ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

निर्यात प्रवर्द्धन क्रियाकलापको बजेट

प्रवर्द्धनात्मक कार्यक्रम तथ्ययुक्त हुन आवश्यक 

२०७६ माघ, २७  
लेख | दृष्टिकोण
NA
author avatar कृष्णराज बजगाईं

अन्तरराष्ट्रिय व्यापार केन्द्र (आईटीसी) ले सन् २०१६ मा गरेको एक अध्ययनअनुसार निर्यात प्रवर्द्धन कार्यक्रममा एक यूएसडलर खर्च गरिँदा त्यसबाट निर्यातमा अतिरिक्त ८७ यूएस डलर वृद्धि हुन्छ । उक्त अध्ययनले निर्यात प्रवर्द्धनमा हुने १ प्रतिशतको वृद्धिले समग्र निर्यातमा ०.०७४ प्रतिशतले वृद्धि हुने निष्कर्ष पनि उक्त अध्ययनको रहेको छ । यसै गरी निर्यात प्रवर्द्धन कार्यक्रमा १ यूएस डलर खर्च गरिँदा यसले ३८४ यूएसडलर कुल गार्हस्थ्य उत्पादनमा वृद्धि गर्छ । 

प्रवर्द्धनात्मक बजेटको तर्जुमा गर्दा निर्यात व्यापारमा प्रत्यक्ष वृद्धि ल्याउने मापनसहितको व्यवस्था हुनुपर्छ ।

उक्त अध्ययनका अनुसार व्यापार प्रवद्र्धक निकायहरू कुल गार्हस्थ्य उत्पादनमा ५ देखि ६ प्रतिशत वृद्धि तथा ७ देखि ८ प्रतिशत निर्यात वृद्धिमा योगदान दिएको देखिन्छ । प्रवर्द्धक निकायहरूको संलग्नताले प्रतिस्पर्धात्मक क्षमता तथा उत्पादकत्वमा हुने वृद्धिका कारण यो वृद्धिको अवस्था सृजना हुने तर्क यस अध्ययनमा प्रस्तुत गरिएको छ । यस्तो योगदानमा सबैभन्दा राम्रो अनुभव फ्रान्सका व्यापार प्रवर्द्धक संगठनहरूको रहेको छ । 

व्यापार प्रवर्द्धन संगठनहरूको बजेट निर्यात अनुपात पनि देशअनुसार फरकफरक रहेको छ । उदाहरणका लागि पोर्चुगलमा यो अनुपात शून्य दशमलव २२ प्रतिशत, चिलीमा शून्य दशमलव १५ प्रतिशत, बोलिभियामा शून्य दशमलव शून्य ३ प्रतिशत रहेको छ । बजेटको आकारका आधारमा सियरालिओनमा ६० हजार यूएस डलर रहेको छ भने संयुक्त अधिराज्यको बजेटको आकार ५० करोड यूएस डलर रहेको छ । 

यसबमोजिम प्रतिफल दिने विकसित देशका व्यापार प्रवर्द्धन संगठनहरूको सफलताका पछाडि देहायका कारणहरू विद्यमान रहेका छन् । पहिलो, बजेट निर्माण प्रक्रिया प्रमाणमा आधारित हुन्छ । बजेट निर्माणमा सरोकारवालाहरूको सल्लाह र सुझाव ग्रहण गरिएको हुन्छ । बजेट तर्जुमापूर्व गरिनुपर्ने थुप्रै अध्ययन सम्पन्न गरिएका हुन्छन् । सम्बद्ध देशमा अवस्थित आफ्ना कूटनीतिक नियोगहरूको पनि सहयोग पर्याप्त मात्रामा लिइएको हुन्छ । आफ्नो देशका विभिन्न संयन्त्रहरूले अध्ययन गरेका निचोडहरू पनि बजेट निर्माण प्रक्रियामा संलग्न गरिएका हुन्छन् । यसरी ठोस वैज्ञानिक आधारमा बजेट तर्जुमा गरिएको हुन्छ । 

बजेट स्वीकृत गर्ने चरणमा हरेक बजेट शीर्षकको लागत–लाभ विश्लेषणलाई प्रमुख आधार मानिएको हुन्छ । यो विश्लेषण चित्तबुझ्दो भएमात्र बजेट विनियोजन हुने गर्छ । बजेट तर्जुमा गरी पेश गर्ने अधिकारीहरूले सबैभन्दा बढी मेहनत पनि यसै चरणमा गर्ने गर्छ । बजेटका उपलब्धिहरू मापनयोग्य र निर्यातमा निश्चित प्रतिशत वृद्धि गर्ने खालका हुनुपर्छ । 

