ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अक्शन मार्केटमा कसरी हुन्छ कारोबार ?

गलत प्रविष्टिबाट बच्न आवश्यक

२०७७ बैशाख, १६  
लेख | दृष्टिकोण
NA
author avatar ज्योति दाहाल

शेयरबजारमा शर्टसेल, क्लोज आउट र अक्शन मार्केट चर्चाको विषय बनेका छन् । सामान्य विक्री र शर्टसेल दुवै क्लोज आउट समस्याका सर्जक हुन् भने अक्शन मार्केट यसको समाधान हो । सामान्य विक्रीमा मूलतः भूलवश र शर्टसेलमा जानाजान समस्या सृजना हुन्छ । नेपालमा शर्टसेलसम्बन्धी कानूनी प्रबन्धन नभए पनि नियामककै अप्रत्यक्ष ‘रेखदेख’मा मौलाएको छ । नेपालमा अक्शन मार्केटसम्बन्धी कानूनी व्यवस्था हुँदाहुँदै पनि कार्यान्वयनमा आएको छैन । अक्शन मार्केट नहुँदा क्लोज आउट व्यवस्थित हुन सकेको छैन । कानूनी व्यवस्था भएर पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अक्शन मार्केट सञ्चालन नगरेकाले क्लोज आउट पर्दा (पार्दा) राफसाफ मिति नै सारिँदा पनि सर्वोच्च नियामक नेपाल धितोपत्र बोर्डले नदेखेझैं गरेर शेयरबजारमा वित्तीय अपराधलाई प्रवद्र्धन गरिरहेको जस्तो देखिएको छ ।

विक्रेताले सामान्य विक्रीमा गलत अंक प्रविष्ट गरेर वा शर्टसेल गर्दा सृजना हुने यस्ता समस्यामा क्रेताको कुनै गल्ती नहुने हुँदा उसलाई जसरी पनि शेयर वा जरीवाना दिनुपर्ने हुन्छ ।

विक्रीसम्बन्धी दुई दृष्टान्त
आफूसँग कुनै कम्पनीको जति संख्यामा शेयर छ, त्यति वा सोभन्दा कम विक्री गरिनु (गर्नु) सामान्य र प्रचलित विधि हो । विक्री आदेश प्रविष्ट गर्दा कहिलेकाहीँ भूलवश गलत अंक प्रविष्ट हुने सम्भावनालाई नकार्न सकिँदैन । १ सय कित्ता प्रविष्ट गर्दा एउटा शून्य (०) अंक बढी भएर १ हजार कित्ता हुन सक्छ । त्यस्तै ३ सय ३७ कित्ता प्रविष्ट गर्दा ३ सय ७३ पनि हुन सक्छ । यस्तो थाहा पाउनासाथ कार्यान्वयन (विक्री) हुनुपूर्व नै रद्द गर्न सकिन्छ । प्रविष्ट आदेश रद्द गर्न नभ्याउँदै विक्री भएमा कारोबार रद्द गर्न सकिँदैन र क्रेतालाई जसरी पनि शेयर दिनुपर्छ ।

शर्टसेल पनि शेयर किनबेचको एउटा स्वरूप हो । आफूसँग हुँदै नभएको कम्पनीको शेयर उच्च मूल्यमा बेचेर न्यून मूल्यमा किन्ने विधिलाई शर्टसेल भनिन्छ । तर, यस्तो किनबेच एकै दिन सम्पन्न हुनुपर्छ । दृष्टान्तका लागि आइतवार मध्याह्न १२ बजे आफूसँग नभएको अमुक कम्पनीको १ हजार कित्ता शेयर ५ सय रुपैयाँका दरले विक्री गरिन्छ । अब सोही कम्पनीको त्यति नै कित्ता शेयरबजार बन्द हुने बेलासम्ममा ५ सय रुपैयाँभन्दा कम मूल्यमा किन्ने प्रयास गरिन्छ । केही गरी ५ सय कित्ता शेयर ४ सय ९५ रुपैयाँमा र बाँकी वा पूरै कित्ता (१ हजार) ५ सय १० रुपैयाँमा भए पनि किन्नैपर्ने बाध्यता हुन्छ । नभएको शेयर बेचेर सोही दिन फेरि किन्न सकिएन भने स्वतः क्लोज आउटमा पर्छ । कसैगरी घटी मूल्यमा किन्न पाइएन भने बेचेकोभन्दा बढी मूल्यमा भए पनि किन्नैपर्ने बाध्यता यस्तो विक्रीमा हुन्छ । बेचेको भन्दा कम मूल्य वा बढी मूल्यमा किन्न खोज्दा पनि नपाइन सक्ने सम्भावनालाई टार्न सकिँदैन ।

