ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

परिस्थितिलाई बिथोल्न खोजे स्वीकार गरिंदैन : प्रधानमन्त्री 

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयासमा सञ्चार माध्यमहरु सहभागी भएको आरोप

२०७७ बैशाख, १९  
समाचार
Image Not Found
author avatar टीपी भुसाल

वैशाख १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको वर्तमान परिस्थितिलाई कसैले बिथोल्न खोजे स्वीकार नगर्ने बताउनु भएको छ । मे दिवसका अवसरमा शुक्रवार सन्देश दिंदै प्रधानमन्त्री ओलीले  आफ्ना स-साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले परिस्थितिलाई बिथोल्न र बिगार्न प्रयास गरे त्यस्ता प्रयासलाई सफल हुन नदिने बताउनु भएको हो ।

प्रधानमन्त्रि ओलीले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको र ती प्रयासमा केही सञ्चार माध्यमहरु पनि सहभागी भएको आरोपसमेत लगाउनु भएको छ । 

‘केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ, एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद् कुरा हो,’ प्रधानमन्त्रिको सन्देशमा उल्लेख छ  ।

सन्देशमा कोरोना भाइरसका कारणले देशको उत्पादन प्रणालीको कडी टुटेको र श्रमको प्रतिक्षामा रहेका उत्पादनका साधनहरु पनि लकडाउनमा रहेको अवस्थामा  पनि यसलाई स्वीकार्नु बाध्यता रहेको उल्लेख छ  । प्रधानमन्त्रिले निर्माण, रोजगारी र उत्पादनमा पारेको प्रतिकूल प्रभावको अवस्थाले श्रम र उत्पादनको सम्बन्ध एवं त्यसको महत्वलाई सबै वर्गले गम्भीरताका साथ बुझ्ने नयाँ परिस्थिति पनि निर्माण भएको बताउनु भएको छ । 

प्रधानमन्त्रीको सन्देशको पूर्णपाठ :

स्वदेश तथा विदेशमा रहनुभएका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरु,

मे दिवस २०२० को अवसरमा हार्दिक शुभकामना ।

वितेका १३१ वर्षदेखि औपचारिक रुपमा, मे १ का दिन, संसारभरिका श्रमिकहरुले अन्तरराष्ट्रिय श्रमिक दिवस मनाउँदै आएका छन् । यो दिन, काम गर्नेमाथि काम लगाउनेहरुबाट भएको ज्यादतिलाई अन्त्य गर्न ट्रेड युनियनहरूले शुरु गरेको आन्दोलनको स्मरणमा मनाउन थालिएको हो । 

श्रमिकहरुको ‘काम, मनोञ्जन र आराम’ बीच सन्तुलन कायम गर्ने माग स्थापित गरिएको दिनका रुपमा यस दिवसलाई स्मरण गर्ने गरिन्छ । नेपालको श्रम आन्दोलनले यस दिवसलाई श्रमिकहरुको ‘सम्मानित, समृद्ध र सिर्जनशील’ जीवनको लागि भएका सबै आन्दोलनहरुको स्मरणमा मनाउँदै आएको छ । पछिल्ला केही बर्ष यता, हामीले यस दिवसलाई नेपाली श्रमिकहरुको ‘एकता र उपलब्धि’को उत्सवका रुपमा पनि मनाउँदै आएका छौं ।

हरेक वर्ष ‘श्रमको संसार’मा भएका उपलब्धिहरुको चर्चा गर्ने र गर्न बाँकी कामहरुलाई पूरा गर्ने अठोट गर्ने दिनका रुपमा पनि मे १ लाई लिँदै आएका छौँ । तर यस वर्षको मे दिवस हामीहरु भिन्न रुपमा मनाउँदै छौँ । 

कोरोना भाइरसको महामारीका कारण हाम्रो श्रमको संसार अहिले लकडाउनमा छ । मैले पहिले पनि भनेको छु, अहिले यतिबेला विश्वभरिका कोरोना प्रभावित २१० मुलुकमा जस्तै हाम्रो देशको पनि उत्पादन प्रणालीको कडी टुटेको छ । 

हाम्रा सिर्जनशील हातहरु यतिखेर लकडाउनमा छन । हाम्रो श्रमको प्रतिक्षामा रहेका उत्पादनका साधनहरु पनि लकडाउनमा छन । अहिलेको लकडाउन विश्वव्यापी हो र यो बाध्यकारी रहेको छ । 
कोरोना भाइरसका कारणले यसलाई स्वीकार्नु परेको बाध्यता हाम्रा अगाडि छ । यसले निर्माण, रोजगारी र उत्पादनमा पारेको प्रतिकूल प्रभावको अवस्थाले श्रमजीवी वर्गको बुझाइ जस्तै श्रम र उत्पादनको सम्बन्ध एवं त्यसको महत्वलाई सबै वर्गले गम्भीरताका साथ बुझ्ने नयाँ परिस्थिति पनि निर्माण भएको छ ।

