ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नियमनमा चुकेको नियामक

किन आउँछ बारम्बार गलत अभिव्यक्ति ?

२०७७ बैशाख, ३०  
लेख | दृष्टिकोण
NA
author avatar ज्योति दाहाल

नेपालको शेयरबजार नियामक (नेपाल धितोपत्र बोर्ड), बजार सञ्चालक (नेपाल स्टक एक्सचेन्ज) र मध्यस्थकर्ता (दलाल) कसैको अधीनमा देखिन छाडेका छन् । माइक वा मिडिया भेटेपछि ‘तीन त्रिलोक चौध भुवनको सर्वज्ञ मर्मज्ञ ज्ञाता मै हुँ’ भनेझैं व्याख्यान सुनाउन थालिहाल्छन् । तर, कानूनले निर्दिष्ट गरेको आफ्नो काम, कर्तव्य र अधिकारको ‘लक्ष्मणरेखा’भित्र बसेर तत् तत् कार्य गरेको देखिँदैन् । एक व्यक्तिमा धेरै विषयको ज्ञान हुनसक्छ तर, त्यस्तो ज्ञानको उपयोग तत् तत् ठाउँमा गर्दा मात्र त्यसको उपयोगिता हुन्छ, जहाँ पायो गरिनु हुँदैन ।

धितोपत्र बजारमाथिको असान्दर्भिक व्याख्या विश्लेषणको वर्षा रोकिन पहिला नियामक (बोर्ड) अनुशासनमा बस्नुपर्छ अनि मात्र अरूलाई अनुशासनमा राख्न सकिन्छ ।

तीन निकाय तीन अभिव्यक्ति
शेयरबजारका तीन निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र दलालले बारम्बार आफ्नो काम, कर्तव्य र अधिकार क्षेत्रभन्दा बाहिर गएर दिएका केही अभिव्यक्ति शेयरबजारको मान्यता र सिद्धान्तसँग पटक्कै मेल खाँदैन । यी तीन निकायका अधिकारी र पदाधिकारीले लापरवाहपूर्वक दिएका अभिव्यक्ति केही सीमित व्यक्तिलाई पाच्य होला । तर, सिद्धान्त र कानूनतः गलत हुन् । केही प्रतिनिधि अभिव्यक्तिको दृष्टान्त उल्लेख गर्नु सान्दर्भिक हुन्छ ।

१. अब यसपछि के होला भनेर सरसर्ती हेर्दा स्थान हद (लकडाउन) पछि सामान्य रूपमा बजार खुल्यो भने परिसूचकमा पनि केही सामान्य गिरावट त आउला तर अहिले बजारमा हल्ला भएजस्तो भयङ्कर ठूलो गिरावट आउनेचाहिँ म देख्दिनँ । त्यस्तै, स्थानहदपछि आर्थिक व्यवसाय खुल्दा मानिसहरूले तत्कालै लगानी गर्ने ठाउँ शेयरबजार नै उपयुक्त हुनसक्छ । यी दुई अभिव्यक्ति नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाका हुन् ।

२. स्वच्छ धनको मात्र कारोबार भएको र कालोधन बजारमा आउन नसकेका कारण बजार घटेको हो । यस्तो अभिव्यक्ति अर्थमन्त्री डा. युवराज खतिवडा उपस्थित कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले दिएका हुन् ।

३. जलविद्युत् आयोजना निर्माण नसकिँदै सर्वसाधारणलाई शेयर विक्री गर्दा जलविद्युत्को मूल्य दोस्रो बजारमा घट्न पुगेको हो । त्यस्तै, यस्ता कम्पनीहरूले आयोजना निर्माण पूरा गरी त्यसबाट नाफा कमाएपछि मात्र लगानीकर्तालाई बोनस दिने भएकाले शेयर मूल्यमा कमी आएको हो । यी दुई अभिव्यक्ति ब्रोकर एशोसिएशनका अध्यक्ष एवम् दलाल नं. ३५ का भरत रानाभाटको हो ।

तीन अभिव्यक्तिको चिरफार
अघिल्लो अनुच्छेदमा उल्लेख गरिएका केही प्रतिनिधि अभिव्यक्तिको सान्दर्भिकता र यी निकायका कामकर्तव्यका विषयमा थोरै चर्चा गरौं ।

