ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

 रूपन्देही आर्थिक केन्द्र बन्ला ?

२०७६ फागुन, १  
लेख | दृष्टिकोण
NA
author avatar रामप्रसाद गौतम

अमेरिका, चीन, जापान आर्थिक रूपमा सम्पन्न हुनु र नेपाल अविकसित हुनुमा कारण के छ ? किन काठमाडौंजस्तै काभ्रे विकसित हुन सकेन र किन मुम्बईजस्तै सम्पन्नशाली मुरादाबाद हुन सकेन भन्ने सन्दर्भ गहिरिएर हेर्दा हरेक ठाउँको विकासका पछाडि केही आधारहरू देख्न सकिन्छ । अमेरिकामा पहिलो राष्ट्रपति जर्ज वाशिङटनको सोच र मार्गदर्शनलगायत समुद्रको अनुकूलतालाई आधारका रूपमा लिन सकिन्छ । चीन, जापान दुवैमा देशभक्तिको भावना र भ्रष्टाचारीलाई गरिएको कारबाही मुख्य आधारजस्तो देखिन्छ । त्यसैगरी कुनै घटना व्यवहार, ऐतिहासिक पृष्ठभूमि, धार्मिक स्थल, शैक्षिक गतिविधि आदिले कुनै ठाउँलाई कुनै चीजको उपस्थितिको फाइदा अर्थात् बेनिफिट अफ एक्जिस्टेन्स भएको हुन्छ, जसले गर्दा त्यो देश वा ठाउँको विकास भएको हुन्छ । 

विकास मानिसले गर्ने हो, आधार लुम्बिनीले दिने हो । ताजमहलले आगरालाई मात्र सम्पन्न बनाएको छैन, सम्पूर्ण भारतको पर्यटन व्यवसायलाई टेवा दिएको छ । लुम्बिनीलाई पनि यस्तै बनाउन सकिन्छ । 

आजको मितिमा रूपन्देही जिल्लामा देशका अन्य जिल्लामा भन्दा बढी विकास आयोजनाहरू सञ्चालित छन् । यसको मुलकारण भगवान गौतम बुद्धको जन्मस्थल यो जिल्लामा हुनु हो । जिल्लाको नाम रूपन्देही रहनुमा पनि गौतम बुद्धकी आमा मायावतीको जन्मस्थल देवदहमा भएको थियो । 

मायावतीलाई सबैले रूपकी देवी भन्दथे, त्यही रूपकी देवी भन्ने नाम अपभ्रंश भएर रूपन्देही भएको हो भन्ने मान्यता छ । उनको विवाह कपिलवस्तुका राजकुमारसँग तिलौराकोटमा भयो । उनी त्यहाँबाट माइतीघर आउँदा लुम्बिनीमा बुद्धको जन्म भएको थियो । 

विकास ऐतिहासिक र धार्मिक स्थलको कारणले हुन्छ वा त्यो ठाउँमा बस्ने मानिसको निरन्तर प्रयासले । मानिसको प्रयास, भौगोलिक अनुकूलता, व्यापारिक कार्यको सहजता, प्राकृतिक स्रोतसाधनको उपलब्धता आदि सबैको संयोजनले मात्र विकास सम्भव हुन्छ । 

आज रूपन्देही नेपालमा धेरै आर्थिक कारोबार हुने जिल्लाअन्तर्गत पर्छ । यहाँका दर्जनौं सडकको अन्तिम गन्तव्य लुम्बिनी बनाइएको हुन्छ । २०४० सालमा बुटवल भैरहवा लुम्बिनीमा सामान्य सडक, फोहोर गल्लीहरू थिए । तर, आज सुनौली, भैरहवा, बुटवल भारतबाट हुने आयात व्यापारको हब बन्दै गएको छ । बुटवल भैरहवा, लुम्बिनी धार्मिक पर्यटन मार्गका रूपमा पनि विकसित हुँदै गएको छ । नेपालको दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका कारणले पनि यो क्षेत्र विकसित बन्दै गएको छ । 

सुनौलीको भन्सार कार्यालय, भैरहवाको र बुटवल बजारका कारणले यो आर्थिक केन्द्र नै थियो र छ । बुटवल आर्थिक केन्द्रभन्दा एक व्यापारिक केन्द्र हो । यसो हुनुमा पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत स्याङ्जा, बाग्लुङको तल्लोभाग, प्यूठान र रोल्पाको समेतको व्यापार यहाँबाट हुनु हो ।