विक्रेताले सामान्य विक्रीमा गलत अंक प्रविष्ट गरेर वा शर्टसेल गर्दा सृजना हुने यस्ता समस्यामा क्रेताको कुनै गल्ती नहुने हुँदा उसलाई जसरी पनि शेयर वा जरीवाना दिनुपर्ने हुन्छ । यस्तै कारणबाट सृजित समस्या समाधानका लागि अक्शन मार्केटको अवधारणा आएको हो ।

अक्शन मार्केटमा कारोबार
माथिको अनुच्छेदमा वर्णित विक्रीबाट सृजना हुने समस्याको अनौपचारिक जानकारी पहिलो दिनदेखि नै हुने भए पनि औपचारिक जानकारी चौथो दिन (बुधवार) मात्र हुन्छ । आइतवार बेचिएको शेयर क्रेताको खातामा पठाउने कार्य बुधवार हुन्छ । सोमवार र मंगलवार (दोस्रो र तेस्रो) दिन पूँजीगत लाभकर हिसाब गर्नेलगायत अन्य कार्य सम्पन्न गरिन्छ । सबै प्रक्रिया पूरा गरेर क्रेताको खातामा शेयर पठाउने बेलामा मात्र सीडीएसले शेयर प्राप्त नभएको अर्थात् क्लोज आउटमा परेको औपचारिक जानकारी प्राप्त गर्छ । यसपछि सीडीएसले नेप्से र कारोबार सम्बद्ध दलाललाई जानकारी दिन्छ । यसरी जानकारी गराएपछि नेप्सेले नियमित राफसाफ (आइतवारको बुधवार, यसै क्रमले सोमवारको बिहीवार र मंगलवारको शुक्रवार) पश्चात्को भोलिपल्ट (बिहीवार) को नियमित कारोबार सकिएको आधा घण्टापछि आधा घण्टाका लागि अक्शन मार्केट खुला गर्छ । आइतवारका जोजो विक्रेता क्लोज आउटमा परेका छन्, तिनका दलालले ग्राहकका तर्फबाट नपुग शेयर किन्न एकैपटक वा पटकपटक आदेश प्रविष्ट गर्छन् । अक्शन मार्केटमा कारोबारका लागि मूल्य निर्धारण सोही दिनको अन्तिम कारोबार वा आइतवारपछि भएको पछिल्लो अन्तिम मूल्यलाई लिइन्छ र यस मूल्यमा १० प्रतिशत घट्न वा बढ्न पाइन्छ । मानौं, आइतवार ५ सय रुपैयाँमा बेचेर क्लोज आउटमा परेको कम्पनीको बिहीवार वा आइतवारपछि भएको पछिल्लो अन्तिम कारोबारको अन्तिम मूल्य ५ सय २० रुपैयाँ भएमा सोही मूल्यमा १० प्रतिशतले हुने न्यूनतम मूल्य ४ सय ६८ रुपैयाँदेखि अधिकतम मूल्य ५ सय ७२ रुपैयाँसम्ममा किन्नुपर्ने हुन्छ । क्लोज आउटमा परेका कारण जसरी पनि शेयर दिनुपर्ने वा जरीवाना तिर्नुपर्ने हुँदा किन्नैपर्ने बाध्यता हुन्छ र सो दिनको बन्द मूल्यभन्दा कममा पाउने सम्भावना विरलै हुन्छ । क्लोज आउटमा परेको रकमको जरीवाना तिर्नुभन्दा यस्तो मार्केटमा ५ सय ७२ रुपैयाँमा भए पनि किन्नु फाइदा हुन्छ ।

