ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विश्व बौद्धिक सम्पत्ति दिवस र संरक्षण विधि

अधिकार प्रचलन गराउने निकाय र विधिहरू

२०७७ बैशाख, १४  
लेख | दृष्टिकोण
NA
author avatar मधुसूदन पौड्याल

सन् १९७० को अप्रिल २६ मा विश्व बौद्धिक सम्पत्ति संगठन अस्तित्वमा आएको दिनको सम्झनामा हरेक वर्षको अप्रिल २६ लाई विश्व बौद्धिक सम्पत्ति दिवसका रूपमा मनाइँदै आएको छ । यस वर्षको बौद्धिक सम्पत्ति दिवसको नारा ‘हरित भविष्यका लागि बौद्धिक सम्पत्ति’ रहेको छ । हरित भविष्यको तात्पर्य हो, भावी दिनमा वतावरण, कृषि, वन र हरियालीको स्तरोन्नति । उक्त नाराले यस्तै हरित भविष्यका लागि बौद्धिक सम्पत्तिका सृजना र उन्नयनको भूमिकालाई संकेत गरेको छ । आज गरेको सही विकल्पको छनोटबाट मात्र आउँदो भविष्यको खाँचोलाई सम्बोधन गर्न सकिन्छ । यसै सन्दर्भमा बौद्धिक सम्पत्तिको संरक्षणका विधिहरूको चर्चा गर्नु सान्दर्भिक हुन्छ ।

बौद्धिक सम्पत्ति स्वभावैले चोरीे सम्भाव्य हुन्छ । तत्कालै नियन्त्रण नगरेमा क्षतिपूर्तिले थाम्नै नसक्ने गरी वादी पक्षको अपूरणीय क्षति हुन्छ ।

बौद्धिक सम्पत्ति अधिकार निजी प्रकृतिको अधिकार भएकाले कसैले यसको उल्लंघन गरेमा प्रमाण जुटाउने दायित्व धनीको हुन्छ । अधिकार उल्लंघनका घटनाहरू बरोबर नदोहरिऊन् भनेर दण्डजरीवानाका निर्धारित उपाय अवलम्बन गरी अधिकार प्रचलन गराउनुपर्ने हुन्छ । अधिकार प्रचलन गराउने कार्यविधि मनासिव र न्यायोचित हुनुपर्छ ।  जटिल र खर्चिलो हुनु हुँदैन । तल्लो तहको अदालतले गरेको निर्णयउपर माथिल्लो स्तरको अदालतमा पुनरवलोकन वा पुनरावेदन गर्ने सुविधा हुनुपर्छ ।

अदालती कार्यविधिमा देवानी प्रावधानको साथसाथै अधिकारको उल्लंघन गम्भीर प्रकृतिको भएमा फौजदारी प्रावधानसमेत हुनुपर्छ । अन्तरिम कारबाहीको पनि व्यवस्था हुनुपर्छ । अदालतलाई प्रतिलिपि अधिकार र व्यापार चि⋲नको गम्भीर उल्लंघनसँग सम्बद्ध सामान जफत गरेर नष्ट गर्ने अधिकार पनि हुनुपर्छ । भन्सार अधिकृतलाई बौद्धिक सम्पत्तिसम्बन्धी अधिकार पनि हुनुपर्छ ।

जुनसुकै मुलुकमा बौद्धिक सम्पत्ति अधिकार प्रचलन गराउने मुख्य चार निकाय छन्– सबै तहका अदालतहरू, प्रशासनिक निकायमा बौद्धिक सम्पत्ति कार्यालय, प्रहरी विभाग र भन्सार कार्यालय । हाम्रो मुलुकमा प्रशासनिक निकायमा प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय, उद्योग विभाग र प्रमुख जिल्ला अधिकारीको समेत संलग्नता देखिन्छ । यी सबै कार्यालयले एक वा धेरै कार्यविधि अपनाएर बौद्धिक सम्पत्ति अधिकार प्रचलनमा योगदान पुर्‍याउँछन् ।

बौद्धिक सम्पत्ति अधिकार प्रचलन गराउँदा धेरै किसिमका विधि अपनाउनुपर्छ । ती विधि प्रत्यक्ष वा परोक्ष रूपमा ट्रिप्स सम्झौतामा पनि उल्लेख भएका छन् । अन्तरराष्ट्रिय अभ्यासमा १० प्रकारका विधि छन् ।

