ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

औद्योगिक केन्द्रमा चहलपहल बढ्यो तर भन्सार नाकामा कोरोनाविरुद्ध कमजोर सतर्कता कायमै

२०७७ बैशाख, २९  
प्रदेश ०२
Image Not Found
author avatar ओमप्रकाश खनाल

वैशाख २९, वीरगञ्ज । सरकारले लकडाउन खुकुलो पारेर केही उद्योग व्यवसाय चलाउन दिने निर्णय गरेपछि औद्योगिक र व्यापारिक केन्द्रमा चहलपहल बढ्न थालेको छ ।

कोरोना संक्रमण रोक्न सीमा नाकाबाट ढुवानीबाहेक अन्य अवागमन जेठ १८ सम्मका लागि बन्द गरिएको छ । तर, आयातनिर्यात सहजीकरणका लागि नाकामा खटिने कर्मचारी र सेवाग्राहीमा संक्रमणको जोखिमप्रति सरोकारका निकाय उदासीन देखिएका छन् ।  

नाकामा खटिने कर्मचारी र सेवाग्राहीको प्रत्यक्ष सम्पर्क घटाउन वीरगञ्ज भन्सारले विद्युतीय माध्यमबाटै आयातित मालसामानको जाँचपासको व्यवस्था मिलाउन भन्सार विभागलाई आग्रह गरेको थियो । भन्सारले पत्र लेखेरै अनलाईन प्रणालीमार्फत जाँचपासको व्यवस्था मिलाउन आग्रह गरेको दुई हप्ता बितिसकेको छ । वीरगञ्ज सुक्खा बन्दरगाह र विराटनगर भन्सारले पनि विभागलाई यो सुझाव दिएका छन् । 

भन्सार विभागले अहिलेसम्म मातहतका कार्यालयको यस्तो आग्रहमा कुनै निर्णय दिन सकेको छैन । जब कि, भन्सार ऐन २०६४ को दफा ८९ मा (घ) मा भन्सार अधिकृतले कम्प्युटर प्रणालीमा भएको अभिलेखको आधारमा आधिकारिक पासवर्डमार्फत अघि बढाएको कागजी प्रक्रियामा दस्तखत नभए पनि त्यस्तो कागजातलाई दस्तखत भए सरह मानिने व्यवस्था छ ।
नाकामा खटिएका कर्मचारी र सेवाग्राहीबीच प्रत्यक्ष सम्पर्क घटाउन यो कानूनी प्रावधान कार्यान्वयमा ल्याउन सकिने सुझाव भन्सार कार्यालयहरूले विभागलाई दिएका हुन् ।उद्योगधन्धा र व्यापार खुल्नेक्रम बढेपछि सेवाग्राहीको चाप पनि वृद्धि हुने भएकाले संक्रमणको जोखिम थपिने चिन्ता भन्सार कर्मचारीको छ । 

अहिलेको प्रक्रियाअनुसार काम गर्दा भन्सार अधिकृत र जाँचकीले आयातकर्ताका प्रतिनिधि, ढुवानी साधनका चालक र सहयोगी, लोडअनलोडमा खटिने कामदारलगायतको प्रत्यक्ष सम्पर्क हुन्छ । भन्सार ऐनको व्यवस्थाअनुसार आधिकारिक पासवर्डमार्फत जाँचपासको व्यवस्था मिलाइनुपर्ने नाकामा खटिएका भन्सार कर्मचारीको माग छ । 

अहिलेको प्रक्रियाबाट जाँचपास गर्दा कर्मचारी र सेवाग्राही दुवैमा संक्रमणको सम्भावना पनि बढी हुने वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलाले बताए ।

 ‘अहिले अनलाईनबाटै भरेको विवरणका आधारमा मालबस्तुको वर्गीकरण भएपछि आयातकर्ता वा प्रतिनिधिले प्रिन्ट गरेर ल्याएको कागजातमा भन्सार कर्मचारीले हस्ताक्षर गर्छन्,’ प्रमुख निरौलाले भने, ‘अनलाईनबाट आएको कागजातमा पासवर्डमार्फत प्रक्रिया अघि बढाउँदा प्रत्यक्ष सम्पर्कको अवस्था रहँदैन ।’ 

आधिकारिक पासवर्डमार्फत जाँचपासको व्यवस्था कार्यान्वयनका बारेमा छलफल भइरहेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए । ‘पासवर्डमार्फत जाँचपासको व्यवस्था मिलायोस् भन्ने आग्रह आएको छ, यसलाई छिट्टै कार्यान्वयनमा ल्याउने तयारी हुँदैछ,’ महानिर्देशक दाहालले आर्थिक अभियानसित भने । 