 श्रम आधारभूत कुरा हो र जीवन प्रमुख कुरा हो । श्रम बिनाको पूँजी र प्रविधि पनि अर्थहीन हुन्छ भन्ने आजको यथार्थले स्पष्ट पारेको छ ।

उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका श्रमिकहरुका कष्टकर जीवनप्रति म अत्यन्तै दुःखी छु । एक दशकको हिंसात्मक द्वन्द्वका कारण गाउँको रोजगारी खोसिँदा शहर, बजार पसेका, तर शहर, बजारले रोजगारी दिन नसक्दा परदेश भासिएका लाखौं नेपाली युवा श्रमिकहरु विभिन्न मुलुकमा कार्यरत छन् । 

युवाहरु विदेशिने यी र अन्य विभिन्न बाध्यकारी परिस्थिति तथा प्रवृत्ति पनि छन् । र, अहिले कोरोना भाइरसको महामारीका कारण ‘न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने’ चेपुवामा श्रमिकहरू परिरहेका छन । यसबाट सिर्जना भएको पीडाप्रति म जानकार तथा संवेदनशील छु । यस अप्ठ्यारो घडीमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक ऐक्यबद्धता जाहेर गर्दछु ।

दिदीबहिनी तथा दाजुभाइहरु,
विगत दुई वर्षदेखि हाम्रो अर्थतन्त्रले तीब्र विकासको लय समातेको थियो । सरकारको संयोजनमा उद्यमी तथा श्रमिक दुवै पक्षबीच उच्च समझदारी कायम रहेको थियो । त्यही समझदारीका कारण श्रमिकको न्यूनतम पारिश्रमिक, इतिहासमै उच्च अर्थात ३९ प्रतिशतले वृद्धि भएको थियो । 

नियमित जस्तो औद्योगिक द्वन्द्वको पीडा झेलिरहेको नेपाली श्रमको दुनियाँमा ‘हडताल र तालाबन्दी’ सबैले बिर्सिसकेको नमिठो सपना जस्तो भइसकेको थियो । हाम्रो आर्थिक वृद्धि दोहोरो अंकको लक्ष्य हासिल गर्नेतर्फ लम्किएको थियो । सरकारले श्रम क्षेत्रमा पहिलो वर्षको तुलनामा दोस्रो वर्ष झण्डै दोब्बर बजेट बृद्धि गरेको थियो । दक्ष जनशक्ति निर्माण, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र सुरक्षित तथा सुलभ वैदेशिक रोजगारीका चार लक्ष्यमा आधारित विभिन्न कार्यक्रमहरु श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत सञ्चालनमा आएका थिए ।

यो दुई वर्षको अवधिमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २२ लाख श्रमदिन बराबरको रोजगारी सिर्जना गरिएको थियो । श्रमिकको पारिश्रमिक बैंकमार्फत भुक्तानी गर्ने र काम गर्दाको समयमा वा सेवा निवृत्त भएपछिको जीवनलाई सुरक्षित गर्न योगदानमा आधारित सामाजिक सुरक्षाको शुरुवात गरियो । 

एक वर्षमा कम्तिमा एक सय दिन बराबरको रोजगारीको प्रत्याभूति अर्थात् ग्यारेन्टी गरियो । विभिन्न मुलुकसँंग श्रम सम्झौता गर्ने र प्रविधिमा आधारित सरल श्रमसम्बन्धी सेवाहरु थालियो । बेरोजगार लक्षित सीप विकास र उद्यमशीलता प्रबद्र्धन कार्यक्रम सञ्चालन गरियो । उच्च शिक्षा हासिल गरेका युवाहरूको लागि शैक्षिक प्रमाणपत्र धितोमा राखेर पाँच प्रतिशत ब्याज अनुदानमा सात लाखसम्म ऋण उपलव्ध गराउन थालिएको थियो ।

तर, यस मे दिवसको संघारमा आज हामी, कोरोना महामारीका बिरुद्धको युद्धमा होमिएका छौं । तत्कालको लागि हाम्रो प्रयास यस महामारीले सिर्जना गरेको समस्या सामना गर्नेतर्फ केन्द्रित छ । यतिखेर सरकार, कोरोना संक्रमणको रोकथाम, पहिचान, परीक्षण र उपचारमा लागि परेको छ । 

