ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मनोभावनाले हुन्छ काममा ढिलासुस्ती, समय नपुगेर होइन 

२०७६ माघ, १५  
रोजगारी
Image Not Found

काठमाडौं । गर्नुपर्ने काममा ढिलासुस्ती हुनु वा आफूले तय गरेको समयमा काम सक्न नसक्नु (प्रोक्रास्टिनेशन) अहिले धेरैको समस्या हो । सरकारी कार्यालयहरू त यसमा निकै बदनाम छन् । 

विश्वका चर्चित मानिएका विश्वविद्यालयका अनुसार समय व्यवस्थापन गर्न नसक्नु नै यसको मुख्य कारण हो । परम्परागत सोच यही हो । तर, यो तर्कले सबै ढिलासुस्तीको कारण खुलाउँदैन । महीनौंदेखि गर्नुपर्ने काम पनि हामी नगरी बसिरहेका हुन्छौं । अनावश्यक अन्य कुरामा आफ्नो समय खर्चिरहेका हुन्छौं । त्यसैले अर्को धारणाअनुसार उचित कार्यतालिका बनाएर र समयमा नै काम गर्ने बानी भयो भने काममा हुने ढिलासुस्ती रोक्न सकिन्छ ।  

अहिलेका मनोवैज्ञानिक भने यो मान्यता पनि गलत रहेको ठान्दछन् । क्यानडाको कार्लटन यूनिभर्सिटीका मनोविज्ञ टिम पिचिल र उनकी सहकर्मी बेलायतको सेफिल्ड  यूनिभर्सिटीकी फुसिया सरोईले अघि सारेको अवधारणा अनुसार काममा ढिलासुस्ती हुनु पछाडिको कारण हो, व्यक्तिले आफ्नो मनोभावनाको व्यवस्थापन गर्न नसक्नु । हामीलाई कुनै काममा नरमाइलो महसुस हुन्छ, दिक्क लाग्छ, धेरै गाह्रो वा असफल हुने डर लाग्छ भने हामी त्यो काम बन्द गर्छाैं । 

सरोईको अर्को अनुसन्धानले क्रोनिक प्रोक्रास्टिनेशन (बारम्बार एवं दीर्घकालीन रूपमा काममा ढिलाइ गर्नु ) मानसिक तथा शारीरिक स्वास्थ्यसँग पनि जोडिएको देखाएको छ । के पो हुने हो भन्ने डर (आङ्जाइटी) डिप्रेशन (अवसाद), रुघा र ज्वरो, तथा मुटुसम्बन्धी जटिल रोगसँग पनि काममा हुने ढिलासुस्तीको सम्बन्ध हुनसक्छ । उनका अनुसार काममा हुने ढिलासुस्तीले यस्ता समस्या ल्याउने दुईओटा मार्ग छन् ।

 एक त नियमित रूपमा हुने ढिलासुस्तीले निकै महत्वपूर्ण काम सम्पन्न हुन नसक्दा तनाव बढाउँछ । अर्को काममा ढिलासुस्ती भएको कारण नियमित स्वास्थ्य परीक्षण गर्ने र व्यायाम गर्ने काम पनि छुट्छन् वा ढिलो हुन्छ । यसले समय बित्दै जाँदा जटिल स्वास्थ्य समस्या उत्पन्न हुन्छन् । यसको अर्थ हो काममा हुने ढिलासुस्ती रोक्न सके मानिसको जीवनमा धेरै सकारात्मक असर पर्छ ।  

कसरी रोक्ने ?
एसेप्टेन्स एन्ड कमिट्मेन्ट थेरापी (एक्ट) मा आधारित उपाय अपनाउन सकिन्छ । यो कग्निटिभ बिहेभिअरल थेरापीका आधारमा विकसित विधि हो । तर, यो सबैलाई सहज रूपमा उपलब्ध छैन । 

पिचिल भन्छन् – काममा ढिलासुस्तीको कारण आफ्नो मनोभावनाको व्यवस्थापन गर्न नसक्नु नै हो भन्नेमा तपाईं सहमत हुनुहुन्छ भने मेरो सजिलो सुझाव यस्तो छ – आफ्नो ध्यान निकै सामान्य लाग्ने बुँदामा लगाउनुहोस् । जस्तो कि ‘अब मैले गर्नुपर्ने सबैभन्दा सरल काम के हो ?’ अर्थात मेरो काम सम्पन्न गर्न अब लिन सकिने सजिलो पाइला के हो ?  

यसले तपाईंको मनबाट आफूले गर्न थालेको अप्ठेरा कामको अप्ठेरो पक्षबाट मुक्त गर्छ । काम शुरू गरिसकेपछि धेरै मानिस त्यसमा सजिलै निरन्तरता दिन सक्छन् । त्यसैले शुरूआत गर्नु नै सबैभन्दा महत्त्वपूर्ण भएको उनको भनाइ छ । बीबीसीबाट

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्