ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लकडाउन लम्बिएपछि बर्दियाका माछा व्यवसायी मर्कामा

२०७७ बैशाख, २९  
प्रदेश ०५
Image Not Found

वैशाख २९, गुलरिया । बर्दियाका मत्स्यपालन व्यवसायी लकडाउन लम्बिएपछि मर्कामा परेका छन् । किसानले लकडाउनका कारण उत्पादन भएका माछा विक्री हुन पाएका छैनन् । तिनले माछापालनका लागि बनाइएका पोखरी सफाइ र  मर्मत गरी नयाँ भुरा राख्नसमेत पाएका छैनन् । 

चैत र वैशाख  पोखरी सफाइ र  मर्मत गरी नयाँ भुरा राख्ने समय हो । सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरेको लकडाउनका कारण माछापालक किसान समस्यामा परेका हुन् ।  

करीब एक हजार क्विन्टल माछा नै विक्री गर्न नभएर पोखरीमै छन् । लकडाउनका कारण माछा विक्री हुने होटेल र  रेष्टुरेन्ट बन्द रहेको र  हाटबजारसमेत नचलेपछि माछा पोखरीमै  छन् ।  

विक्री गरिसक्नुपर्ने माछालाई दाना खुवाइरहनुपर्दा खर्च बढेको र  गोदाममा भएको दाना सकिन थालेको बढैयाताल गाउँपालका–५ का माछापालक किसान तथा माछा ब्लक समितिका अध्यक्ष भक्तराम थारुले बताए ।

अध्यक्ष थारुका अनुसार पोखरीमा राख्न पहुँचवालाले गाडी पास बनाएर भुरा ल्याए पनि साना किसानले पाउन सकेका छैनन् । तिनले माछाको दाना पनि ल्याउन पाएका छैनन् । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका माछा पालन पकेट क्षेत्रका रुपमा विकास गरिएको छ । 

सो क्षेत्रमा सात सय हेक्टर पोखरीमा ७० किसानले व्यावसायिक रुपमा माछापालन गर्दै आएका छन् । ठाकुरबाबा नगरपालिकामा करीब एक हेक्टर र बारबर्दिया नगरपालिकामा करीब २० बिघा पोखरीमा माछापालन भइरहेको छ । 

बढैयाताल ५ जगपुर माछापालक किसान चन्दप्रकाश लम्सालले नौ बिघा पोखरीमा व्यावसायिक रुपमा माछापालन गर्दै आएका छ । उनले पनि लकडाउनका कारण माछा विक्री गर्न पाएका छैनन् । 

बर्दियाका किसानलाई माछाको भुरा र  दानाका लागि रुपन्देही, कैलाली र बाँके जिल्लामा भर पर्नुपर्ने बाध्यता छ । तयार भएका माछा विक्रीका लागि  कैलाली, बाँके र सुर्खेत जिल्ला नै मुख्य बजार हुन् । बाह्य र आन्तरिक दुवै बजार लकडाउनले बन्द हुँदा किसान मर्कामा परेका हुन् ।

माछापालन प्यवसायमा राम्रै आम्दानी गर्दै आएको भए पनि लकडाउनका कारण हुर्किसकेको माछा बजारमा विक्री नपाउँदा माछापालन किसान आनन्द गिरीलाई बैँकबाट लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ । उनले १४ कठ्ठा जग्गाको पोखरीमा उत्पादन भइसकेको माछा विक्री गर्न नपाइएको तर  दाना खुवाइरहनुपर्दा लगानी बढेको बताए । उनी माछालाई दैनिक रू. २५ हजारसम्मको दाना खुवाउछन्  । 

ठाकुरबाबा नगरपालिका वडा नं ९ का माछापालन किसान नवराज रिजालले सात बिघा पोखरीमा माछापालन गरेका छन् । लकडाउन आगामी असार महीनासम्म नखुले उत्पादन भइसकेका माछा विक्री गर्न नपाई रू. ७० लाखसम्मको आर्थिक जोखिम उठाउनुपर्ने अवस्था रहेको किसान रिजालले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्