ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

निर्वाचनमा गरिएका प्रतिबद्धता पूरा गर्दै छौं

२०७६ माघ, २२  
अन्तरवार्ता
Image Not Found

बैतडीका १० स्थानीय तहमध्ये मेलौली नगरपालिका प्राकृतिक स्रोतसाधन र धार्मिक पर्यटकीय सम्पदामा धनी छ । यो नगरपालिका ११९ दशमलव ४३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २२ हजारभन्दा बढी जनसंख्या रहेको मेलौलीमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि विकास निर्माणले गति लिन थालेको छ । कृषि, पर्यटन र पूर्वाधार : मेलौलीको विकासको मूल आधार’ नाराका साथ नगरपालिका अघि बढेको छ । प्रस्तुत छ, नगरका विकास निर्माण, कार्यप्रगति, योजना लगायत विषयमा नगर प्रमुख कृष्णसिंह नायकसँग आर्थिक अभियानका बैतडी संवाददाता मोहन चन्दले गरेको कुराकानीको सार :

तपाईं नगर प्रमुख भएर आएपछि जनताले महसूस गर्ने गरी भएका काम के के हुन् ?
हामीले निर्वाचनका बेला जनतासँग गरेका वाचा अहिले पूरा गर्दै लगेका छौं । त्यति बेला दुई–तीनओटा प्रतिबद्धता गरेका थियौं । तीमध्ये पहिलो त सुर्नया जलविद्युत् आयोजना पूरा गरेका छौं । दोस्रो, जनता बिरामी हुँदा निजी गाडी प्रयोग गर्ने बाध्यता हटाएर एम्बुलेन्सको व्यवस्था गरी सेवा दिएका छौं । बैंकिङ कारोबारका लागि जनताले सदरमुकाम जानुपर्ने बाध्यता थियो । अहिले बैंकका शाखा स्थापनामा सघाएर त्यो समस्याको पनि समाधान गरेका छौं । त्यसैगरी शिक्षा, सडक, खानेपानी लगायतको काम अघि बढाएका छौं ।

नगरपालिकाले सञ्चालन गरेका योजनाको प्रगति कस्तो छ ?
नगरका काम सन्तोषजनक रूपमै भइरहेका छन् । विकास निर्माणको प्रगति तुलनात्मक रूपमा राम्रो छ । अहिले हामीले साना सनना योजना बनाएका छैनौं । ठूला योजना मात्र अघि बढाएका छौं । जनताको माग अनुसारका योजना निर्माण गरिएको छ । सबै जनतालाई समेट्ने गरी योजनाको कार्यान्वयनमा जोड दिएका छौं । योजनाहरूको समय समयमा अनुगमन गर्दै आएका छौं । उपभोक्ता समितिलाई तालीम दिएर योजनालाई दिगो र पारदर्शी बनाउने विषयमा सिकाएका छौं । यसले गर्दा अपेक्षित उपलब्धि हासिल गर्न सकेका छौं । 

लामो समयसम्म शिक्षण पेशा गर्नुभयो । नगर प्रमुख भएपछि शिक्षाको विकासका लागि के योजना बनाएर काम गर्दै हुनुहुन्छ ?
शिक्षण पेशा गर्दा मैले यहाँको धेरै समस्या महसूस गरेको छु । पहिले यहाँका विद्यार्थी उच्च शिक्षा र प्राविधिक शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यता थियो । त्यसमा कमी ल्याउन नगरपालिकाभित्र उच्च शिक्षा र प्राविधिक शिक्षाका कक्षा सञ्चालनमा जोड दिएका छौं । विद्यालयका भौतिक सरचानाको निर्माण गरेका छौं । गरीब तथा जेहेनदार विद्यार्थीलाई प्राविधिक शिक्षाको पहुँचमा पुर्‍याउन छात्रवृत्तिको व्यवस्था गरेका छौं । निजी शिक्षकतर्फ पनि लगानी गरेका छौं ।

विकास निर्माणका काम अघि बढाउँदा के कस्ता चुनौती आउँदा रहेछन् ?
चुनौती नै छ । संघीयताको मर्म सबैले बुझेका छैनन् । बुझेको भए विकास निर्माणमा रामै्र प्रगति हुने थियो । परिवर्तनको अनुभूति कम भएको देखिन्छ ।

नगरपालिकामा कर्मचारीको समस्या कत्तिको छ ?
यो नगरपालिका भगौलिक रूपमा पनि दुर्गम भएकाले यहाँ कर्मचारी आउनै मान्दैनन् । नगरपालिका कार्यालय एकजना कर्मचारीको भरमा चलिरहेको छ । जनताको काम तथा सेवा प्रभाव चुस्त राख्न नियमभित्र रहेर करारमा कर्मचारी राखेका छौं । वडामा पनि सचिव छैनन् । अब लोकसेवाले पनि कर्मचारी पठाउला । हामीले लोकसेवासँग आवश्यकता अनुसार कर्मचारी माग गरेका छौं ।

पाँचौं नगरसभा सम्पन्न गर्नुभयो । यसबाट के–कस्ता योजना र नीति नियम पारित गर्नुभयो ?
हामीले सुशासनको पाटोमा जोड दिएका छौं । सभाबाट पास गराएर चालू खर्चलाई पनि विकासशील खर्चतर्फ राखेका छौं । हिजोका दिनमा विलासिताका लागि गाडी किन्न बजेट छुट्ट्याएको थियो । अहिले उक्त बजेटलाई  बहुआयमिक भवन निर्माण, पानी ट्यांकर खरीद जस्ता लोकप्रिय कामका प्रस्ताव पास गरेका छौं । यो वर्ष तीन वडामा वडा कार्यालय निर्माण गर्नेछौं । यस्तै नगरपालिकाको गौरवको योजना जर्गु सडक निर्माणका लागि बजेटको व्यवस्था गरी काम थालेका छौं ।

करको विषयमा स्थानीयको के गुनासो छ ?
हामीले एकदमै न्यून कर लगाएका छौं । त्यो पनि एकीकृत सम्पत्ति कर भनेर लगाइएको छ । यद्यपि कर्मचारी अभावले त्यसको कार्यान्वयन हुन सकेको छैन । कर्मचारी व्यवस्थापन हुँदै छ । त्यसपछि कार्यान्वयनमा ल्याउँछौं । करबारे जनताको गुनासो आएको छैन ।

सडक बनाउँदा वातावरण प्रभाव मूल्यांकन कत्तिको गर्नु भएको छ ?
पहिलो वर्ष त प्राविधिक कर्मचारी अभावले वतावरण प्रभाव मूल्यांकन नगरीकनै सडक बनायौं । अहिले सडकको डीपीआर बनाएर वातावरण प्रभाव मूल्यांकन गराएर काम गराइरहेका छौं । सडकको मापदण्ड अनुसार नै निर्माण गरिरहेका छौं ।

‘नेपाल भ्रमण वर्ष २०२०’ कसरी मनाउने तयारी छ ?
पर्यटन र कृषि नगरको प्राथमिकताका क्षेत्र नै हुन् । भ्रमण वर्ष २०२० मा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने, पर्यटन आगमन बढाउने लक्ष्य राखेका छौं । यहाँको धरोहर मेलौली भगवती मन्दिर ग्वाल्लेकको प्रचारप्रसार गरेर सबैलाई जानकारी गराउँछौं । पर्यटकलाई स्थानीय परिकारले स्वागत गर्ने व्यवस्था मिलाएका छौं । समग्रमा भन्नुपर्दा यहाँका धार्मिक पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरेर आन्तरिक र बाह्य पर्यटक भित्र्याउने योजना बनाएका छौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्