१. कोरोना भाइरसका कारण अहिले संसारका अधिकांश देशले स्थानहद (लकडाउन) लगाएका छन् । मानिसको आवतजावतमा नै प्रतिबन्ध लागेकाले सेवा सञ्चालनमा कठिनाइ परे पनि नगरी नहुने काम रोक्न हुँदैन । संसारले शेयरबजार सञ्चालन गर्न सकिने नियमित वा वैकल्पिक जुन विधिवाट सकिन्छ, सोही पाराले बजार सञ्चालन गरेका छन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २(छ) मा ‘कृषि, सहकारी, उद्योग वा अन्य कुनै खास आर्थिक प्रयोजनका लागि कर्जा दिने वा सर्वसाधारण जनताबाट निक्षेप संकलन गर्ने उद्देश्यले प्रचलित कानूनबमोजिम स्थापना भएको वित्तीय संस्था सम्झनुपर्छ र सो शब्दले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वित्तीय संस्था भनी तोकिदिएको संस्था समेतलाई जनाउँछ’ भनिएको छ । तर, आजसम्म नेपाल राष्ट्र बैंकले इजाजतपत्र दिएकाबाहेक अन्य निकायले वित्तीय संस्थाको मान्यता पाएका छैनन् । धितोपत्र बजारका अंग (दलाल, एक्सचेन्ज, मर्चेन्ट बैंक) अन्तरराष्ट्रिय रूपमा स्वीकारिएका वित्तीय क्षेत्र हुन् । कर असुल गर्ने प्रयोजनका लागि आयकर ऐन, २०५८ को अनुसूची १ मा वित्तीय क्षेत्रमा राखेको भए पनि वैधानिक रूपमा वित्तीय क्षेत्रको मान्यता सरकारले दिएको छैन र आजसम्म बोर्डले पनि पहल गरेको जानकारी आएको छैन । शायद यही कारण स्थानहदका बेला यसलाई सुचारु गर्न अत्यावश्यक क्षेत्रमा परेन ।

बोर्ड स्थापना गर्ने एवम् धितोपत्र बजारको संविधान (धितोपत्रसम्बन्धी ऐन २०६३) को प्रस्तावनामा ‘धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्नका निम्ति धितोपत्रको निर्गमन, खरीद, विक्री तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्नका निम्ति धितोपत्रको निष्कासन, खरीद, विक्री तथा विनिमयलाई व्यवस्थित बनाई’ भन्ने वाक्यांशविपरीत बोर्ड अध्यक्ष नै ‘मूल्य घट्छ र बढ्छ’ भन्दै अनुमानको वक्तव्य दिएर गर्व गरेको देख्दा उदेक लाग्छ ।

बोर्डले नै बनाएको धितोपत्र दर्ता तथा निर्गमन (निष्कासन) नियमावली २०७३ को अनुसूची १६ मा उल्लिखित २५ ओटा मूल्य संवेदनशील विषयमा सूचना प्रवाह नगराउनेलाई आजसम्म बोर्डले उन्मुक्ति दिँदै आएको छ ।

बोर्डले नै बनाएको धितोपत्र दर्ता तथा निर्गमन (निष्कासन) नियमावली २०७३ को अनुसूची १६ मा उल्लिखित २५ ओटा मूल्य संवेदनशील विषयमा सूचना प्रवाह नगराउनेलाई आजसम्म बोर्डले उन्मुक्ति दिँदै आएको छ । घोषित लाभांश पटकपटक संशोधन रद्द हुनु सामान्य हो । त्यस्तै, अघिल्लो अनुच्छेदमा उल्लिखित अध्यक्षको पछिल्लो अभिव्यक्ति साह्रै लाजमर्दो छ । बोर्डको कार्यक्षेत्रभित्र पर्दै नपर्ने विषयमा किन यसरी बोल्ने रहर होला अचम्म लाग्छ । केन्द्रीय बैंकको विशिष्ट श्रेणीबाट अवकाशप्राप्त वर्तमान अध्यक्ष पनि पुरानै अध्यक्षको पदचिह्न पछ्याएर हिँड्नु दुर्भाग्य नै हो । बोर्ड र बोर्ड अध्यक्ष शेयरबजारका नियामक बन्न कहिल्यै प्रयास गरेको देखिएन । बरु ‘एकातिर काटे मुंग्रो दुईतिर काटे पुङमाङ’ जस्तो ‘वित्तीय सल्लाहकार’ बन्नमा कुनै कसर बाँकी छाडेको छैन ।

