ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

श्रीराम सुगर मिल्समा उखु क्रसिङ शुरू

२०७६ फागुन, २  
प्रदेश ०२
NA
author avatar अभियान संवाददाता

रौतहट । रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले वुधवारदेखि उखु क्रसिङ शुरू गरेको छ । पुसमा सरकार उखु किसानबीच भएको सहमति अनुसार मिलले किसानलाई झुक्तानी दिने भएपछि क्रसिङ शुरू भएको हो । विगत वर्षहरूमा पुसको पहिलो सातादेखि क्रसिङ शुरू हुने भए पनि यसवर्ष झुक्तानी विवाद हुँदा झन्डै २ महीना ढिला भएको मिलले बताएको छ । 

मिल सञ्चालनमा ढिलाई हुँदा कृषकले आफूले लगाएको उखु खाँडसरी लगायत अन्य चिनी मिललाई विक्री गरीसकेका छन् । यसले मिललाई उखुको अभाव हुने देखिएको छ । करीब २ महीना ढिला गरी मिल सञ्चालन हुँदा यस वर्ष अपेक्षाकृत उखु क्रसिङ नहुने श्री राम सुगर मिलका उखु महाप्रबन्धक पवनकुमार झाले बताए । ‘यस वर्ष करीब २ लाख क्वीन्टल उखु क्रसिङ हुने अनुमान गरिएको छ,’ उनले भने, ‘मिल सञ्चालनमा आएसँगै किसानको रकम पनि चाँडै भुक्तानी हुनेछ ।’ मिलले आर्थिक वर्ष २०७१÷७२ र २०७५÷७६ को गरी किसानलाई करीब ३२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको झाले जानकारी दिए । ‘चिनी तथा स्प्रीड विक्रीबाट रू. ७÷८ करोड जम्मा हुने र अपुग रकम जमीन विक्री गरेर भुक्तानी दिने प्रक्रियामा मिल रहेको उनले प्रष्ट पारे । 

जिल्लामा रहेको खुट्टी जातको उखु खाँडसरी तथा अन्य चिनी मिलमा विक्री भइसकेका छन् भने फागुनबाट मुरहन जातको उखु तयारी हुन्छ । मुरहन जातको उखु नै श्रीराम सुगर मिलले यस वर्ष क्रसिङ गर्ने उखु उत्पादक संघ रौतहटका सचिव सफीन्द्र यादवले बताए । मिल सञ्चालनमा ढिलाइ हुँदा यस वर्ष किसानले कटहरीयाको बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रिजलाई उखु दिएको उनको भनाइ छ ।  

२०६३ देखि घाटा बेहोर्दै आएको र हाल झन्डै रू. ६४ करोड घाटामा रहेको मिल्स प्रशासनले जानकारी दिएको छ । दैनिक ३० हजार क्वीन्टल उखु क्रसिङ गर्ने क्षमता भएपनि मिलले पछिल्ला वर्षमा दैनिक १५ देखि २० हजार क्वीन्टल उखु क्रसिङ गर्दै आएको थियो । तर, यस वर्ष समयमै मिल सञ्चालन नहुँदा निकै कम उखु क्रसिङ हुने मिल्स कर्मचारीको भनाइ छ । गतवर्ष करीब ४ लाख उखु क्रसिङ गरेको बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रिज कटहरियाले यस वर्ष २० लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । यस वर्ष लक्ष्य अनुसारको उखु क्रसिङ हुने मिलका सञ्चालक बैजु बाबराले बताए । मिलले समयमा नै उखु किसानको रकम भुक्तानी दिने गरेको उनले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्