यसमा कमी नआओस भनेर नै महामारी विरुद्धको यस युद्धको अग्र मोर्चामा रहनुभएका सबैका लागि पच्चिस लाख रकम बराबरको बीमा गरिएको छ । व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्थाका साथै उनीहरुको भत्तामा शतप्रतिशतसम्म थप गरिएको छ । 

लकडाउनको अवधिको पारिश्रमिक कायम गर्न र महिला स्वास्थ्य स्वयंसेवीहरुलाई एकमुष्ट एक हजार ५०० रुपियाँ थप भत्ताको व्यवस्था गरिएको छ । सामाजिक सुरक्षा कोषमा आवद्ध सम्पूर्ण श्रमिकहरुको आयमा कमी नआओस भनेर नै प्रत्येक श्रमिकको योगदान बराबरको रकम सरकारले नै कोषमा जम्मा गरिदिएको छ । 

सामाजिक सुरक्षा कोषमा योगदान गर्दा लाग्ने दोहोरो करको व्यवस्था हटाइएको छ । विद्युतको उपभोगमा सहुलियतको व्यवस्था गरी सुलभ मोलमा इन्डक्सन चुल्होको व्यवस्थासमेत गरिएको छ । दैनिक गर्ने कामबाट जीवन धानिरहेकाहरुलाई भोकै पर्न नदिन नेपालमा ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने सरकारको नीति अन्तर्गत स्थानीय तह, प्रदेश तथा केन्द्रीय प्रशासनको संयोजनमा राहतको व्यवस्था गरिएको छ ।

श्रमजीवी दाजुभाई तथा दिदीबहिनीहरु,

म ठान्दछु, श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, तर सुखको सपना देख्ने वर्ग हो । परिवर्तनको संबाहक हो । र, सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि आफैं अघि सरेर समस्याको सामना गर्न सक्ने वर्ग श्रमजीवी वर्ग हो । 

कोरोना भाइरसको महामारीका बिरुद्ध अग्रपंक्तिमा रहेर जुधिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाई लगायतका सेवामा क्रियाशील श्रमजीवीहरु यसका उदाहरण हुन । जसको अथक परिश्रमले कोरोना भाइरस बिरुद्धको लडाईँमा विश्वस्तरमा उल्लेख गर्नलायक सफलता हाम्रो मुलुकले प्राप्त गरेको छ । 

हालसम्म यो महामारी समुदाय स्तरमा फैलिनबाट रोकिनु र कुनै पनि मानवीय क्षति नभएको गर्विलो रेकर्ड कायम रहनु सन्तोषको विषय हो । आफैंलाई जोखिममा पारी अरुको जीवन रक्षामा संलग्न उहाँहरु सबैको म उच्च प्रशंसा गर्न चाहन्छु ।

मलाई थाहा छ, अवधिको हिसाबले यसबर्ष श्रमिकहरुको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने वर्ष हो । तर तपाईँ हामी सबैलाई थाहा छ, अहिले परिस्थितिले हामीलाई साथ दिइरहेको छैन । 

८. दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिको उच्च आकांक्षाका साथ अघि बढेका हामीहरु ३ प्रतिशत वा त्यसभन्दा कमको आर्थिक वृद्धिमा खुम्चिन पो पर्ने हो कि भन्ने अवस्थाले गम्भीर बनेका छौं । 

मैले पहिले पनि भनिसकेको छु, हाम्रो जीडीपीको झण्डै ४ प्रतिशत यस महामारीका कारण क्षति भइसकेको छ । विश्वस्तरमा तुलनात्मक रूपमा हेर्ने हो भने रोजगारी र अर्थतन्त्रको अहिलेको अवस्था अघिल्लो शताब्दीको महामन्दीमा जस्तै वा त्यो भन्दा पनि भयावह हुने आँकलन गर्न थालिएको छ ।

सन १९३० को दशकमा भएको महामन्दीमा काम गर्ने उमेर समूहका, कुनै औद्योगिक मुलुकमा २३ प्रतिशत र कतिपयमा ३३ प्रतिशतसम्म बेरोजगार भएका थिए । यस महामारी पछिको पहिलो चार महीनामा नै २० औं शताव्दीको त्यस दशकको भन्दा ज्यादा श्रमजीवीहरु बेरोजगार भइ सकेका छन् ।