अहिले भन्सारले प्रयोग गरिरहेको आशिकुडा प्रणालीबाट प्रिन्ट गरिने कागजातमा कर्मचारीको हस्ताक्षरसमेत प्रिन्ट हुने व्यवस्था छ । तर, भन्सार विभाग यो कानूनी र प्रविधि सुविधा उपयोगमा उदासीन देखिएको छ । यसले नाकामा खटिने भन्सार कर्मचारी र सेवाग्राही कोरोना संक्रमणको जोखिममा परेका छन् । 

आयातकर्ताले अनलाईनमार्फत भरेको विवरणका आधारमा स्वचालित प्रणालीले त्यस्तो मालसामानलाई हरियो, पहेलो र रातो च्यानलमा वर्गीकरण गर्दछ । 

हरियोमा परेको मालसामानको प्रज्ञापनपत्रमा भन्सार कर्मचारीले हस्ताक्षरमात्रै गर्छन् । पहेलोमा कागजात जाँच गरी हस्ताक्षर गरिन्छ । रातो च्यानलमा पर्नेको कागजात र मालसामान दुवै राम्ररी केलाएर जाँच गर्नु पर्दछ । 

करीब ४० प्रतिशत बस्तु हरियो र पहेलो च्यानलमा पर्दछन् । कम्युटर प्रणालीबाट काम गर्दा यस्ता मालसामानको जाँचपासमा प्रत्यक्ष सम्पर्क आवश्यक नपर्ने भन्सारका अधिकारीहरू बताउँछन् । 
सतर्कता सकसपूर्ण  
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको आयात नियमनको कार्यान्वयन भन्सारलाई चुनौती बनेको छ । मन्त्रालयले आयातित मालसामान ढुवानीका साधन निसंक्रमण गरेर कन्साइन्मेण्ट लोड गरिएको र भन्सार हातामा प्रवेश गराइनुअघि पुनः निसंक्रमणको प्रमाण अनिवार्य गरेको थियो । 

आयातित मालसामान, ढुवानीका साधन र चालकबाट कोरोना संक्रमण भित्रिने सम्भावना न्यूनीकरणका लागि यस्तो प्रावधान ल्याइएको थियो ।स्रोत अभावका कारण कार्यान्वयन चुनौतीपूर्ण बनेको भन्सार प्रशासक निरौलाले बताए । तेस्रो मुलुकबाट आउने कन्साइन्मेण्ट क्वारेन्टाइन गरिएर आउने भएकाले भन्सारलाई केही राहत मिलेको छ । 

ढुवानीका साधनलाई भन्सारमा प्रवेश गराउनुअघि स्थानीय तह र प्रशासनको समन्वयमा निसंक्रमण गरिने भनिएको छ । स्रोत व्यवस्थापनमा ती निकायले सहयोग पु¥याएका छैनन् । 
‘अहिलेसम्म भन्सारले आफ्नै खर्चमा त्यस्ता साधनलाई निसंक्रमण गरेको छ । अतिरिक्त बजेट नभएकाले कहिलेसम्म गर्न सकिएला भन्ने चिन्ता पनि छ,’ निरौलाले गुनासो गरे । कर्मचारीका लागि व्यक्तिगत सुरक्षाका सामान्य उपकरण पुर्‍याउन पनि कठिन भएको उनले बताए । 
यसकारण उच्च जोखिम 

भारतमा कोरोनाको संक्रमण फैलिइरहेकाले भारत हुँदै आउने ढुवानीका क्रममा संक्रमण भित्रिने सम्भावना छ । नेपालको ६५ प्रतिशत वैदेशिक व्यापार र ९० प्रतिशत ढुवानी भारतको भरमा छ । 

कुल वैदेशिक व्यापारमध्ये करीब आधा परिमाण वीरगञ्ज नाकाबाटै हुन्छ । अहिले वीरगञ्जको इनार्वा, एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह भन्सारबाट मालसामान भित्रिन्छ । 

वीरगञ्ज अहिले कोरोना संक्रमणको जोखिममा पनि अगाडि छ । वीरगञ्जमा २४ जना संक्रमित भेटिएका छन् । यहाँको नारायणी कोरोना अस्पतालमा २९ जना संक्रमितको उपचार भइरहेको छ । वीरगञ्जमा पहिलो पटक भेटिएका संक्रमित पनि भारतीय नै थिए । तर, यो नाकामा जुनस्तरको सतर्कता अपनाइनुपर्ने हो, त्यो देखिएको छैन । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्