ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बन्दाबन्दीले स्वर्गद्वारी आश्रम आर्थिक संकटमा

२०७७ बैशाख, ३०  
प्रदेश ०५
NA
author avatar राजेश जीसी

प्यूठान । प्रसिद्ध धार्मिकस्थल प्यूठानको स्वर्गद्वारी आश्रम आर्थिक संकटमा परेको छ । बन्दाबन्दीका कारण स्वर्गद्वारीमा आन्तरिक तथा बाह्य पर्यटकको आवगवन रोकिँदा आश्रममा आर्थिक समस्या उत्पन्न भएको हो । दर्शनार्थीबाट उठेको भेटीका भरमा चल्दै आएको स्वर्गद्वारीमा लकडाउनपछि दर्शनार्थी प्रवेशमा रोक लगाउँदा आर्थिक संकट बढ्दै गएको छ ।  

विशेषगरी चैत र वैशाखमा स्वर्गद्वारी धेरै दर्शनार्थी आउने गर्छन् । कोरोना रोकथामका लागि लकडाउन लागू गरिएसँगै यहाँ आउने पर्यटकको संख्या शून्य भएको आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले बताए । उनका अनुसार स्वर्गद्वारीमा तीर्थालु नआउँदा भेटी, दान, दक्षिणा संकलन नहुँदा आश्रममा बस्ने साधुसन्त, ब्राह्मण लयागतलाई खाना खुवाउन समेत समस्या भएको छ । ‘लकडाउनका कारण दर्शनार्थी नआउँदा आश्रमको आम्दानी शून्य भएको छ,’ उनले भने ‘आम्दानी नै नभएपछि दैनिक खर्च  धान्न समेत समस्या भएको छ ।’

आश्रममा १५० कर्मचारी र संस्कृत पढ्ने ८५ जना वटुक छन् । आश्रमले विद्यार्थी साधुसन्त, ब्राह्मण गरी दैनिक २०० जनालाई भोजन गराउनु पर्ने अधिकारीले बताए । ‘आश्रममा सञ्चालित वेद पाठशालाका वटुक तथा शिक्षकलाई खाना, आवास र तलब पनि आश्रमले बेहोर्नुपर्छ,’ उनले भने, ‘भेटी, दान दक्षिणा नै आश्रमको मुख्य आम्दानीको स्रोत रहेकाले हाल त्यो ठप्प हुँदा समस्या परेको हो ।’ आश्रमले उधारोमा खाद्यान्न खरीद गरी दैनिक भोजनको व्यवस्था गरिएको उनको भनाइ छ ।  

लकडाउनकै कारण स्वर्गद्वारी आश्रममा पालिएका गाईलाई खुवाउने दानासमेत अभाव भएको छ । ‘आश्रमको नाममा दाङको तुल्सीपुर, लमही र स्वर्गद्वारीमा गरी ८५० गाई पालिएका छन् । स्वर्गद्वारीमा मात्रै ४५० गाई छन्,’ अधिकारीले भने, ‘गाईका लागि दैनिक ६ क्वीन्टल दाना खपत हुन्छ । दाना ढुवानी गर्न नसक्दा गाईलाई समेत भोकै राख्नुपर्ने अवस्था आएको छ ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्