क्रेताले आइतवार किनेको शेयर २ दिन ढिला (शुक्रवार) पाउनु विनागल्तीको सजाय भएकाले क्रेतालाई शेयर मात्र दिएर पुग्दैन । क्रेतालाई विक्रेताबाट क्लोज आउट परेको रकमको ५० प्रतिशत जरीवानासमेत तिराउनुपर्छ ।

अक्शन मार्केटमा कसैगरी आफूले बेचेको भन्दा सस्तो मूल्यमा अर्थात् माथिकै दृष्टान्तअनुसार ४ सय ९० रुपैयाँमा शेयर पाइएमा अन्तर देखिएको १० रुपैयाँ फाइदाको रूपमा प्राप्त हुँदैन । उक्त रकम राफसाफ कोषमा जम्मा हुन्छ । अक्शन मार्केट अन्य कारोबार दिनसरह आइतवारदेखि बिहीवारसम्म मात्र खुल्छ । सार्वजनिक बिदा परेमा अर्थात् आइतवार कारोबार भएर मंगलवार बिदा परेमा राफसाफ दिन पनि बुधवारबाट बिहीवारका लागि सर्छ । बिहीवार नियमित राफसाफ दिन भएमा अक्शन मार्केट शुक्रवार खुल्दैन र एकैपटक आइतवार मात्र खुल्छ । सोही दिनको अन्तिम कारोबार (क्लोज आउट परेको कम्पनीको कारोबार भएमा) वा त्यो भन्दा अघि जुन दिन कारोबार भएको छ सोही दिनको अन्तिम मूल्यका आधारमा अक्शन कारोबार हुन्छ ।

शेयर नपाए जरीवाना
अक्शन मार्केटमा चाहिएजति शेयर प्राप्त नहुन पनि सक्छ । यस्तो अवस्थामा जति पाइन्छ त्यति नै लिनुपर्छ र सोको राफसाफ गर्नुपर्छ । अक्शन मार्केटमा भएको कारोबार राफसाफ भोलिपल्ट हुन्छ । यस्तो भएमा नपाएको जति शेयरको विक्री मूल्यको २० प्रतिशत जरीवाना तिर्नुपर्छ । यसरी तिरिएको जरीवाना रकम क्रेताले प्राप्त गर्छ । माथिकै दृष्टान्तअनुसार मानौं १ सय कित्ता प्रविष्ट गर्दा भूलवश एउटा शून्य (०) अंक बढी भएर १ हजार कित्ता परेमा नपुग ९ सय कित्ता अक्शन मार्केटमा किन्न खोज्दा ५ सय कित्ता प्राप्त भयो र ४ सय कित्ता प्राप्त भएन भने सो कित्ता बेचिएको ५ सय रुपैयाँका दरले हुन आउने २ लाख रुपैयाँको २० प्रतिशत जरीवाना रकम ४० हजार रुपैयाँ क्रेतालाई बुझाउनुपर्छ । यसमा क्रेताबाट आकस्मिक लाभमा लाग्ने करबापत २५ प्रतिशतका दरले हुन आउने रकम १० हजार रुपैयाँ कट्टा गरी बाँकी रहने ३० हजार रुपैयाँ उपलब्ध गराइन्छ ।

अन्त्यमा, क्रेताले आइतवार किनेको शेयर २ दिन ढिला (शुक्रवार) पाउनु विनागल्तीको सजाय भएकाले क्रेतालाई शेयर मात्र दिएर पुग्दैन । क्रेतालाई विक्रेताबाट क्लोज आउट परेको रकमको ५० प्रतिशत जरीवानासमेत तिराउनुपर्छ । त्यस्तै, क्लोज आउट परेको रकम बीचैमा गायब हुने गरेको भन्ने सुनिएको र यस्तो रकम क्रेताले पाउने भन्ने कानूनी व्यवस्था कतै नदेखिएकाले यो रकम प्राप्त हुने सुनिश्चित वातावरण पनि मिलाउनुपर्ने देखिन्छ ।

लेखक धितोपत्रसम्बन्धी जानकार अधिवक्ता हुन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्