पहिलो प्रमाण संकलन विधि हो । विपक्षीको कार्यस्थलको खानतलासी गरी संकलन गर्नुपर्ने भएमा र उत्पादन विधिसम्ग सम्बद्ध पेटेन्ट चोरीको विषय भएमा अदालतबाट अन्तरिम आदेश गराई प्रमाण संकलन गर्न सकिन्छ ।

दोस्रो प्रशासनिक कारबाही हो । बौद्धिक सम्पत्ति अधिकार संरक्षणका लागि प्रहरी विभागले प्रयोग गर्ने अधिकार, बौद्धिक सम्पत्ति कार्यालयबाट सम्पादित हुने दर्ता, अभिलेख, सूचना सम्प्रेषण, प्रारम्भिक उजुरीको सुनुवाइ आदि कार्य प्रशासनिक कारबाही हुन् । तेस्रो विधि भन्सार कार्यविधि हो । यसमा अन्तरराष्ट्रिय ट्रान्जिट नाकामा रहने भन्सार अधिकृतले कानूनले दिएको अधिकार प्रयोग गरी वादीले आफ्नो बौद्धिक सम्पत्ति अधिकार हनन भएको विश्वस्त प्रकरणसहित आवेदन गरेमा र निजलाई प्रतिपक्षीले गम्भीर क्षति पुराउँदै छ भन्ने विश्वास लागेमा पहिले १० दिन र थप १० दिन गरी बढीमा २० दिनसम्म सामान रोक्का राख्न सक्छन् । यो तत्कालीन क्षति रोक्ने र अदालती कारबाहीलाई सुदृढ गर्ने उपाय पनि हो ।

चौथो विधि अदालतबाट जारी हुने निषेधाज्ञा हो । पर्याप्त कारण भएमा र अलिकति कारबाहीको ढिलाइले गम्भीर क्षति हुन सक्छ भन्ने कुरा न्यायाधीशलाई लागेमा अदालती कारबाहीकै क्रममा विपक्षीबाट भएको कामकारबाही रोक्ने आदेश जारी गर्ने अधिकार हुन्छ । यस्तो आज्ञा दुवै पक्षको लाभको सन्तुलन कायम राख्न आवश्यक देखिएमा, तार्किक कारण भएमा र क्षतिपूर्तिबाट नोक्सानी भराउन गाह्रो पर्ने भएमा मात्र जारी गरिने कुरा अमेरिकामा अमेरिकी साइनाइडविरुद्ध इथिकन केसमा प्रतिपादित सिद्धान्त स्थापित भएको पाइन्छ ।

पाँचौं विधि अदालतले बौद्धिक सम्पत्ति अधिकार उल्लंघनकर्ताबाट भराउने क्षतिपूर्ति हो । यो प्रतिलिपि अधिकारको अज्ञानता जनित प्रयोगमा बाहेक सबै किसिमका बौद्धिक सम्पत्तिको क्षति भराउने गरिन्छ । यद्यपि क्षतिपूर्ति भराउँदा रोयल्टीे पाउन सक्ने हिसाबले अथवा गुमेको नाफाका हिसाबले भराउने चलन हुन्छ ।

छैटौं विधि मुनाफाको हिसाब हो । क्षतिपूर्तिको विकल्प र दाबीकर्ताको स्वविवेकी मागमा यो विधि कार्यान्वयन गरिन्छ । मुनाफाको हिसाब भनेको विपक्षीले अधिकार उल्लंघन गरेको बौद्धिक सम्पत्तिबाट वादीलाई समेत आर्जित मुनाफाको न्यायोचित अंश वितरण गर्नु हो । बौद्धिक सम्पत्तिको धनीले कमाइ आएको मुनाफाभन्दा बौद्धिक सम्पत्ति चोर्ने विपक्षीले बढी मुनाफा आर्जन गरेको अवस्थामा क्षतिपूर्तिको सट्टा यो विधिको माग हुन्छ । सातौं विधि दण्डजरीवाना हो । यसमा अदालतले बौद्धिक सम्पत्ति अधिकार हननको अपराध गर्ने पक्षबाट त्रुटिको मात्रा वा नोक्सानीअनुसार आर्थिक जरीवाना गरिन्छ । अपराधी मानसिकताबाट दुरुत्साहन गर्न यसो गरिन्छ । नक्कली सामान जफत तथा नष्ट गर्नु आठौं विधि हो । व्यापार च्यानलहरूबाट संदिग्ध सामान जफत गरेर नष्ट गर्ने वा वादीको सहमतिमा पहिचानमूलक लेबल हटाई कुनै परोपकारी संस्थालाई दान दिने गरिन्छ । यो विधि निषेधाज्ञा वा अन्तरिम आदेशको पूरकका रूपमा पनि अपनाइन्छ ।