२. नेप्सेका कार्यकारीको बखान गरिसाध्य छैन भन्ने कुरा त माथिको अनुच्छेदमा उल्लिखित अभिव्यक्तिले स्पष्ट पारिसकेको छ । धितोपत्र बजार सञ्चालन निकायको कार्यकारी भूमिकामा रहेका पदाधिकारीले सम्पत्ति शुद्धीकरण निवारण विभागका अधिकारीले झैं अभिव्यक्ति दिँदा पनि उनलाई आफूले बोल्न नहुने कुरा बोलें भन्ने हेक्का छैन । कुनै दिन यिनले ‘नेपाल प्रहरीले अपराध अनुसन्धान गर्न नसकेको हुँदा शेयरबजार घटेको हो’ भन्ने अभिव्यक्ति दिए भने आश्चर्य नमाने हुन्छ । नेप्सेको आधुनिकीकरण कसरी गर्ने, शेयर र म्युचुअल फन्डका एकाइ मात्र कारोबारको उपकरण भएकोमा थप केकस्ता अन्य उपकरण ल्याउन सकिन्छ जस्ता विषयमा चिन्तन गरेको देखिँदैन । ऋणपत्र (डिवेन्चर) पर्याप्त मात्रामा जारी भइसकेको हुँदा पनि अहिलेसम्म यसको कारोबार गराउने संयन्त्रको विकास भएको छैन तैपनि उनको ध्यान यता गएको देखिँदैन ।

३. तेस्रो अभिव्यक्तिकर्ताको अभिव्यक्ति त झन् लाजमर्दो छ । धितोपत्र दलाललाई ग्राहकका तर्फबाट खरीद वा विक्री आदेश प्रविष्टि गर्नेबाहेक अरू कुनै अधिकार हुँदैन । आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर अभिव्यक्ति दिँदा त्यसको मान्यता र सिद्धान्तविपरीत हुन्छ भन्ने पनि चाल नपाउने व्यक्ति दलाल र दलालका नेता बन्नु नै संस्थागत विकासको बाधक हो । यस्ता व्यक्ति दलाल र दलालका नेता भएपछि धितोपत्र बजारको प्राथमिक अंगले विश्वसनीयता जगाउन सक्ला भनेर अपेक्षा गर्नु बेकार हुन्छ । शेयर र शेयरबजार नबुझेका व्यक्तिले शेयर जारी कहिले गर्ने भन्दै अभिव्यक्ति दिँदा शेयरबजारकै गुणात्मक विकास ठप्प हुन्छ । दलाल भन्नेबित्तिकै जानेको हुनुपर्छ भन्ने छैन आदेश प्रविष्टि गरे पुग्छ अनेक व्याख्यान दिनु पर्दैन । तर, ‘लाटा देशको गाँडा तन्नेरी’ बन्ने रहरले समग्र क्षेत्रलाई नै प्रदूषित बनाउँछ ।

धितोपत्र बजारमा माथि उल्लिखित असान्दर्भिक व्याख्या विश्लेषणको वर्षा रोकिन पहिला नियामक (बोर्ड) अनुशासनमा बस्नुपर्छ अनि मात्र अरूलाई अनुशासनमा राख्न सकिन्छ । यसका लागि पहिला बोर्डले आफ्नो कार्यक्षेत्रको पूर्ण परिपालना गरेर मात्र सम्भव हुन्छ । आशा गरौं, बोर्ड अनुशासित भएर अगाडि बढ्नेछ र धितोपत्र बजारको गुणात्मक विकास हुनेछ ।

लेखक धितोपत्रसम्बन्धी जानकार अधिवक्ता हुन्

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्