यसै गरी निर्यात प्रवर्द्धन क्रियाकलापको बजेट प्रस्ताव गर्दा सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको बजेट कार्यान्वयन गर्न चाहिने सञ्चालन योजना हो । यो पक्ष जति वैज्ञानिक हुन्छ बजेटको विश्वसनीयता त्यत्ति नै बढी हुन्छ । 

सारांशमा भन्नुपर्दा उपर्युक्त तीनओटा पक्षलाई बजेट निर्माण प्रक्रियामा विशेष रूपमा अनुसरण गर्ने गरिन्छ । यी चरण अनुसरण गरी तर्जुमा गरिएका बजेटको कार्यान्वयनले मात्रै अपेक्षित उपलब्धि प्राप्त हुन्छ । 

बजेट तर्जुमा गरिसकेपछि त्यसको सफल र उपलब्धिमूलक कार्यान्वयनमा पाँचओटा तत्त्वले भूमिका खेलेको हुन्छ । पहिलो, उक्त बजेटको कार्यान्वयनमा सबै अन्तरसम्बद्ध निकायहरूको सकारात्मक नीति हुनुपर्छ । दोस्रो, बजेट कार्यान्वयन गर्न चाहिने जनशक्ति पनि सोहीअनुरूप अब्बल हुनुपर्छ । तेस्रो, बजेटको कार्यान्वयनका साथसाथै समग्र प्रक्रिया, कानून र पूर्वाधारको वातावरण पनि निर्यातमैत्री हुुनुपर्छ । चौथो, बजेटको कार्यान्वयनमा चाहिने व्यवस्थापकीय पक्ष पनि अब्बल खालको हुुनुपर्छ । पाँचौं, मुलुकको बजेटको कार्यान्वयन गर्न सक्ने छिटाछरितो र गतिशील सांगठनिक संरचना पनि यसका लागि आवश्यक हुन्छ । 

नेपालको सन्दर्भमा निर्यात प्रवर्द्धनको बजेट तर्जुमा गर्दा प्राथमिकताका क्षेत्रहरू निर्धारण गरिनु आवश्यक छ । नेपालको निर्यात प्रवद्र्धन क्षेत्रको पहिलो आवश्यकता भनेको गुणस्तरको प्रत्याभूति हो । नेपाली उत्पादनहरू बाह्य मुलुकका गुणस्तरका मापदण्डअनुुरूप उत्पादन गरी अन्तरराष्ट्रिय मापदण्डअनुसार ग्राहकसम्म पहुँच स्थापित गर्ने प्रक्रियाहरूमा निर्यात प्रवर्द्धन कार्यक्रमहरू केन्द्रित हुुनुपर्छ र सोहीअनुरूप बजेट प्रस्तावित गरिनुपर्छ । 

बजेट स्वीकृत गर्ने चरणमा हरेक बजेट शीर्षकको लागत–लाभ विश्लेषणलाई प्रमुख आधार मानिएको हुन्छ । यो विश्लेषण चित्तबुझ्दो भएमात्र बजेट विनियोजन हुने गर्छ ।

बजारको सम्पूर्ण जानकारी प्राप्त गरी देशगत र वस्तुगत निर्यात रणनीति तर्जुमा गरी नेपाली निर्यातकर्ताका उत्पादनहरू उपभोक्तासम्म पुर्‍याउने विधि र प्रक्रियाबारे अध्ययन अनुसन्धान गर्नु र उपायसहित निष्कर्षमा पुग्नु नेपालको निर्यात क्षेत्रका लागि अति आवश्यक विषय हो । यी अध्ययन वैज्ञानिक, यथार्थपरक, तथ्यांक तथा सूचनामा आधारित हुने गरी वैज्ञानिक विधिशास्त्रबमोजिम सञ्चालन गरिनुपर्छ । यस अभियानमा प्रवर्द्धक निकाय, स्वतन्त्र अनुसन्धानकर्ता, सम्बद्ध सरकारी निकाय, विदेशस्थित नेपाली कूटनीतिक नियोग र विदेशस्थित नेपाली विद्यार्थी र शोधार्थीहरूलाई संलग्न गराउन सकिन्छ । यस ढाँचामा बजार अनुसन्धान गर्न पर्याप्त मात्रामा बजेटको व्यवस्था हुन जरुरी छ । 

