ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

केरलामा मात्रै किन पाइयोे कोरोना भाइरस ?

२०७६ माघ, २४  
र यो पनि
Image Not Found


भारतमा अहिलेसम्म तीन जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । यी सबै संक्रमित केरला राज्यमा मात्रै पाइएका हुन् । भाइरसको संक्रमण केरलामा मात्रै किन देखापर्‍यो ? भाइरस केरलामा मात्रै पसेको हो त ? अन्य राज्यमा संक्रमित नै छैनन त ? कि भए पनि सम्पर्कमा आउन सकेका छैनन् ? भन्ने प्रश्न पछिल्लो समय गर्न थालिएको छ ।

कोरोना भाइरसको संक्रमण अन्य देशको तुलनामा भारतमा अलि पछि देखियो । ७ दिनअघि वुहान विश्वविद्यालयबाट फर्किएका एक विद्यार्थीमा संक्रमण फेला परेको थियो । त्यसयता अर्का २ व्यक्तिमा पनि भाइरसको संक्रमण पाइयो । माथिका प्रश्नको एउटै उत्तर हो केरलाको ‘मजबूत अनुगमन प्रणाली’ । 

सन् २०१८ मा केरलामा निपाह भाइरस फैलियो । १८ जनामा संक्रमण देखियो । तर, भाइरससँग लड्ने तयारी नहुँदा वा कसरी लड्ने भन्ने भेउ नपाउँदा निपाहले १७ जनाको ज्यान लियो । यसबाट केरलाले ठूलो पाठ सिक्यो । सरुवा रोग वा महामारीसँग लड्ने प्रणालीलाई सरकारले बलियो बनायो । यही कदम कोरोना भाइरसको प्रकोप नियन्त्रणमा उपयोगी बनेको छ । भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । आम जनतामा भाइरसप्रति डर निकै कम छ । अहिले अध्यागमनका अधिकारीदेखि प्रहरी अनि पञ्चायतदेखि स्थानीयस्तरका स्वास्थ्य स्वयंसेवकसम्म सबै स्वास्थ्य अनुगमन प्रणालीमा सामेल भएका छन् ।  

चीनमा नोभेल कोरोना भाइरसको महामारी फैलिएको समाचार सार्वजनिक हुने बित्तिकै यहाँ आइपुग्ने अन्तरराष्ट्रिय यात्रीलाई स्वास्थ्य कार्ड दिइयो । यसमा यात्रीहरूले कहाँ कहाँ भ्रमण गरे मात्रै होइन, आफ्नो स्वास्थ्य अवस्था समेत उल्लेख गर्नुपर्छ । यो कार्ड राज्यमा भित्रने पहिलो प्रवेशद्वारमा राखिएका स्वास्थ्य डेस्कमा देखाउनु पर्छ । त्यहाँबाट स्वीकृति पाएपछि मात्रै यात्री राज्यभित्र छिर्न पाउँछन् । यात्री चीन वा हङकङ वा संक्रमण देखापरेको अन्य क्षेत्रबाट आएको हो भने उनीहरूलाई ‘ट्रान्जिट’ कक्षमा सारिन्छ । 

त्यहाँ तत्कालै उनीहरूको शरीरको तापक्रम जाँच्ने लगायत परीक्षण गरिन्छ । विगत ४ सातामा चीन पुगेर केरला आउने यात्री पत्ता लगाएर चिकित्सकले राम्ररी जाँचे–नजाँचेको सुनिश्चित गर्ने प्रणाली त्यहाँ छ । कसैमा संक्रमण फेला नै परे पनि उपचार गर्ने र घरमै भए एक्लै राखेर संक्रमण फैलन नदिने उपयुक्त संयन्त्र कार्यान्वयन गर्न केरलाले प्रोटोकल नै जारी गरेको छ । सरुवा रोग वा महामारीबारे आम जनतालाई सूचित गराउन व्यापक सचेतना अभियान चलाइएको छ । महामारी फैलिएर भन्दा पनि यसबारे चल्ने अनेक हल्ला र भ्रामक खबरले स्थिति भयावह बनाउँछ । 

तर, केरलामा यस्ता हल्ला र भ्रम फैलाउनेलाई कारबाही गर्न अधिकारीहरू तदारुकतासँग लागेका छन् । सोमवारसम्म सार्वजनिक भएको तथ्यांक अनुसार केरलामा कोरोना प्रभावित देश तथा क्षेत्रबाट आएका वा उनीहरूसँग निकट सम्पर्कमा रहेका २ हजार २४९ जनालाई निगरानीमा राखिएको छ । यी मध्ये ८४ जनालाई विभिन्न अस्पतालमा भर्ती गरिएको छ । राज्यका सबै जिल्लामा रहेका प्रमुख अस्पतालमा कम्तीमा ४० शय्यासहितको ‘आइसोलेशन’ वार्ड छ । 

