ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपालबाट पाम आयलको आयात रोक्न भारतीय व्यवसायी लबिइङमा

२०७६ माघ, १५  
समाचार
Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । भारतीय पाम आयल व्यवसायीहरूले पाम आयल आयात गर्दा नेपाललाई दिइरहेको भन्सार दर छूट हटाउन भारत सरकारसँग लबिइङ शुरू गरेका छन् । भारतका तेल उत्पादकहरूको छाता संगठन सोलभेन्ट एक्सट्र्याक्टर्स एशोसिएशन अफ इन्डिया (एसईए) ले नेपालबाट दक्षिण एशियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) अन्तर्गत शून्य भन्सार सुविधामा पाम आयल आयात नगर्न आफ्नो सरकारलाई आग्रह गरेको हो ।

पाम आयल आयात गर्दा भन्सार दरमा छूट नदिन आग्रह गर्दै एसईएले सोमवार भारतका वाणिज्य मन्त्री पीयूष गोयललाई अनुरोध गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

नेपालले साफ्टाअनुसार शून्य भन्सारमा पाम आयल भारत निर्यात गर्न दिन भारत सरकारलाई दबाब दिइरहेको एसईएको बुझाइ छ । त्यसपछि एसईएले त्यसरी पाम आयलको आयात गर्न अनुमति नदिन आफ्नो सरकारलाई दबाब दिएको बताइएको छ ।

समाचारअनुसार एसईएका अध्यक्ष अतुल चतुर्वेदीले भनेका छन्, ‘नेपालले भारतमा निर्यात गर्ने पाम तेलले उत्पादनको उत्पत्ति र मूल्य अभिवृद्धिका नियमहरू पूरा गर्दैन । यस्ता प्रकारका उत्पादनहरूलाई कुनै पनि हालतमा भारतमा भित्रिन दिनु हुँदैन ।’ पाम आयलको आयात गर्न अनुमति दिएमा भारतको राजस्व संकलन, स्वदेशी उद्योग र तेलहनका किसानहरूसमेत प्रभावित हुने उनले बताए । 

गत पुस २३ गतेदेखि भारत सरकारले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि नेपालबाट भारततर्फ प्रशोधित पाम आयल निर्यात हुनसकेको छैन । 

यद्यपि, सरकार तथा व्यवसायीहरू उक्त प्रतिबन्ध खुल्ने आशमा छन् । साफ्टामा भएको प्रावधान र दुई देशबीचको वाणिज्य सन्धिको आधारमा उक्त प्रतिबन्ध खुलाउन सकिने बताइएको छ । 

तर, पाम आयल निकासी गर्दा पाइरहेको सुविधा हटाउन भारतीय व्यवसायीले लबिङ गरेपछि नेपाली व्यवसायी थप त्रस्त भएका छन् । भारतले पाम आयलको आयात खुलाउने क्रममा भन्सार दर लगाएमा आप्mनो व्यापार नै ठप्प हुने नेपाली व्यवसायीहरू बताउँछन् । 

आर्थिक वर्ष २०१९/२० को अप्रिलदेखि नोभेम्बरसम्ममा नेपालले ३३ हजार ९४४ टन भटमासको तेल र १ लाख ५६ हजार १०१ टन प्रशोधित पाम आयल भारतमा निर्यात गरेको छ । उद्योग मन्त्रालयका सहसचिव नवराज ढकालले भारतले पाम आयलमा रोक लगाउनु नै नेपालको लागि पहिलो समस्या भएको बताए ।

‘भारतले पाम आयल आयातमा नै रोक लगाइसकेको छ । यस अवस्थामा उक्त प्रतिबन्ध खुलाउने बिषय नै मुख्य प्राथमिकता हो’ उनले भने, ‘अहिले प्रतिबन्ध खुलाउने प्रयास गरिरहेका छौं । त्यसमा यो विषयलाई पनि समेट्न सक्छौं ।’

पाम आयल व्यवसायी विपीन काबराले भारतमा पाम आयल आयात नै गर्न हुँदैन भन्ने विचारमा भारतीय व्यवसायीहरू रहेको बताए । पाम आयल आयात गर्नु भारतका लागि खराब भएको बताउँदै भारतीय व्यवसायीहरूले यसलाई प्रतिबन्धमा नै राख्न खोजेको उनको टिप्पणी छ । ‘जुन वस्तुको नेपालबाट भारत निर्यात राम्रो हुन थाल्छ, भारतले त्यो वस्तुको आयात नै बन्द गर्न खोजेको देखिन्छ,’ उनले बताए । 

‘भारतमा वार्षिक ८० लाख टनभन्दा बढी पाम आयल खपत हुन्छ । नेपालबाट जाने भनेको बढीमा साढे ३ लाख टन हो,’ उनले भने, ‘यति न्यून मात्रामा हाम्रो अंश हुँदा पनि उनीहरूले प्रतिबन्ध लगाउन खोजिरहेका छन् ।’

सरकारले यस्तो संवेदनशील अवस्थामा यो प्रतिबन्ध खुलाउन सही समयमा प्रभावकारी पहल गर्नुपर्ने उनी बताउँछन् । ‘सरकारले शुरूदेखि नै प्रतिबन्ध खुलाउन पहल गरेको छ । तर, नतीजा केही आउन सकेको छैन,’ उनले भने, ‘सरकारले प्रभावकारी रूपमा पहल गरेमा प्रतिबन्ध खुल्न सक्छ ।’ यद्यपि, साफ्टाअनुसार भारतले पाम आयलमा भन्सार दर लगाउन नै नपाउने समेत उनको दाबी छ । 

नेपालका व्यवसायीहरूले तेस्रो मुलुकबाट कच्चा पाम आयल आयात गरी प्रशोधन गरेर भारतमा निर्यात गर्दै आएका थिए । तर, भारतले प्रशोधित पाम आयलमा रोक लगाएपछि त्यस्ता व्यवसायी मर्कामा परेका छन् । विराटनगर, वीरगञ्ज क्षेत्रमा एक दर्जनभन्दा बढी व्यवसायीले यस्तो व्यवसाय गर्दै आएको बताइन्छ । पछिल्लो समय पाम आयल नेपालको पहिलो निर्यात वस्तु बन्न पुगेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्