महामन्दीको त्यस समयमा, सिंगो एक दशकमा कूल गार्हस्थ उत्पादनमा जति संकुचन आएको थियो, यस महामारीको पहिलो चार महीनामा ती विकसित अर्थतन्त्रमा, त्यसको झण्डै ३ गुणा बढी संकुचन आएको छ । तर घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन । 

रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ । तपाईँहरुको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ ।
कसरी ?
अबका हाम्रा सबै प्रयास स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हुनेछन् । भूकम्पपछिको यस दशकलाई हामीले पुनर्निर्माणको दशक भनेझैं, अबको हाम्रो पहिलो लक्ष्य कोरोनाबाट हाम्रो समाजलाई मुक्त बनाउनु हुनेछ । 

यसभन्दा अघिल्ला सम्बोधनहरुमा पनि मैले चर्चा गरेको थिएँ, यस महामारीले जनस्वास्थ्यको क्षेत्रमा हाम्रो हविगत उदाङ्गो पारिदिएको छ । जसरी २० औं शताब्दीको महामन्दीले पूँजीवादी प्रणालीको चरित्र नै फेर्नेगरी अर्थव्यवस्थामा कल्याणकारी आयाम थप्न विकसित मुलुकलाई बाध्य र्पायो, यस महामारीले हामीलाई स्वास्थ्य संरचनामा थप लगानी गर्न प्रेरित गरेको छ ।

हाम्रो संविधानले ग्यारेन्टी गरेझैं स्वस्थ नागरिक निर्माण गर्न स्वास्थ्य बीमा सहितको जनस्वास्थ्यमा र सीपयुक्त नागरिक निर्माणको लागि शिक्षामा लगानी बृद्धि गरिने छ । ‘आजको लागि स्वास्थ्य, भोलिका लागि शिक्षा’ अबको हाम्रो दिशा हुनेछ । यस महामारीको प्रभावले आत्मनिर्भर अर्थतन्त्रको महत्वलाई पनि अझ बढी स्पष्ट पारेको छ । अबका हाम्रा कदमहरू निश्चय नै त्यस दिशातर्फ सुदृढ ढंगले उन्मुख हुनेछ ।

कोरोना महामारी विरुद्धको लडाईंमा एक हुँदै श्रमिकको रोजगारी, आय र सामाजिक सुरक्षा सुनिश्चित गर्ने दिशातर्फ हाम्रो सम्पूर्ण प्रयास केन्द्रित हुनेछ । 

सबैभन्दा पहिले टुटेको उत्पादन सम्बन्धको कडीलाई जोड्ने र अवरुद्ध उत्पादन प्रणालीलाई सुचारु गरिने छ । राहत सुविधा अल्पकालीन उपाय मात्रै हो । सबैलाई काम, हाम्रो पहिलो लक्ष्य हुनेछ । श्रमसँग जोडिएकाहरुलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गरिनेछ । 

काममा जो छन्, उनीहरुका लागि न्यूनतम पारिश्रमिक सुनिश्चित गरिनेछ । काममा संलग्न कसैको पनि आम्दानी रोकिने वा खोसिने स्थिति आउन दिइने छैन । संघ, प्रदेश र स्थानीय तहमा, श्रम–प्रधान प्रविधि परिचालनको प्रबन्ध गरिने छ । श्रम र प्रविधिको संयोजन तथा ज्यालासहित जनसहभागिताको विकास मोडेल अवलम्बन गरिने छ ।

वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई उनीहरुले हासिल गरेको दक्षता अनुरुपको स्वरोजगारी सिर्जना गर्न सरल कर्जा र प्रविधि हस्तान्तरणको प्रबन्ध गरिने छ । स्वदेशमा रहेका वा विदेशमा रोजगारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा जोडिने छ । 

विभिन्न मन्त्रालय, निकाय र सार्वजनिक संस्थाहरु मार्फत सिर्जना भएका कामका अवसरहरु नेपालीलाई नै सुनिश्चित गर्ने व्यवस्था मिलाइने छ । यस सन्दर्भमा हाम्रा श्रमिकहरुमा रहेको सीपको खाडलका कारण हुनसक्ने श्रमिकहरुको अभावलाई सम्बोधन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र श्रम तथा सीप तालीमसम्बन्धी सबै निकायका कार्यक्रमहरुलाई एकीकृत रुपमा परिचालन गरिने छ ।

सीपको अन्तरलाई सम्याउन आवश्यक परेमा सबै पालिका तहमा छोटो अवधिका घुम्ती तालीम शिविरसमेत सञ्चालनमा ल्याइने छ । 