यीमध्ये केहीमा भाइरसको संक्रमण नै भए पनि फैलन नदिने र यसलाई नियन्त्रण गर्न सकिनेमा स्वास्थ्य विभाग विश्वस्त छ । भाइरस नियन्त्रण गर्ने मुख्य उपाय संक्रमण फैलिएको क्षेत्रबाट आएका सबै व्यक्ति पत्ता लगाउनु र उनीहरूमाथि निगरानी गर्नु नै हो । 

विगतमा भोगेको भाइरस संक्रमणबाट पाठ सिकेर केरलाले निगरानी प्रणालीलाई बलियो बनाएको छ । ‘हामीले संक्रमित क्षेत्रबाट आएका सबै मानिस पत्ता लगाएर अलिकति मात्रै लक्षण देखिएको व्यक्ति समेत पहिचान गर्न सक्छौं,’ केरलाकी स्वास्थ्य मन्त्री के के शैलजा भन्छिन् । आफूहरूले संकट सामना र समाधान कसरी गरिरहेका छौं भन्नेबारे अन्य राज्यले समेत चासो देखाइरहेको र सबै प्रक्रियाबारे जानकारी दिइरहेको उनी बताउँछिन् । केरलाका पाँचओटै विमानस्थललाई एम्बुलेन्स र जिल्ला अस्पतालका आपत्कालीन कक्षसँग आबद्ध गराइएको छ । 

ज्वरो आइरहेका, रुघाखोकी लागेका वा घाँटी दुख्ने समस्या भएका सबै यात्रीलाई तत्कालै सम्बद्ध अस्पतालमा लगिन्छ । यसबारे जिल्लाका स्वास्थ्य कार्यालयलाई जानकारी दिइन्छ । उनीहरूका परिवारसँग सम्पर्क गरेर उनीहरूलाई निगरानीमा राखिएको छ भनेर जानकारी दिइन्छ । यात्रीमा कुनै पनि लक्षण देखिएन भने उनीहरूलाई घर जाने अनुमति दिइन्छ । तर, उनीहरु स्वास्थ्य टोलीको निगरानीमा रहने व्यवस्था भएको भाइरसको नियन्त्रणको जिम्मा पाएका केरलाका स्टेट नोडल अफिसर डा. अमर फेट्टलले भने । 

अहिले केरलाले विदेशबाट आउने मात्रै नभई भारतकै अन्य ठाउँका विमानस्थलबाट आउनेमाथि पनि चेकजाँच बढाएको छ । कोरोना भाइरसको प्रकोप चीनबाट विस्तारै अन्य देशमा देखिन थालेपछि केरलाले डिसेम्बरको पहिलो सातादेखि चीनबाट आएकाको खोजी गर्न थालेको थियो । प्रहरीले चीनबाट आउनेलाई फोन गरेर नजीकको स्वास्थ्य केन्द्रमा जँचाउन भनिरहेको छ । स्वास्थ्य केन्द्रमा जान नमान्ने वा नसक्नेको जाँच स्वास्थ्यकर्मीले घरमै गएर गरिरहेका छन् । 

पछिल्लो समय नेपालबाट पनि चीनमा पढ्न जानेको संख्या बढेको छ । जागिर, व्यवसाय वा घुम्ने क्रममा चीन जाने धेरै छन् । कोरोना भाइरसको संक्रमण चीनसँग खासै सम्पर्क नहुने तीब्बत समेत छिरिसकेको छ । त्यहाँबाट नेपालमा आउन के बेर ? वा आइसकेको हुन पनि सक्छ । यसको चेक जाँच, परीक्षण, रोकथाम र नियन्त्रण प्रणाली बलियो छैन । यसअघि पनि बर्डफ्लुको संक्रमण, डेङ्गीको महामारीले नेपाली त्रस्त भएका थिए । कोरोनाको त्रासदी त्योभन्दा पनि धेरै छ । केरलाबाट नेपालले पनि केही पाठ सिक्न सक्छ ।

(इकोनोमिक टाइम्समा प्रकाशित विवरणमा आधारित)

प्रतिक्रिया [1]
User Image

सन्तोष पाण्डे

[Feb 7, 2020 03:23am]

कोरोना भाइरसको संक्रमण चीनसँग खासै सम्पर्क नहुने तीब्बत समेत छिरिसकेको छ । त्यहाँबाट नेपालमा आउन के बेर ? वा आइसकेको हुन पनि सक्छ ।


प्रतिक्रिया दिनुहोस्