ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा चामल खरीदको टेन्डर पुनः आह्वान

२०७७ बैशाख, ११  
समाचार
NA
author avatar प्रशान्त खड्का

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरीदका लागि पुनः टेन्डर आह्वान गरेको छ । गत चैत ५ गते गरेको अघिल्लो टेन्डरमा १ महीनासम्ममा पनि कुनै प्रस्ताव नपरेपछि बुधवार फेरि टेन्डर गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र सुवेदीका अनुसार कम्पनीले १० हजार टन चामल खरीदका लागि बुधवार १५ दिनको म्याद दिए पुनः टेन्डर जारी गरिएको छ । यसअघिको टेन्डरमा चामल आपूर्ति गर्ने कम्पनीले नै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको विक्री केन्द्रहरूमै चामल ढुवानी गर्नुपर्ने शर्त भएको तर लकडाउनको समयमा ढुवानी गर्न गाह्रो पर्ने भएकाले टेन्डरमा कुनै प्रस्ताव नआएको हुन सक्ने सुवेदीको भनाइ छ ।

यसअघि चामल र कर्णालीको सिमीमात्र विक्री गर्दै आएको कम्पनीले अब मसुरो, रहर र केराउको दाल पनि विक्री गर्ने भएको छ । यसै वर्षदेखि गहु र अन्य अन्न पनि खरीद कार्य शुरू गर्ने कम्पनीको लक्ष्य छ । यसवर्ष कम्पनीले करीब ३ लाख क्विन्टल धान खरीद गर्ने उद्देश्य लिएको भए तापनि २ लाख ११ हजार ८ सय ८९ क्विन्टल मात्र धान खरीद गर्न सक्यो, जसले गर्दा अहिले थप चामल किन्नुपर्ने अवस्था आएको हो ।

कम्पनीको मातहतमा सञ्चालित जनकपुर राइस मिल र बर्दियाको राजापुरस्थित राजापुर राइसमिलबाट हालै मात्र चामल उत्पादन कार्य शुरू भएको सुवेदीले जानकारी दिए । राजापुर राइसमिलसँग भएको ४८ हजार १० क्विन्टल धानबाट अहिले चामल उत्पादन कार्य शुरू भइसकेको राजापुर राइस मिलका प्रमुख रेवन्त रावलले जानकारी दिए । यसैगरी जनकपुरमा रहेको मिललाई पनि कम्पनीले ५०० क्विन्टल चामल उत्पादन गर्न निर्देशन  दिएपछि चामल उत्पादन शुरू गरिसकेको मिलका वरिष्ठ लेखा सहायक जयनन्द पाण्डेले बताए । यसरी उत्पादित चामललाई कम्पनीका विभिन्न जिल्लामा रहेका विक्री केन्द्रमार्फत विक्री गरिने कम्पनीले बताएको छ । हाल कम्पनीसँग करीब ३ महीनालाई पुग्ने खाद्यान्न स्टक रहेको छ, जसमध्ये २० हजार मेट्रिक टन चामल, सिमी र फापर गरी करीब ५०० टन र १७ टन मसुरो, केराउ र रहरको दाल हालै मात्र खरीद गरिएको र केही दिनमै विक्री शुरू गरिने भएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्