उत्पादित नेपाली वस्तुहरूलाई बाह्य बजारमा स्थापित र प्रचारप्रसार गर्न अन्तरराष्ट्रिय प्रदर्शनीहरूमा नेपालको व्यापक र नियमित सहभागिता हुन जरुरी छ । त्यस्तै नेपालमा पनि अन्तरराष्ट्रिय प्रदर्शनीहरू हुन जरुरी छ । यस्ता प्रदर्शनीहरू एकल, क्षेत्रीय, अन्तरराष्ट्रिय रूपमा पनि आयोजना गर्नुपर्छ । बाह्य मुलुकमा यस्ता प्रदर्शनीहरू देशगत र वस्तुगत रूपमा दुवै तहमा नेपालले आयोजना गर्ने गरी बजेटको विनियोजन हुनु आवश्यक देखिन्छ । नेपाली निर्यातकर्ता र विदेशी आयातकर्ता व्यवसायीहरूबीच नेपालमा र मुलुकबाहिर पर्याप्त मात्रामा बिटुबी मिटिङहरूको आयोजना हुन जरुरी छ । यी क्रियालकलापमा पनि पर्याप्त मात्रामा नियमित बजेट विनियोजन हुन जरुरी छ । यस्ता प्रदर्शनी र बैठकहरूका लागि आवश्यक पर्ने बजेटमा अधिकतम अनुदानको व्यवस्था हुन पनि जरुरी छ । विशेष गरी नयाँ उत्पादनलाई बजारमा नवप्रवेशका लागि त अन्तरराष्ट्रिय मेला र प्रदर्शनीहरूमा सहभागिताका लागि आर्थिक, प्राविधिक र उत्प्रेरणात्मक सहयोग उपलब्ध गराउन पर्याप्त मात्रामा बजेट विनियोजन गरिनुपर्छ । 

सबैभन्दा महत्त्वपूर्ण विषय नेपालजस्तो मुलुकमा कस्ता वस्तुलाई निर्यात प्राथमिकतामा राख्ने र कस्ता वस्तुको प्रवर्द्धन गर्ने भन्ने विषयमा कार्यक्रमहरूको नै अध्ययन र अनुसन्धान हुनु आवश्यक छ । यसका लागि हरेक वस्तुहरूको विशेषज्ञहरूको सेवा लिनुपर्ने हुन्छ । यसरी सही कार्यक्रम र सही योजनाका लागि आवश्यक पर्ने उत्कृष्ट कार्यक्रमहरू तर्जुमा गर्न सक्ने विशेषज्ञ सेवाका लागि पनि पर्याप्त मात्रामा बजेट विनियोजन हुन जरुरी छ । 
 
व्यापार सूचनाहरूको प्रभावकारी प्रवाह पनि निर्यात प्रवर्द्धनको महत्त्वपूर्ण कार्य हो । यी सूचना संकलन गरी प्रभावकारी रूपमा निर्यातकर्तासामु पुर्‍याउन पनि पर्याप्त मात्रामा बजेट विनियोजन हुन जरुरी छ । 

सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको निर्यात प्रवर्द्धन कार्यक्रमहरूलाई निकासीको आँकडासँग आबद्ध गर्नु आवश्यक छ । अर्थात् प्रवर्द्धनात्मक बजेटको तर्जुमा गर्दा निर्यात व्यापारमा प्रत्यक्ष वृद्धि ल्याउने मापनसहितको व्यवस्था हुनुपर्छ । तथ्य र तथ्यांकमा आधारित रही यस पद्धतिबाट बजेट निर्माण गर्ने हो भने निर्यात प्रवर्द्धन क्रियाकलापका बजेट निर्माण गर्दा वर्तमानमा देखिएका समस्या (सम्बद्ध निकायहरूले प्रस्ताव गर्ने, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयबाट ती प्रस्तावमा काँटछाँट गरिने र बजेट स्वीकृत भएर आउँदा कुनै कार्यक्रममा अधिक बजेट विनियोजन हुन जाने र कुनै कार्यक्रमहरूमा बजेट न्यून रूपमा विनियोजन हुने तथा कहिले काहीँ अत्यावश्यक क्रियाकलापमा बजेट नै विनियोजन नहुने) स्वतः समाधान हुन जाने देखिन्छ । तसर्थ निर्यात प्रवर्द्धन क्रियकलापमा बजेट विनियोजन गर्दा कार्यक्रम बनाउँदा नै विशेष ध्यान दिनु आवश्यक हुन्छ जो तर्क, सिद्धान्त र ढाँचामा आधारित होस् । यसो गर्दा कार्यक्रम प्रस्तावकलाई पनि आफ्नो प्रस्तावको पुस्ट्याइँ गर्न सहज हुने र स्वीकृत गर्ने निकायहरूलाई पनि स्वीकृतिका आधारहरू प्राप्त हुन्छन् ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्