ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दिगो स्रोत नहुँदा नगरमा बजेट अभाव छ

२०७६ माघ, २४  
अन्तरवार्ता
Image Not Found

स्थानीय निकायको निर्वाचन हुनुभन्दा ६ महीनाअघि घोषणा भएको हो, वराहक्षेत्र नगरपालिका । साविक पाँच गाउँपालिकालाई समेटेर नगरपालिका घोषणा गरिएको हो । नगरपालिकामा जनप्रतिनिधिले अढाई वर्ष बिताइसकेका छन् । नेपालको संविधानले दिएको अधिकार अनुसार हरेक स्थानीय तहले योजना तर्जुमा तथा निर्माण र कार्यान्यवन गर्नुपर्ने हुन्छ । वराहक्षेत्र नगरपालिकाले पनि जन अपेक्षा अनुसार विकासका काम अघि बढाएको नगर प्रमुख निलम खनाल बताउँछन् । प्रस्तुत छ, बितेको अढाई वर्षमा नगरको विकास योजनाको कार्यान्यवन, चुनौती समस्या, भावनी योजना लगायत विषयमा आर्थिक अभियानका सुनसरी संवाददाता दिनेश गजमेरले खनालसँग गरेको कुराकानीको सार :

जनप्रतिनिधिको रूपमा आएपछि जनताको आकांक्षा कस्तो पाउनु भयो ?
द्वन्द्व र संक्रमणकालले ग्रस्त भएको अवस्थामा स्थानीय तह कर्मचारीले धानेका थिए । भौतिक पूर्वाधारदेखि मानिसको दैनिक जीवनमा हुनुपर्ने आवश्यकता अपूर्ण थिए । हामीले निर्वाचनको समयमा गरेका कतिपय प्रतिबद्धता एकैपटक पूरा नहुँदा रहेछन् । समयान्तरालमा ती विस्तारै पूरा हुँदै जान्छन् भन्ने मलाई लाग्छ । जनप्रतिनिधि आइसकेपछि अहिले कतै कतै निराशा पनि छायो भने भने विकासका कामले गर्दा अधिकांश नगरवासीमा उत्साह थपिएको पाएको छु । 

यो अवधिसम्म आउँदा प्रदेश र केन्द्रसँगको समन्वय र सहकार्य कस्तो रह्यो ?
हाम्रो मुुलुकमा संघीयता नयाँ प्रणाली हो । यो प्रणालीमा केही कुरा नपुगेको महसूस हुन्छ । प्रदेशले स्थानीय तह र संघसँग समन्वय गर्नुपर्ने हिजोको दिनसम्म पनि प्रदेशसँग पर्याप्त कानून थिएन । कानून, प्राविधिक र कर्मचारी नहुँदा प्रदेश आफै अन्योमा थियो । अहिले ‘ट्र्याक’मा आको छ । स्थानीय तह प्रदेशमार्फत केन्द्रमा जानुपथ्र्यो । अहिले पनि प्रथा के छ भने जोसँग पहुँच छ, ऊ सीधै केन्द्रमा गइरहेको छ । तर प्रक्रिया प्रदेशमार्फत संघीय तह र संघ पनि प्रदेशमार्फत नै स्थानीय तहमा आउँदा सबैतिर सन्तुलन हुन्छ भन्ने लाग्छ ।

विकासका पूर्वाधार निर्माणमा प्रदेश र संघबाट आउने बजेटको अवस्था के छ ?
प्रदेशले अहिले समानुपातिक ढंगबाट सबै नगरपालिका र गाउँपालिकामा भौगोलिक क्षेत्र र जनसंख्याको आधारमा बजेट विनियोजन गरिरहेको छ । संघबाट पनि यही प्रक्रियाबाटै आउने गरेको छ । पहिला पहुँच हुनेकोमा बजेट धेरै र छिटो आउने अवस्था थियो । म  प्रदेश र केन्द्र सरकारलाई के अनुरोध गर्छु भने भर्खर भर्खर स्थापित स्थानीय तहको स्तरोन्नति गर्ने खालको बजेट वितरण गर्नुप¥यो । वराहक्षेत्रलाई नगरपालिका घोषणा गरियो । पूर्वाधारहरू केही पनि थिएन । हामी असारमा निर्वाचित भएर आइसकेपछि विकासका काममा जोड दिएका हौं । 

कर्मचारीले चलाइरहेको स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि नेतृत्व फेरिँदा अप्ठ्यारो भएन ?
मलाई त्यस्तो महसूस गरिँनँ । किनभने कर्मचारी पनि यही राष्ट्रको नीतिनियम अनुसार चल्ने हो । जनप्रतिनिधि विहीन हुँदा कर्मचारीले नै चलाए । यतिका वर्षसम्म धानिदिए । अहिले उनीहरूलाई अलि सहज भएको छ । उनीहरूको सबै जोखिम जनप्रतिनिधिले लिन्छन् । हामी आइसकेपछि कर्मचारीले उत्साह साथ काम गरिरहेका छन् ।

नगरमा जनताले महसूस गर्नेगरी के कस्ता काम भए ?
चुनावको बेला गरेका वाचा सबै पूरा गर्न त सकिएको छैन । तर सबैले महसूस गर्नेगरी शिक्षा, स्वास्थ्य र सडक क्षेत्रको विकास अघि बढाएका छौं । यो आर्थिक वर्षमा दुईओटा क्यामप निर्माण पूरा गर्दैछौं । नगर अस्पताल सञ्चालन गरेका छौं । त्यसलाई १५ शय्यासम्मको बनाउने योजना छ । नगर अस्पतालमा चारजना विशेषज्ञ डाक्टर छन् । अधिकांश ठाउँमा ग्राभेल बाटो पुर्‍याइसकेका छौं । बाँकी रहेका ठाउँमा पनि यो आर्थिक वर्षभित्र पुर्‍याइसक्छौं । त्यस्तै केही सडकको कालोेपत्र गरिसकेका छौं । 