अधिकार प्रचलन गराउने कार्यविधि मनासिव र न्यायोचित हुनुपर्छ । जटिल र खर्चिलो हुनु हुँदैन । तल्लो तहको अदालतले गरेको निर्णयउपर माथिल्लो स्तरको अदालतमा पुनरवलोकन वा पुनरावेदन गर्ने सुविधा हुनुपर्छ ।

नवौं विधि अप्रत्याशित खानतलासी हो । यो एक प्रकारको अदालतको अन्तरिम आदेश नै हो । जारी हुने वा नहुने कुरा अदालतको स्वविवेकमा भर पर्छ । खानतलासी गर्ने अनुमति अदालतबाट तोकिएबमोजिम प्रहरी, वकील र वादीमध्ये केही वा सबैलाई हुन सक्छ । स्थानीय प्रतिनिधिको रोहबरमा तथा विपक्षीले बुभ्mने भाषामा स्पष्ट कारण बताई पुर्जी थमाएर मात्र खानतलासी लिई प्रमाण संकलन गर्न पाइन्छ । अदालतले यस्तो आदेश प्रत्यक्ष प्रमाण पेश भएको, प्रत्यर्थीको व्यवहारबाट वादीले गम्भीर क्षति वहन गर्नुपर्ने सम्भावना भएको तथा तत्कालै कारबाही नगरे प्रमाण नष्ट हुने सम्भावना भएको अवस्थामा दिन सक्छ ।

दशौं विधि अदालती कारबाही हो । यसमा दुई प्रकारका कारबाही हुन सक्छन्– देवानी र फौजदारी । सबै किसिमका बौद्धिक सम्पत्ति वस्तुतः निजी सम्पत्ति भएकाले र निजी प्रकृतिका व्यक्ति वा संस्थाको अधिकारको विषयसँग सम्बद्ध हुने भएकाले प्रायःजसो देवानी कार्यविधि नै लागू हुन्छ । प्रतिलिपि अधिकार र व्यापार चि⋲नको सार्वजनिक प्रयोजन पनि रहने भएकाले विपक्षीबाट जानीजानी बौद्धिक सम्पत्ति अधिकारको गम्भीर उल्लंघन गरेमा र व्यापारिक सामानमा प्रयोग भएमा ट्रिप्स सम्झौताअनुसार फौजदारी कार्यविधि पनि आकर्षित हुन्छ ।

कार्यविधि अपनाउने चरणका हिसाबले तत्कालीन र अन्तिम गरी उक्त कार्यविधिहरूलाई दुई भागमा बाँड्न सकिन्छ । बौद्धिक सम्पत्ति स्वभावैले चोरीे सम्भाव्य हुन्छ । तत्कालै नियन्त्रण नगरेमा क्षतिपूर्तिले थाम्नै नसक्ने गरी वादी पक्षको अपूरणीय क्षति हुन्छ । अतः विश्वस्त प्रमाणका आधारमा तत्कालै चाल्न सकिने आदेश जस्तै बौद्धिक सम्पत्ति कार्यालयबाट प्रशासनिक आदेश, अदालतबाट कानूनी आदेश, भन्सार नाकामा वस्तु रोक्का र प्रहरीबाट संदिग्ध सामान बरामदजस्ता कार्यविधि अपनाएर विपक्षीबाट भएका चोरी–नक्कलजस्ता कार्य तत्काल रोक्न सकिन्छ । यी तत्कालीन कार्यविधि भए । यसबाहेक अन्तिम न्याय निरूपणका लागि अदालतले अपनाउने सबै विधि अन्तिम कारबाही हुन् । हाम्रो मुलुकमा भने संरक्षण पाउने बौद्धिक सम्पत्तिहरू पनि सीमित छन् र बौद्धिक सम्पत्ति अधिकार प्रचलनका लागि अपनाइने विधि पनि थोरै मात्र छन् ।

लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका महासचिव हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्