ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जुत्ता चप्पलको अवैध आयातले स्वदेशी उद्योग प्रभावित भएका छन्

२०७६ माघ, २०  
अन्तरवार्ता
Image Not Found

बेस फुटवेयर प्रालिका प्रबन्ध निर्देशक होमनाथ उपाध्याय नेपाली जुत्ता घर प्रालिका अध्यक्ष समेत हुन् । नेपालका १० ओटा जुत्ता चप्पल उद्योगको सहभागिता रहेको जुत्ता घरले स्वदेशी जुत्ता चप्पलको बजारीकरणलाई मुख्य उद्देश्य बनाएको छ । २०७२ सालको भूकम्प र त्यसको केही समयलगत्तै भारतले लगाएको आर्थिक नाकाबन्दीको प्रभावले सीमावर्ती नेपाली बजारमा स्वदेशी जुत्ताचप्पलको बजार खुम्चिएपछि जुत्ता घरले केही समययता यस्ता क्षेत्रमा जुत्ता चप्पल व्यापार मेलाको अभियान नै चलाएको छ । यसअघिसम्म संघीय राजधानी काठमाडौं केन्द्रित जुत्ता चप्पल व्यापार मेलालाई अहिले मुख्य सीमावर्ती शहरमा सञ्चालन गरिरहेको छ । पूर्वी शहर विराटनगरपछि अहिले वीरगञ्जमा जारी जुत्ता चप्पल व्यापार मेला–२०७६ फागुनको ९ गतेसम्म सञ्चालनको योजना छ । नेपालमा जुत्ता चप्पलको उत्पादन, बजारको अवस्था, सम्भाव्यता र समस्याको निराकरणका उपायबारे आर्थिक अभियानले उपाध्यायसँग गरेको संवाद : 

नेपालमा जुत्ता चप्पल उत्पादन र बजारको अवस्था कस्तो छ ? 
नेपाली जुत्ता चप्पल उद्योगले २०६१ सालयता १ दशकजति राम्रो प्रगति गरेका थिए । २०७२ सालको भूकम्प र त्यसलगत्तै भारतले लगाएको नाकाबन्दीले उद्योगको स्वाभाविक गति केही हदसम्म प्रभावित भयो । तर पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो उद्योगलाई एकीकृत व्यापार रणनीतिअन्तर्गत निकासीको सम्भावनायुक्त उद्यममा राखेको छ । त्यसअघि १९ वस्तुलाई निकासीयोग्य पहिचान गरिएकोमा अपेक्षित उपलब्धि नभएपछि ६ ओटा बाहिरिएको अवस्थामा फुटवेयर त्यसमा पर्न सक्नु सकारात्मक हो । यो निर्यातजन्य र आत्मनिर्भरउन्मुख उद्योग हो । धेरैभन्दा धेरै रोजगारी दिन सक्ने भनेर पहिचान बनाउन सफल भएको छ । यी फुटवेयर उद्यमका सकारात्मक पक्ष हुन् । 

नाकाबन्दीबाट उद्योग कसरी प्रभावित भए ? 
त्यसबेला हाम्रा उद्योग ६ महीना बन्द भए । सरकारले जसरी आए पनि आपूर्तिलाई नै मुख्य कुरा मान्यो । अनधिकृत आयातले पनि प्रश्रय पायो । त्यसले नेपाली बजारमा भारतीय जुत्ता चप्पलको विक्री बढ्यो । राजस्व छलेर भित्रिएका जुत्ता चप्पल उपभोक्ताले सस्तोमा पाए भने विक्रेताले यसबाट बढी नाफा पनि कमाए । त्यसअघि सीमावर्ती नेपाली बजारमा नेपाली जुत्ता चप्पलमात्र देखिन्थ्यो । अहिले साइनबोर्ड पनि भेट्टाउन कठिन छ । यसले हामीलाई पछि पार्‍यो । भारतीय उत्पादनलाई उछिन्नै सकेनौं । 

गुमेको बजारमा पुनः स्थापित हुने योजनाहरू के के छन् ? 
हामीले उत्पादनमा सुधार गरेका छौं । शुरूमा हामीले जसरी ब्रान्डिङमा खर्च गर्थ्यौं । त्यो क्षमता अहिले छैन । यद्यपि, उपभोक्तामाझ हाम्रो बेग्लै पहिचान छ । सीमावर्ती नेपाली बजारमा जुत्ता चप्पलको मेलालाई अभियानको रूपमा अघि बढाएका छौं । जुत्ताको मेला लागेपछि उपभोक्ताको भीड लागेको छ । यस्ता मेलामा प्रडक्टका बारेमा चासो राख्नेहरू बढेका छन् । जुस र चाउचाउ बेच्नेले बाटोमा बसेर निःशुल्क वितरण गरेर बजारीकरण गर्न सक्छ । तर, लागत बढी पर्ने भएकाले हामीले त्यसो गर्न सक्दैनौं । नाफा नखाएर लागत मूल्यमा उपभोक्तालाई १५ देखि ५० प्रतिशतसम्म छूट दिएर बजारीकरण गरिरहेका छौं । डिलरलाई दिने नाफा उपभोक्तालाई छूटको रूपमा दिएका छौं । यसबाट उपभोक्ता लाभान्वितमात्र भएका छैनन्, हाम्रा उत्पादनको पनि बजारीकरण भएको छ । वीरगञ्जको मेलामा मात्रै ७ कम्पनीका ३ हजार थरी जुत्ता चप्पल प्रदर्शनीमा राखिएको छ । 