हाम्रो युवा जनसंख्याको जनसांख्यिक लाभलाई अधिकाधिक सदुपयोग गरिने छ । त्यस्तो युवा जनशक्ति, जुन उत्पादक जनशक्ति हुनेछ । त्यस्तो  उत्पादक जनशक्ति, जुन सीपयुक्त र पूँजी सहितको प्रविधियुक्त हुनेछ । त्यस्तो युवाशक्ति, जुन अन्वेषण र व्यावसायिक ज्ञानयुक्त हुनेछ । 

कृषिको आधुनिकीकरण र व्यवासायीकरण मार्फत उत्पादन र रोजगारी बृद्धि गरिने छ । जमिन नहुने श्रमिकहरुका लागि भूमि बैंकलाई कार्यान्वयनमा ल्याई त्यसैको माध्यमद्वारा भूमिको व्यवस्था गरिने छ । बैंकहरुबाट सुलभ कर्जाको बन्दोबस्त गर्ने र सरकारद्वारा सीप तालीमको प्रत्याभूति गरी समन्वयात्मक ढंगबाट कामलाई अघि बढाइने छ ।

विगतका जनआन्दोलन र द्वन्द्वकालका युवा तथा अरू घाइतेहरु अझै पनि उपचारबिहीन अवस्थामा रहिरहेका छन् । तिनको उपचारका लागि सरकारले पटकपटक गरेका आव्हान र प्रयासहरुको सन्देश उचित रुपमा संप्रेषण हुन सकेन । म आव्हान गर्दछु, सम्पूर्ण घाइतेहरु प्रशासनको संपर्कमा आउनुहोस् । अब आफ्नो शरीरमा गोली र छर्रा बोकेर नबस्नुहोस्, उपचारको प्रबन्ध सरकारले गर्छ । यस प्रयासबाट सबै घाइतेहरू पूर्ण निको भई श्रम बजारमा कार्यरत हुन सक्नेछन् ।

दिदीबहिनी तथा दाजुभाइहरु,
नेपाली समाजको परिवर्तन र अहिलेको स्थायित्व एवं विकासको परिस्थिति आफैं निर्माण भएको होइन । सही विचार र गन्तव्यमा आधारित बलिदानपूर्ण संघर्ष र सचेत प्रयासबाट मात्रै यस परिस्थितिको निर्माण भएको हो । 

आज नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ । एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद् कुरा हो ।

आफ्ना ससाना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु ।

नेपालको राजनीतिक आन्दोलनले ट्रेड युनियन आन्दोलनलाई वैचारिक नेतृत्व गरिरहेको छ । तर नेपाली ट्रेड युनियन आन्दोलनले राजनीतिक आन्दोलनलाई धेरै कुरा सिकाएको छ – अप्ठ्यारोमा नहड्बडाउने, अनिकालमा मिलेर बीऊ जोगाउने, सहकालमा भएका नाफाको न्यायोचित वितरणमा सामाजिक सम्वाद गर्ने, अनि विविधता बीच एकता कायम गरी अघि बढ्ने ।

ट्रेड युनियनले हामीलाई सिकाएको छ - ‘आपसी एकता र युनियन बनाउने भनेको भर्‍याङको खुट्किलो थपेजस्तै हो । तल्लो खुट्किलो बलियो भएमात्रै माथि पुगिन्छ । त्यसैले तल हेरौं, माथि मात्रै होइन ।’

त्यसैले म भन्न चाहन्छु, आजको अप्ठ्यारो घडीमा मिलेर अघि बढ्नु पर्छ, युनियन जस्तै । हामीले आफ्ना आकांक्षाको आकाशतिर माथिमाथि मात्र होइन, जनता भएतिर तल पनि हेर्नुपर्छ, युनियनले भने जस्तै । कमीकमजोरी भए सच्याउनु पर्छ । तर, अराजक होइन– अनुशासित हुनुपर्छ । समयको ख्याल गर्नुपर्छ । 

आफैंलाई घात गर्ने होइन इमान्दार बन्नुपर्छ, युनियनले भने जस्तै । यस प्रसंगमा नेपालका मान्यताप्राप्त ट्रेड युनियनहरुले निर्माण गरेको उनीहरुको साझा संस्था– जेटियुसीसीलाई म स्मरण गर्न चाहन्छु । र, यसको छाताभित्र समेटिएका सबै ट्रेड युनियनहरु, तिनमा आबद्ध श्रमिकहरु र सम्पूर्ण श्रमजीवी जनसमुदायहरुलाई यस वर्षको मे दिवसको अवसरमा म हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्