ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अज्ञात रोगको कारण धमाधम बंगुर मर्न थालेपछि किसान चिन्तित

२०७७ बैशाख, ३०  
प्रदेश ०१
Image Not Found
author avatar ईश्वर थापा

वैशाख ३०, धनकुटा । अज्ञात रोगले धनकुटाको साँगुरीगढी गाउँपालिकाको एक फार्ममा बंगुरका पाठापाठी र माउ मर्न थालेका छन् । वर्षेनि खोप लगाउने गरिएकोमा यो वर्ष भने लकडाउनका कारण औषधि ल्याउन नपाउँदा साँघुरीगढी गाँउपालिका–५ ओख्रेका बंगुरपालक किसान गोविन्दप्रसाद थापा मगरका बंगुरका पाठापाठी र माउ मरेका हुन् । 

६ वर्ष अघिदेखि बंगुरपालन शुरू गरेका मगरले यसमा वर्षेनि लगानी बढाउँदै लगेका भए पनि यो वर्ष भने नसोचेको क्षति बेहोर्नु परेको छ । स्वाइन फिबरविरुद्धको खोप हान्न नपाउँदा धमाधम बंगुर मरिरहेका छन् । वैशाखको पहिलो हप्ता बाट बंगुरमा रोगको संक्रमण देखिन सुरु गरेको थियो । उच्च ज्बरो आउने, आहारा नखाने, झोक्राउने, छेरौटी लाग्ने लगायतका लक्षण देखिने र लक्षण देखिएको ४८ घण्टामा मर्ने गरेका छन । हाल सम्म ५० पाठापाठी, ८ माउ र एक बिर गरी जम्मा ५९ बंगुर मरेको मगरले बताए । रोगको संक्रमण अहिले अन्य बंगुरका माउ पनि देखिन थालेको छ ।

बंगुरका पाठापाठी मर्दा ५ लाख रुपैया आर्थिक नोक्सानी भइसकेको मगरले बताए । लकडाउनको कारण रोगको विरुद्धको भ्याक्सिन खोप लगाउन नपाएको उनले दुखेसो गरे । मगरको फर्ममा २५ वटा भन्दा वढी प्रजनन भएका बंगुरका माउ रहेका छन । आम्दानी दिने वेला धमाधम बंगुर मर्दा चिन्ताले सताउन थालेको उनले बताए । फार्म मुनिको जग्गामा मरेको बंगुर गाड्दा आँशु आएको उनले बताए । रोग संक्रमण अन्य ठाउँमा सर्छ सम्भावना भएको कारण उनले फार्मको बंगुरका पाठापाठी विक्रीमा रोक लगाएका छन् । 

रोग संक्रमण देखिएपछि औषधी र भ्याक्सिन खरिद गर्न धरान पुगे पनि लकडाउनको कारण बजार बन्द भएको कारण नपाएको उनले बताए । ‘औषधी खरिद गर्न धरान झरेको थिएँ, धरान जिरोप्वाइन्टमा प्रहरीले रोक्यो र दुई घण्टा सम्म उभ्याएर चाबी खोसी दिए ।’ उनले भने ‘लकडाउन पछि मात्रै दिने भन्यो, तर धेरै पटक विन्ती गरेपछि चावी दिएपछि विना औषधी नै घर फर्कि आएँ ।’ 

झण्डै दुई दशक भन्दा बढी वैदेशिक रोजगारीको सिलसिलामा कतार र दुवईमा बिताएका उनले आफ्नै गाउँमा केही उद्यम गर्ने सोच सहित फर्किएको बताए । २०७२ साल देखि ओख्रेमा वंगुर पालन सहित कृषि फार्म सुरु गरेका मगरको फार्ममा हालसम्म २५ लाख रुपैया लगानी भइसकेको छ । विशेष गरी वंगुरका पाठापाठी उत्पादन गर्ने उदेश्यले फार्म संचालनमा ल्याएको उनले बताए । बंगुर फर्म साँगुुरी गाउँपालिका भरिकै नमूना फर्म रहेको ५ नंं वडाका वडाध्यक्ष पलकबहादुर बस्नेतले बताए । ‘उनको जस्तो ठूलो लगानीको फर्म अन्तकाही छैन ।’ उनले भने ‘उनकैको प्रेरणाले अन्य यूवाहरुले फार्म संचालन सुरु गरेका छन्, तर अहिले उनको फर्ममा देखिएको रोगको संक्रमण अन्य स्थानमा समेत फैलने डर देखिन थालेको छ ।’ 

सरकारले गाइभैंसी, खसीवोका, बंगुरमा जस्ता पशुमा महामारी फैलिन नदिन हरेक वर्ष निःशुल्क भ्याक्सिन लगाउने अभियान संचालन गर्दै आएको भएपनि यो वर्ष लकडाउनको कारण उक्त कार्यक्रम प्रभावित बनेको छ । यस आर्थिक वर्षमा साँगुरीगढी गाउँपालिकाले स्वाइन फिवर, खोरेत, पिपिआर भ्याक्सिन खोप लगाउने कार्यक्रम राखेको भएपनि कोरोना भाइरसको रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण प्रभावित भएको गाउपलिकाको पशु विकास शाखाकी कर्मचारी खिरमाया राइले बताइन् । ‘खोप अभियान अन्र्तगत पिपिआर र खोरेतको भ्याक्सिन लगाइसकेका थियौं ।’ उनले भनिन ‘स्वाइन फिवरको खोप लगाउने बेला लकडाउन भइदियो र सबै खोप लगाउने कार्यक्रम प्रभावित भएको छ ।’ यो वर्ष गाउँपालिका भरि २ हजार बंगुरमा भ्याक्सिन लगाउने योजना रहेको भएपनि लकडाउनकै कारण औषधी आउन नसकेको कारणले स्थगित भएको उनको भनाइ छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्