनले भने ।

कोरोना भाइरसको महामारीबाट उत्पन्न मन्दी अन्य मन्दीभन्दा फरक प्रकारकै मन्दी हुने उल्लेख गर्दै उनले यो मन्दीलाई अलग ढंगले बुझ्नाले अर्थतन्त्र र वद्धिलाई फरक ढंगले पुर्नर्जीवित गर्नका लागि अर्थव्यवस्थामा नयाँ र विशिष्ट साधनहरू प्रयोग गर्न सहयोग पुग्ने बताए । 

 मन्दीले लगानी र वस्तुको मागमा असर पार्छ, सामान्यतयाः मन्दीहरू मागद्वारा हाँकिएका हुन्छन्, तर विद्यमान मन्दी भने कोरोना भाइरसका कारणले गर्दा आपूर्तिद्वारा हाँकिएको उल्लेख गर्दै उनले भने, ‘अहिलेको अवस्थामा हामी माग कम हुनुका सट्टा आपूर्ति कम भएको अवस्था सामना गरिरहेका छौं ।’

उनले विश्व बैंक नेपालमा महामारीको सामना गर्न र अर्थव्यवस्थालाई पुनर्बहाली गर्नका लागि सरकारसँग मिलेर काम गरिरहेको जानकारी दिँदै आगामी दिनमा पनि बिश्व बैकको सहयोग निरन्तर रहने बताए । 

यद्यपि उनले विश्व बैंकले आगामी वर्षमा प्राथमिकताका आधारमा काम गर्ने बताए । उनका अनुसार बैंकले पहिलो प्राथमिकतामा तत्काल स्वास्थ्यका लागि चाल्नु पर्ने कदम, दोस्रोमा तत्काल सामाजिक सहयोग र रोजगारी, तेस्रोमा वस्तुको उत्पादन वितरणको सुनिश्च्तिता र चौथो समष्टिगत आर्थिक स्थायित्वको लागि काम गर्ने छ । 

नेपालको ठूलो जनसंख्या वैदेशिक रोजगारमा रहेको र विदेशिएका नेपालीहरू स्वदेश फर्किदाँ ठूलो आकारमा रोजगारीको आवश्यकता पर्ने हँुदा सरकारले त्यसतर्फ विशेष ध्यान दिनु पर्ने उनको धारणा छ । यसैगरी आपूर्ति श्रृंखला सही ढंगले कायम राख्न साना तथा मझौला उद्योगहरूलाई केन्द्रित गतिविधि बढाउनु पर्ने उनले बताए । 

विश्व बैंकले विद्यमान आफ्नो कुल लगानी (पोर्टफोलियो) परियोजनाहरूबाट पोर्टफोलियोको १८ प्रतिशत कोभिड–१९ को प्रतिक्रियात्मक क्षेत्रमा केन्द्रीत गरेको जानकारी दिंदै हरेक देशहरुले यसैगरी प्राथमिकता निर्धारण गर्न आवश्यक रहेको बताए । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्