ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सुनकोशी गाउँपालिकाले श्रममा आधारित राहत वितरण गर्ने 

२०७७ बैशाख, ३०  
वाग्मती प्रदेश
NA
author avatar एलएन शर्मा

वैशाख ३०, सिन्धुली । जिल्लाको सुनकोशी गाउँपालिकाले रोजगारमा आधारित राहत दिने भएको छ ।

लकडाउनका कारण गाउँपालिकाभित्र बसोवास गर्ने अनौपचारिक क्षेत्रमा दैनिक ज्यालादारी काम गरी खाने नागरिक तथा अति विपन्न परिवारलाई दैनिकी संचालनमा समस्या परेपछि रोजगारीमा आधारित राहत दिने निर्णय गाउँ कार्यपालिकाको बैठकले गरेको गाउँपालिकाका प्रवक्ता कृष्णराज दाहाल (सन्तोष) ले बताएका छन् । रोजगारी गुमाएका कारण दैनिक सञ्चालनमा समस्या परेको भन्दै रोजगारीमा आधारित राहत दिने निर्णण गाउँकार्यपालिकाको बैठकले गरेको दाहालले बताए ।

 नेपाल सरकारको निर्णयबाट भएको लकडाउनले दैनिक गुजारा चलाउन समस्या आएको हुँदा समाजिक दूरी कायम गरी सुरक्षित तवरबाट एक घर एक रोजगारीको माध्यमवाट नागरिकलाई गाउँपालिकाको प्रचलित ज्याला दररेट बमोजिम अनुसार एक अदक्ष कामदारले प्राप्त गर्ने न्यूनतम ३ दिन बराबरको पारिश्रमिक कायम गरी सो बराबर हुन आउने राहत सामग्री (जिन्सी) वितरण गरिने निर्णय कार्यपालिका बैठकले गरेको उनले बताए । 

यसको लागि गाउँपालिकाका निवासीले सम्बन्धित वडा कार्यालयसँग सम्पर्क राखी निवेदन पेश गर्न पनि गाउँपालिकाले आग्रह गरेको छ । राहतमा आधारित रोजगारी पाउनेका लागि गाउँपालिकाले केही मापदण्डहरू समेत तय गरेको प्रवक्ता दाहालले बताए ।

रोजगारी पाउन लाभग्राहीको परिवारको सदस्यमा नेपाल सरकार तथा अन्तरराष्ट्रिय सरकारी सेवाको करार वा स्थायी प्रकृतिको रोजगार र पेन्सनरत हुन नहुने, सामाजिक सुरक्षा प्राप्त गर्ने व्यक्ति लाभग्राही नहुने, सामाजिक रूपमा प्रतिष्ठित तथा आर्थिक रूपमा सम्पन्न व्यक्तिहरू समेत अयोग्य रहने, असक्त तथा वयोवृद्ध नागरिकको हकमा भने विशेष व्यवस्था गरिने निर्णय भएको दाहालले बताए । 

जिल्लाका अन्य स्थानीय तहले भने यस्तो निर्णय गरेका छैनन् । अन्य स्थानीय तहले आफैले खाद्यान्न खरीद गरी वितरण गर्ने गरेका छन । जिल्लामा यस्तो निर्णय भएको यो पहिलो पटक हो । राहतमा आधारित रोजगारी दिने सुनकोशी गाउँपालिका पहिलो भएको उनले बताए ।

मानिसलाई राहत मात्र वितरण गर्दा उनीहरूको मनस्थिति पनि कमजोर हुने र यस्तो अवस्थामा मानिसहरू डिप्रेसनमा पनि जान सक्ने भएकाले उनीहरूलाई व्यस्त राख्न पनि श्रममा आधारित राहत वितरण गर्ने लागेको प्रवक्ता दाहालले बताए ।

श्रम गरेपछि उनीहरूलाई पनि आफ्नो कमाइ हुने र गाउँपालिकाको विकासमा पनि सहयोग पुग्ने भएकाले यस्तो निर्णय गरेको उनले बताए । यसले गर्दा मानिसहरू पनि व्यस्त रहने र समाजमा पनि अमन चयन कायम गर्न मद्दत पुग्ने गाउँपालिकाले विश्वास लिएको प्रवक्ता दाहालले बताए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्