गुल्मी, पाल्पा र अर्घाखाँचीका जनताको ९० प्रतिशत आवश्यकीय वस्तु बुटवलबाट अपूर्ति गरिने भएकाले रूपन्देही आर्थिक हब बन्न सकेको हो । त्यो बाहेक स्याङ्जाको पश्चिमी भेग राम्दी, गल्याङ, वालिङ, मिर्मी, पुतली बजार र नौडाँडासम्मका बासिन्दा रूपन्देहीको बुटवलबाट लगेको सामान प्रयोग गर्छन् । प्युठान र रूकुम जिल्लामा पनि बुटवलबाट नै सामान आपूर्ति गरिन्छ । यो व्यापारले व्यापारीहरूलाई मात्र धनी बनाएको थियो । तर, लुम्बिनीका कारण रूपन्देहीको समग्र क्षेत्रको अर्थतन्त्रलाई बलियो बनाएको छ । यदि रसुवा, काठमाडौं, कुरिनटार, लुम्बिनी र दिल्ली, गोरखपुर, सुनौली, भैरहवा, लुम्बिनी बुलेट ट्रेन चलाउन सक्ने हो भने आकर्षक गन्तव्य लुम्बिनी बन्नेछ । 

यसका लागि धेरै काम गर्न बाँकी छ । रूपन्देहीले लुम्बिनी आउने पर्यटकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिनुका साथै अन्य पर्यटकीय आकर्षणहरू पनि दिनुपर्छ । बुद्धको दर्शन अतिरिक्त पर्यटकले रूपन्देहीमा थप रमाइलो गर्न पाउने व्यवस्था मिलाउन आवश्यक छ । राज्यका नीतिनिर्माताले पनि त्यसका बारेमा सोच्न सकेमा लुम्बिनीकै कारण १० लाख पर्यटक नेपाल आउनेछन् । तर, उनीहरूलाई फरक स्वाद, फरक वातावरण, फरक मनोरञ्जनात्मक वातावरण बनाउने काम रूपन्देहीका जनता र जनप्रतिनिधिको हो । 

महेन्द्र राजमार्गको खैरहनी आसपासबाट शुरू भएर सालझन्डीसम्मको भूभाग रूपन्देही हो । अहिले खैरहनी, देवदह, बुटवल, बेलबास, तामनगर, बनकट्टा, मुर्गिया, रामापुर, बाँसगढी, सालझन्डीलगायत सबैतिरबाट लुम्बिनी जोड्ने बाटा बनाइएका छन् । यसरी लुम्बिनीका कारण समग्र रूपन्देहीको आर्थिक विकासमा ठूलो टेवा पुगेको छ । लुम्बिनी र त्यहाँ बनेका सडकले गर्दा जग्गाको मूल्य बढेकोमा जनता मख्ख छन् तर यदि नेपालकै मुहार फेर्ने गरी भ्रमण वर्ष सफल पार्ने हो भने रूपन्देहीका प्रत्येक स्थानीय निकायले सल्लाह गरेर फरक आकर्षण दिने प्रयास गर्नुका साथै सरकारका तर्पmबाट योजनाबद्ध केही छूटहरू दिएर विशेष पर्यटकीय केन्द्र निर्माण गर्ने योजना तयार गर्नुपर्छ ।

यो क्षेत्रमा जग्गाको भाउ आकाशिएको छ । मानिसले १ कट्ठा जमीन बेचेर आफ्नो जीवनस्तर माथि उठाउन सक्षम भएका छन् । के रूपन्देहीको विकासको मुख्य कारण लुम्बिनी मात्र हो, होइन । लुम्बिनी समग्र देशको अर्थतन्त्रको आधार हो तर रूपन्देहीमा सडक, दोस्रो अन्तरराष्ट्रिय गौतम बुद्ध विमानस्थल, बन्दै गरेको सभागृह, बुटवल– भैरहवा–लुम्बिनीको सडक विस्तार कार्यक्रम बेलबरिया, मोतीपुर हुँदै लुम्बिनी पुग्ने सिद्धार्थ राजमार्गकै समानान्तर सडक, सिद्धबाबाबाट झुम्सासम्मको सुरूङ मार्ग बनाउने योजना, बुटवल–नारायणगढ सडकलाई फोर लेन बनाउने योजनाका लागि बलियो सोचको नेताको आवश्यकता छ । 

नेपालमा विकास गर्न बजेट विनियोजन गराउन सक्ने क्षमता पनि नितान्त आवश्यक पर्छ । लुम्बिनीको महत्त्व हुँदाहुँदै पनि त्यस क्षेत्रका नेता र जनताले खेल्नुपर्ने भूमिकाले फरक पार्ने कुरालाई बेवास्ता गर्न सकिँदैन । जे जसरी भए पनि लुम्बिनीको ज्योतिको करणले रूपन्देही, कपिलवस्तु, नवलपरासीको विकास त हुनैपर्छ । यसबाहेक यसको आलोक र प्रभावबाट पर्यटकको आगमन बढ्न गई सम्पूर्ण नेपालको आर्थिक धरातल माथि उठोस् । विकास मानिसले गर्ने हो, आधार लुम्बिनीले दिने हो । ताजमहलले आगरालाई मात्र सम्पन्न बनाएको छैन, सम्पूर्ण भारतको पर्यटन व्यवसायलाई टेवा दिएको छ । लुम्बिनीलाई पनि यस्तै बनाउन सकिन्छ । 

लेखक कैलाशकुट बहुमुखी क्याम्पस, चावहिलमा व्यवस्थापन विषयका अध्यापक हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्