वैशाख २२, वलेबा । बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाले निर्माण गरिरहेको जिल्लाकै सबैभन्दा ठूलो लिफ्टिङ खानेपानी आयोजनाको काम शुरु हुने भएको छ ।
कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भइरहेको लकडाउनका कारण उक्त आयोजनाको काम रोकिएको थियो । काठेखोलाको पानी लिफ्टिङ प्रविधिमार्फत माथि तानेर बागलुङ बजारका उपभोक्तालाई २४सै घण्टा पानी पुर्याउने गरी बागलुङ नगरपालिका–३ कैलामपोखरी काठेखोला किनारमा चलिरहेको कामले गति लिने भएको हो ।
लकडाउनका कारण विगत एक महिनादेखि काम रोकिएको थियो । संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पोखरा, काम गरिरहेको निर्माण कम्पनी र बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबीच आइतवार सुरक्षित तरिकाले मजदूर परिचालन गर्ने सहमति भएपछि कामले गति लिन पाउने भएको हो ।
एक महीनादेखि काम रोकिएका कारण १४ जना मजदूर अलपत्र परेका थिए भने खानेपानीका संरचना निर्माणस्थल वर्षा तथा बाढीका कारण प्रभावित बनेको थियो ।
तीन पक्षबीच सहमति भएलगत्तै काम शुरु गर्ने र आवश्यक सामग्रीको आपूर्तिमा तीनै पक्षले पहल गर्ने सहमति भएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले जानकारी दिए ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पोखराका डिभिजनल प्रमुख शेखरचन्द्र केसी, साइड इन्जिनीयर कुलप्रसाद पौडेल, निर्माण व्यवसायी प्रमुख गौतम भुसाल र बागलुङ नगर खानेपानी संस्थाका प्रतिनिधिबीच आवश्यक सुरक्षा सतर्कतासहित निर्माण कार्य शुरु गर्ने सहमति भएपछि काम शुरु भएको शर्माले बताए ।
रू. ४५ करोड लागत अनुमान भएको सो आयोजना रू. ३५ करोडमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । लकडाउनले प्रभावित बनेको निर्माणाधीन आयोजना केही दिनअघिको वर्षाका कारण बनेका संरचना पहिरोले पुरेको थियो ।
यो आयोजना निर्माणपश्चात् बागलुङ बजारका लागि प्रतिसेकेण्ड ७० लिटर पानी उपलब्ध हुनेछ । अहिले बागलुङ बजारमा झण्डै चार हजार धारामार्फत संस्थाले खानेपानी वितरण गरिरहेको छ । रासस