ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रौतहटका ३ क्रसर उद्योग बन्द गर्न निर्देशन

२०७६ फागुन, २  
प्रदेश ०२
Image Not Found

रौतहट । रौतहटमा मापदण्ड विपरीत सञ्चालनमा रहेका तीन क्रसर उद्योग तत्काल बन्द गर्न अनुगमन समितिले निर्देशन दिएको छ । जिल्लामा सञ्चालित क्रसर उद्योगको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा मापदण्ड विपरीत सञ्चालन गरेको पाइएपछि समितिले तत्कालका लागि बन्द गर्न निर्देशन दिएको हो । 

नदीजन्य वस्तुको निकासी र सञ्चालनमा रहेका क्रसर उद्योगहरूको वैधताबारे जिल्ला अनुगमन समितिका पदाधिकारीले बुधवार अनुगमन तथा निरीक्षण गरेका थिए । सोही क्रममा बौधीमाई नगरपालिकाको बंकुल, गुजरा नगरपालिकाकोे परसवा र फतुवा विजयपुर नगरपालिकाकोे विजयपुरमा अनुमतिविना सञ्चालित क्रसर बन्द गर्न समितिले निर्देशन दिएको हो । ती क्रसरले सञ्चालनका लागि सरोकारवाला निकायबाट स्वीकृति लिइएका नलिएको पाइएपछि अनुगमन र प्रविधिक टोलीबाट सञ्चालनको अनुमति नदिँदासम्म बन्द गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय, गौरका प्रशासन फाँटका नायव सुब्बा रामनरेश साहले जानकारी दिए । नदीजन्य पदार्थ उत्खननका लागि स्थानीय तहले ठेक्का दिएपछि मापदण्ड अनुसार भए/नभएको र क्रसर उद्योग सञ्चालन लगायतबारे अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय, रौतहटले बताएको छ । 

यस्तै, समितिले जिल्लाका विभिन्न खोला तथा नदीबाट वातावरणमा प्रतिकूल असर नपर्ने गरी नदीजन्य पदार्थ उत्खनन गर्न निर्देशन दिएको छ । समितिले गढीमाई नगरपालिकाको वागमती नदीको समनपुर, वृन्दावन नगरपालिकाको रमौली, चाँदी नदीको हर्दिया, चन्द्रपुर नगरपालिकाकोे पौराईस्थित बागमती, गुजरा नगरपालिकाको लाल बकैया नदीकामा नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिएको छ । 

प्राकृतिक स्रोत सम्पदालाई हानि नोक्सानी पुर्‍याउने गरी काम गरिएको पाइएमा व्यवसायीलाई कानून बमोजिम कारबाही गरिने रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । ‘मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खननले नदीकोे धारलाई परिवर्तन हुने, मानव बस्तीलाई जोखिममा पार्ने, बाँधलाई असर पर्नेगरी मेशिनबाट नदीजन्य उत्खनन गरिएको पाइएमा कारबाही गरिनेछ,’ उनले भने, ‘तोकिएको मापदण्डभन्दा बढी नदीजन्य वस्तु निकालेमा पनि कारबाही हुन्छ ।’ नदीजन्य वस्तु निकासी गर्दा प्रयोग गरेका सडक ठेक्का सम्झौता गर्ने व्यवसायीले नै मर्मत गर्नुपर्ने उनको भनाइ छ । रौतहट र सर्लाहीको सीमा विवादका कारण हाल बागमती नदीमा नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्