आगामी आर्थिक वर्षमा संघ र प्रदेशसँग मिलेर १५ किमी बाटो कालोपत्र गर्ने योजना छ । महिलालाई शीप विकास तालीम र वैदेशिक रोजगारमा जाने बाध्यता हटाउन युवालाई आयमूलक तालीम प्रदान गरेका छौं ।  

नगरमा ठूला र दीर्घकालीन आयोजना कसरी सञ्चालन भइरहेका छन् ?
नगरको ठूलो योजना खासै छैन । जनताको घरदैलोमा पुग्दा मुख्य आवश्यकता सडक रहेको पायौं । सोही अनुसार सडक निर्माणलाई प्राथमिकता दिएका छौं । आउने आर्थिक वर्षमा दीर्घकालीन आयोजनालाई अघि बढाउने लक्ष्य लिएका छौं ।

त्यस्ता योजनामा के के पर्छन् त ? 
दीर्घकालीन योजनामा कृषि र पर्यटनलाई प्राथमिकता दिने सोच छ । कृषि, पर्यटनभन्दा बाहिर रहेर नगरले समृद्धि हासिल गर्न सक्दैन । यहाँ उद्योगधन्दाको विकासमा छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न सक्दैनौं । त्यसलै कोशी कोरिडोरभित्र होटल रेस्टुराँ बनाउन आह्वान गर्छौ । त्यसैगरी दोलालघाटदेखि अरुणफेदीसम्म जान जल यातायातमा लगानी गर्नुपर्ने ठहर गरेका छौं । त्यसका लागि संघ  र प्रदेश सरकारको पनि सहयोग आवश्यक छ । कोशी टप्पु वन्यजन्तु आरक्षको प्रवर्द्धन, यहाँका धार्मिक स्थलको प्रचार प्रसार तथा विकास गर्न सक्यौं भने वराहक्षेत्रलाई समृद्ध बनाउन सक्छौं । 

स्थानीय तहमा कर्मचारी आउन ढिलाइले सेवा प्रवाहमा कस्तो प्रभाव पारेको छ ?
यहाँ प्राविधिकको कमी छ । हामीसँग अहिले चारजना प्राविधिक छन् । पर्याप्त प्राविधिक नहुँदा काममा ढिलासुस्ती देखिएको छ, काम गर्न समस्या भएको छ । ११ ओटा वडा रहेको हाम्रो स्थानीय तहमा निर्माणसँग सम्बन्धित प्राविधिकको कमीले ठूला आयोजनामा काम गर्न सकिरहेका छैनौं । प्राविधिक सबै ठाउँमा पुग्न नसक्ने भएकाले कार्यसम्पादनमा चुनौती भएको छ । प्रत्येक वडामा एकजना प्राविधिक भए सजिलो हुन्थ्यो । 

शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा नगरपालिकाले कस्तो योजना अघि सारेको छ ? 
शिक्षा, स्वास्थ्यको क्षेत्रमा आधारभूत पूर्वाधारको कमी छ । त्यसैले हामीले पहिले आधरभूत संरचना तयार पार्न जोड दिएका छौं । हामीसँग पर्याप्त मात्रामा बजेट पनि छैन । बजेटको कमीले पनि यी क्षेत्रमा अपेक्षित काम हुन सकेको छैन ।

शहरी विकास र व्यवस्थापनका लागि के गर्दै हुनुहुन्छ ? 
वराहक्षेत्र नगरपालिकाका ४/५ ठाउँलाई शहर बनाउन सकिने सम्भावना छ । सोही अनुसार कार्ययोजना अघि सारेका छौं । मधुवन, नडाहा, प्रकाशपुर, चकरघट्टी, बांगे, कालाबन्जार चतरामा शहरी पूर्वाधार विकास अघि बढाउन ढल÷नाला व्यवस्थापन गरिएको छ । ३० फुटभन्दा सानो बाटोमा हामी लगानी गर्दैनौं । एउटा वडाबाट अर्को वडा जोड्ने बाटो ४० देखि ५० फुटको बनाएका छौं ।

केही दिनअघि जग्गा प्रकरणमा मुछिनुभयो नि ? 
स्वास्थ्यचौकी बनाउन १ वर्ष पहिलेदेखि जग्गाको खोजी गरिरहेका थियौं । केही ठाउँमा साथीहरूले जग्गा देखाउनु भयो । एक वडाध्यक्षले नडाहामा बनाऔं भन्नुभयो । उक्त प्रस्तावमा म पनि सहमत भएँ । त्यहाँबाट दुई–तीनओटा घर हटाउनुपर्ने भयो । त्यसका लागि १ वर्ष पर्खियौं तर जग्गाको व्यवस्थापन हुन सकेन । पछि दुई जना दाताले ६ कट्ठा जग्गा दिने भनेपछि अन्यत्रै बनाउन लागिएको थियो । पछि मलाई ‘भूमाफियासँग मिलेको’ भन्ने आरोप लगाइयो । यदि आरोप पुष्टि भए म २ मिनेट पनि यो पदमा बस्दिनँ । म यहाँ नेपाली जनताको लुटेर खान आएको होइन, सेवा गर्न आएको हुँ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्