नेपालमा जुत्ता चप्पलको खपतको अवस्था कस्तो छ ? 
नेपालमा एक वर्षमा ७ करोड जोडी जुत्ता चप्पल खपत हुने अनुमान छ । तीमध्ये ४ करोड जोडी स्वदेशी उद्योगले उत्पादन गरेका छन् । बाहिरबाट ३ करोड जोडी आउँछन् । वर्षमा ३६ अर्ब रुपैयाँबराबरको कारोबार हुन्छ । स्वदेशी जुत्ता चप्पल उद्योगमा १७ अर्ब रुपैयाँ लगानी पुगेको छ । सानाठूला गरेर १५ सयजति उद्योग सञ्चालनमा छन् । एक समय निकासीमा सबैभन्दा ठूलो योगदान जुत्ताले दिएको थियो । तर, पछिल्लो समयमा निकासीमा अवरोध हुन थालेको छ ।
 
निकासीमा कस्ता समस्या छन् ? 
भारततर्फको अवरोध भनेको प्रतिस्पर्धा नै मुख्य हो । भारतमा नेपाली ब्रान्डकै नक्कली जुत्ता उत्पादन भएको पनि पाइएको छ । नाकाबन्दी, भारतमा लागू भएको बस्तु तथा सेवा कर (जीएसटी) र नोटबन्दीजस्ता व्यवस्थाले पनि निर्यात प्रभावित भएको हो । 

सरकारले निकासीयोग्य वस्तुको सूचीमा राखेको छ । यसबाट उद्योगीले कत्तिको लाभ लिएका छन् ?  
यसबाट उद्यमलाई सहजीकरण भएको छ । पहिलो वर्ष जर्मन प्रोजेक्ट जीआईजेड अन्तर्गत अध्ययन अनुसन्धानका काम भए । अन्तरराष्ट्रिय बजार प्रवद्र्धनका लागि विदेश भ्रमणहरू पनि भए । यसबाट अन्तरराष्ट्रिय बजारको मागबारे जानकार हुने अवसर मिल्यो । उद्यमका चुनौती सम्बोधनका उपायका काम भएका छन् । दक्ष जनशक्तिका लागि तालीम र उद्योगका लागि औद्योगिक क्षेत्रको विकासलगायत काम पनि भएका छन् । स्वदेशी उद्यम प्रवर्द्धनका लागि आयातित जुत्ता चप्पलमा भन्सार मूल्यांकन र दरमा संशोधन पनि भएको छ । चालु वर्षको बजेटमा तयारी जुत्ताको आयातमा भन्सार महशुल २० बाट ३० प्रतिशतमा पुर्‍याइएको छ । निर्यातमा ३ प्रतिशत अनुदान पाएको छ । तर, नियम र कानूनको कार्यान्वयन त्यति प्रभावकारी नहुँदा त्यसको पूरा लाभ लिन सकिएको छैन । आयात प्रतिस्थापनको मूल समस्या चोरी पैठारी हो । खुला सिमानाको दुरुपयोग गरेर भित्रिने उत्पादनका कारण स्वदेशी उद्योगलाई मार परेको छ । 

भन्सार मूल्यांकन र राजस्वमा चलखेल गरेर आयात प्रतिस्थापन गर्दा मूल्यमा स्वदेशी उत्पादकको मनपरी चल्दैन ?
होइन, मूल्यमा मनपरी हुनै सक्दैन । आयात बन्द हुँदा पनि आन्तरिक प्रतिस्पर्धा त छँदैछ नि । प्रतिस्पर्धा बढेपछि मूल्य स्वतः कम हुन्छ । स्वदेशमा उद्योग चल्दा अर्थतन्त्रमा त्यसको चक्रीय प्रभाव हुन्छ । आयात घट्दा डलर बाहिरिने क्रम पनि कम हुने भयो । रोजगारी सृजना हुन्छ । १० करोड रुपैयाँको व्यापारले पाँचजनालाई रोजगारी दिन्छ भने त्यति नै परिमाणको लगानीमा खुलेको उद्योगले १०० जनालाई रोजगारी दिन सक्छ । उद्योग त एसेम्बल नै भए पनि राम्रो हो । यसले मूल्यअभिवृद्धिमा योगदान पुर्‍याउँछ ।

स्वदेशी उद्यम प्रवर्द्धनका लागि के कुराको खाँचो देख्नुहुन्छ ? 
स्वदेशी उद्योग प्रवद्र्धनका लागि प्रदर्शनी स्थलहरूको व्यवस्था गरिनु पर्दछ । मेला अयोजना गर्न जाँदा कहीँ पनि गतिलो प्रदर्शनीस्थल छैन । काठमाडौंमा भएको प्रदर्शनीस्थल पनि व्यवस्थित छैन । कम्तीमा प्रत्येक प्रदेशमा एउटा प्रदर्शनीस्थल बनाइनु पर्दछ । अन्तरराष्ट्रिय मेलामा जाने र उत्पादन पुर्‍याउन सबै उद्यमीको हैसियतले पुग्दैन । सरकार र उद्यमीबीच यसमा सहकार्य हुनुपर्ने देखिन्छ । कच्चा पदार्थको आयातमा सहुलियत पाउनु पर्दछ । कतिपय वस्तु हाम्रा लागि कच्चा पदार्थ हुन्छन् भने ती वस्तु अरूका लागि तयारी पदार्थ पनि हुन्छन् । अहिले हामीले आयात गर्ने कच्चा पदार्थमा भन्सार महशुल, मूल्यअभिवृद्धि कर र अन्य कर गर्दा ४० प्रतिशतसम्म पुग्छ । त्यसको पहिचान गरेर कच्चा पदार्थको रूपमा उपयोग हुने वस्तुलाई कच्चा पदार्थकै व्यवहार अनुसार राजस्व तोकिनु पर्दछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्